


भारतीय बाटो प्रयोग गरेर ६ महिनापछि घर

दार्चुला – दार्चुलाको उत्तरी सिमानामास्थित टिंकर गाउँका स्थानीय छ महिनापछि गाउँ फर्किएका छन् । गत मङ्सिरमा चिसो छल्न गाउँ छोडेर खलङ्गा झरेका ७० परिवार पुनःगाउँ फर्किएका हुन् ।
गत मङ्सिरमा कठोर जाडो छल्न गाउँ छाडेका यहाँका स्थानीय वैशाख अन्तिम साता मात्रै पुनःफर्किएका छन् । “छ महिनापछि फर्कंदा आफ्नो घरको ढोका देवी–देवता भरोसामा जस्तोको तस्तै रहेछ”, स्थानीय जसपाल तिंकरीले भने, “भगवान् भरोसा छोडिएका घरका ताला खुलेका छन् ।” छ दिनको यात्रापछि अहिले सबै स्थानीय गाउँपुगेपछि चहलपहल बढेको छ ।
टिंकर पुग्न नेपालकै भूमि भएर जान सकिने गोरेटो बाटो छैन । स्थानीय भारतको बाटो हुँदै कठिन यात्रा गरी गाउँ पुगेका छन् । वडा नम्बर १ का वडा सदस्य एवं टिंकरका स्थानीय हितेश बुढाथोकीले भने, “आफ्नै भूमि भएर गाउँ फर्किन नपाउँदा नरमाइलो लाग्छ ।” आफ्नो गाउँ जान भारतीय अनुमति लिनुपर्दा अपमानित महसुस हुने गरेको स्थानीयको गुनासो छ । राज्यले समयमै पूर्वाधार निर्माणमा ढिलाइ गर्दा यहाँका नागरिकले सास्ती खेप्नुपरेको हो ।

