
कर्नेल कुरेशीको खुलासा: पाकिस्तानले उच्च गतिको मिसाइल प्रहार गर्यो
काठमाडौं– भारत र पाकिस्तानबीचको सैन्य तनाव चुलिँदै गएको छ। भारतीय सेनाले पाकिस्तानले भारतको पश्चिमी सीमामा आक्रमण गर्दै उच्च गतिको मिसाइल प्रहार र सशस्त्र ड्रोनमार्फत घुसपैठ गरेको आरोप लगाएको छ। भारतीय वायुसेनाका तीन वटा सैन्य अड्डामा मिसाइल आक्रमण भएको पुष्टि गर्दै भारतले आफ्ना रक्षा प्रणालीले धेरै आक्रमण प्रयासहरू विफल बनाएको जनाएको छ।
भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालयका अनुसार अमृतसरको खासा क्यान्ट क्षेत्रमा ठूलो सङ्ख्यामा सशस्त्र ड्रोनहरू देखिएको थियो, जसलाई वायु रक्षा प्रणालीले निष्क्रिय बनायो। भारतको सार्वभौमसत्ता र नागरिक सुरक्षामा गम्भीर खतरा पुर्याउने पाकिस्तानको गतिविधि कुनै हालतमा स्वीकार्य नहुने भारतीय सेनाले स्पष्ट पारेको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा भारतीय सेनाकी कर्नेल सोफिया कुरेशीले शुक्रबार र शनिबारको मध्यरातमा पाकिस्तानले गरेको आक्रमणबारे जानकारी दिइन्। उनले भनिन्, “पाकिस्तानी सेनाले पश्चिमी मोर्चाभरि ड्रोन घुसपैठ, भारी क्यालिबरका हतियार र उच्च गतिको क्षेप्यास्त्र प्रयोग गर्दै आक्रमक गतिविधिहरू गरिरहेको छ।”
उनका अनुसार पाकिस्तानले उधमपुर, भुज, पठानकोट, भटिंडा र आदमपुरका वायुसेना अड्डामा आक्रमण गरी उपकरणहरूलाई क्षति पुर्याएको छ। विशेषगरी पञ्जाबको एक सैन्य अड्डामा बिहान १:४० बजे उच्च गतिको मिसाइल प्रहार गरिएको थियो, जसलाई भारतले निष्क्रिय पारेको दाबी गरिएको छ।
भारतीय वायुसेनाकी विङ कमाण्डर व्योमिका सिंहले पाकिस्तानले नियन्त्रण रेखा नजिकका क्षेत्रमा नागरिक बस्तीहरू र धार्मिक स्थलहरूलाई समेत लक्षित गरेर हमला गरिरहेको बताइन्। उनका अनुसार श्रीनगरदेखि नालियासम्मका २६ स्थानमा हवाई घुसपैठ प्रयास भएको थियो, जसमा धेरै प्रयासहरू असफल पारिएको छ।
विदेश सचिव विक्रम मिश्रीले भने, “पाकिस्तानका उत्तेजक गतिविधिहरूले क्षेत्रीय शान्तिमा गम्भीर असर पुर्याइरहेका छन्। भारतले संयमित र जिम्मेवार ढंगले प्रत्युत्तर दिएको छ।”
यसैबीच पाकिस्तानले पनि भारतले आफ्ना तीन वटा वायुसेना अड्डामा मिसाइल प्रहार गरेको आरोप लगाएको छ। यद्यपि भारतले उक्त आरोपप्रति कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
दुई देशबीचको बढ्दो तनावले क्षेत्रीय सुरक्षामा नयाँ चुनौती उत्पन्न गरेको छ। तनावको प्रभाव नेपाललगायत दक्षिण एसियाका अन्य मुलुकहरूमा पनि आर्थिक र कूटनीतिक असर पार्न सक्ने पूर्व गभर्नर चिरञ्जीवी नेपालले चेतावनी दिएका छन्।



कागजपत्र |
