बालेनः ‘दि वान म्यान आर्मी’ !


देशकै सबैभन्दा ठूलो महानगरपालिकाको मेयरमा उम्मेदवारी दिँदैगर्दा देखेको सपना– सुन्दर, सफा र हराभरा काठमाडौं ।

सदियौंदेखि राजनीतिक दलको नेतृत्वबाट दलदल बनेको राजधानीबासीलाई सो दलदलबाट निकाल्ने अठोटसहित एउटा ३२ वर्षे युवकले आँट गर्यो । मै हुँ भनेर हुँकार गर्नेहरु पछारिए, आजित बनेका जनता विवेकी बने । कुनै राजनीतिक दलका उम्मेदवार छानेनन् । यसअघि पनि स्वतन्त्रका उम्मेदवारहरु नभएका होइनन् राजधानी, तर यसपटक राजनीतिक दलका उम्मेदवारहरुबाट आजित जनताले स्वतन्त्र उम्मेदवार रोजे ।

महिनाको साढे ३ लाख तलब बुझ्ने जागिर छाडेर ४० सौं लाख जनतालाई स्वच्छ श्वास फेर्न दिने प्रयासस्वरुप फोहोरलाई नै पहिलो मुद्दा बनाए । जनताले पत्याए र महानगरका स्वघोषित ‘डन’ अनि सर्वमान्य परिवारका उम्मेदवारलाई भारी मतले पछि पार्दै महानगरमा निर्वाचित बने । काठमाडौंको फोहोरलाई पहिलो समस्याका रुपमा लिएर युवावस्थामै पाएको ठूलो सफलतामा पनि खुशी मनाएनन्, एक चिम्टी अविर र एउटा फूलको मालासम्म पनि नलगाई राजधानीबासीकै लागि लागिरहे ।

सदियौंदेखिको फोहोरको समस्या समाधानतर्फ भन्दा पनि फोहोरका नाममा राजनीति गर्नेहरु फेरि सल्बलाए । उनलाई काम गर्न नदिने सोचका साथ । राजनीतिक दलको आडमा मात्र दुई शब्द फुटाउनसक्नेहरु फेरि जुर्मुराए । तर, उनी एक्लै लागि रहे । फगत एक्लै, मानौं कि यो काठमाडौं महानगर उनको निजी सम्पत्ति हो, जहाँको फोहोर उनी एक्लैको जिम्मेवारी हो ।

राजनीतिक दलका ‘भरौटे’हरुले मात्रै काम गर्नु पर्ने हो भने संविधानबाटै स्वतन्त्रलाई उम्मेदवारी बन्नबाटै बञ्चित गरिदिएको भए हुने थिएन ? अनि जनतालाई स्वतन्त्रलाई भोटदिन पाउने मताधिकारबाटै बञ्चित गरिदिएको भए हुन्थेन ?

काठमाडौं एउटा महानगर मात्र नभई देशको राजधानी पनि हो । सदियौंदेखि सत्ताको रस्वादन चाख्नेहरुको पनि दायित्व हुनुपर्ने हो । एउटा स्थानीय तहले नै सबै काम गर्नुपर्छ भने केन्द्रीय सत्ता के–का लागि ? अनि त्यो प्रदेश सरकार के–का लागि ? अनि जिल्लास्तरीय निकाय के–का लागि ?

नयाँ जनप्रतिनिधि आउँदैछ भने फोहोरको थुप्रोलाई राजधानीका सडकमा सँगालेर राखिदिनु पुरानो जनप्रतिनिधिको कुन नैतिकता हो ? उनीहरुले नैतिकबोध गर्नुपर्दैन ?

बालेन एउटा व्यक्ति हो । फगत एक्लो । जब, एउटा व्यक्तिले गर्न खोजेको काममा साथ दिनुको साटो सबैले खुट्टा तान्दै जाने हो भने किन संविधानमा स्वतन्त्रलाई उम्मेदवारी दिन पाउने नियम बनाएको ? राजनीतिक दलका ‘भरौटे’हरुले मात्रै काम गर्नु पर्ने हो भने संविधानबाटै स्वतन्त्रलाई उम्मेदवारी बन्नबाटै बञ्चित गरिदिएको भए हुने थिएन ? अनि जनतालाई स्वतन्त्रलाई भोटदिन पाउने मताधिकारबाटै बञ्चित गरिदिएको भए हुन्थेन ?

हो, बञ्चरेबासीबीच ठूलो पीडा छ, समस्या भोगेका छन् । आफूलाई सम्भ्रान्त ठान्नेहरुले गरेको फोहोरलाई राजधानी नजिक भएर पनि पक्की सडकसम्म नपुगेका स्थानीयले झेल्नुपर्छ भन्ने छैन । धन्न उनीहरुले अहिलेसम्म झेलिरहेका छन् । उनीहरुले पनि जहिले जे सके त्यति गर्न लागेका हुन् । यसअघि राजनीतिक दलको प्रतिनिधिलाई राजनीतिकै बलमा पेल्न नसकेकाहरु अहिले स्वतन्त्रसमक्ष आक्रोश पोखिरहेका छन् । बालेनले यसअघिका नेतृत्वले गरेका पापको फल भोगिरहेका छन् । रातदिन नभनी फोहोर व्यवस्थापनकै लागि लागिरहेका बालेनलाई साथ दिनुको साटो उल्टै जनता भड्काउनु राजनीतिक दलहरुले धर्म सम्झेका देखिन्छन् । बञ्चरेबासीले अहिले गरेको विरोध बालेनको विरोध नभई यसअघिका राजनीतिक दलका ‘भरौटे’ नेतृत्वको विरोध हो ।

बालेन उनीहरुको आशाको एउटा त्यान्द्रो हो, जसले यसअघिका आफूहरुले पाएका आश्वासन र झुठा ‘ललिपप’ लाई सत्यमा परिणत गरिदिउन् भन्ने । त्यही बालेनले गरेको काममा अहिले राजनीतिक दलका केही कार्यकर्ता भनौंदा ‘भरौटे’हरुले उक्साईरहे जस्ता देखिन्छन् । पटकपटक राजधानीका विभिन्न वडाहरुको प्रतिनिधित्व गर्दै आएका जनप्रतिनिधि भनौंदाहरुको त त्यस्तो गतिविधि देखिएको थियो, बालेनको सपथसँगैको पहिलो बैठकमा । दशकौंदेखि राजधानीको फोहोर झेलिरहेका बञ्चरेबासीको आक्रोश त सामान्य हो ।

काठमाडौंको फोहोरलाई पहिलो समस्याका रुपमा लिएर युवावस्थामै पाएको ठूलो सफलतामा पनि खुशी मनाएनन्, एक चिम्टी अविर र एउटा फूलको मालासम्म पनि नलगाई राजधानीबासीकै लागि लागिरहे ।

हो, अब सरकारले बुझ्ने बेला आएको छ, काठमाडौंको फोहोरसम्बन्धी समस्या । महानगरको क्षेत्राधिकारमा हुने जति बालेनले गरेका छन् । उनको क्षेत्राधिकार त्यति नै हो, जसरी सम्बन्धित मन्त्रालय, सरोकारवाला, सुरक्षा निकायसँग समन्वय गरेर सहमति खोज्नु अनि त्यसको कार्यान्वयनका लागि लाग्नु ।

मध्यरातसम्म विभिन्न निकायसँग सहमति गरेर बिहान २ बजेदेखि सडकका फोहोर उठाउन सक्नु बालेनको सफलता हो । अनि, बञ्चरेबासीको पनि अधिकार हो, सहमतिका बुँदाहरुका बारेमा थाहा पाउनु, अथवा सहमतिमा भएका बुँदाहरुमा आफ्ना प्रतिक्रिया राख्नु पनि । हो, त्यही सानो कुरा नपुगेको हुनसक्छ, तर त्यो बालेनको दोष होइन । स्थानीय जनप्रतिनिधिले पनि बुझ्नुपर्थ्यो, सरोकारवालाहरुलाई पनि समेट्न सक्नुपर्थ्यो । त्यो गाउँमा कस्ता मान्छे छन्, समेट्नु पर्छ वा पर्दैन भन्ने कुरा बालेनलाई होइन, त्यहीँका जनप्रतिनिधिहरुलाई थाहा हुनुपर्ने हो ।

केही हदसम्म स्थानीय जनप्रतिनिधि पनि दोषी देखिन्छन् यस मानेमा । आफ्ना जनतालाई सम्झाउन सकिँदैन भने किन केन्द्रमा आएर सहमतिको नाममा सही गर्नु ? यदि सही नै गरिसकेपछि किन आफना मतदाताहरुलाई सम्झाउन नसक्नु ?

बालेनले सहमतिअनुसार नै पहिलो दिन नै विभिन्न अध्ययन र अनुसन्धानका लागि विज्ञ टोली खटाएर काम सुरु गरिसकेका छन् । तर, सम्बन्धित जनप्रतिनिधिले आफ्ना मतदाताहरुलाई बुझाउन सक्नुपर्दैनथ्यो ?  बालेनले भन्दा त्यहाँका स्थानीयलाई त्यहीँका जनप्रनिनिधिहरुले बुझेका थिए होलान् । बालेनले भन्दा बञ्चरेबासीहरुको पीडा त त्यहीँका जनप्रतिनिधिहरुले बुझेका थिए होला नि, तर उनीहरु किन चुपचाप ?

बालेन एक्ला हुन्, सकेसम्म सबैलाई आफ्नो बनाउने प्रयास गर्छन् । कोही नहुनेहरुको सबैभन्दा ठूलो चाहना भनेको आफ्नाहरु बढाउने हो, त्यही अभियानमा बालेन लागेका छन्, अनि उनको साथमा छिन् उपमेयर सुनिता डंगोल । जो बालेनसँगै एकाबिहानै सिसडोल र बञ्चरेसम्म पुग्छिन् अनि अबेर रातसम्म पनि सहमतिको साक्षी बन्छिन् । मनकी स्वतन्त्र तर तनबाट राजनीतिक दलको प्रतिनिधित्व गरेकी डंगोलको सुझबुझपूर्ण अभिव्यक्ति कहिलेकाहिँ बालेनलाई मत्थर बनाउन सफल बनेका कतिपय उदाहरण देखिइसकेका छन् ।

काठमाडौं महानगरका मात्र मेयर रहेका बालेनको प्रभाव महानगरबाहिर झन् बढी परेको स्पष्ट देखिइसकेको छ । राजधानीमा उनले चलाएको सार्वजनिक शौचालयको अभियान नेपालका दूरदराज र फरक–फरक परिवेशमा पनि अनुशरण गरिनु त्यसको ज्वलन्त उदाहरण हो । त्यो बालेनको सफलता हो ।

बालेनले केही गर्छन् भन्ने कुराको लक्षण अहिलेसम्म उनले गरेका क्रियाकलापले नै पुष्टी भइसकेको छ । त्यो भन्दा पनि ठूलो कुरा उनीसँग राजधानीबासीले दिएको ठूलो विश्वास छ, मत छ अनि विश्वभरिका नेपालीहरुको आर्शिवाद छ ।

बालेन अहिले काठमाडौंको मात्र नभएर देशकै मेयर बन्ने अभियानमा छन् । जसले काठमाडौंका लागि योजना बनाउँछन्, अनि जनताले आफ्ना ठाउँमा लागू गर्ने गरेका छन् । त्यो बालेनको सफलता देखिइसकेको छ । त्यसैले बञ्चरेबासीले पनि एकपटक केही समयदिएर बालेनलाई आफ्नो ठाउँ बनाउने अवसर दिनुपर्छ ।

१७ वर्षसम्म भोगेको पीडा १७ दिन पनि नपुग्दै हराउला भन्ने सोच राख्नु भएन । लामोसमयदेखिको घाउमा औषधी लगाउनुअघि केही घाउ कोट्याउनु पर्छ भन्ने ‘डाक्टरी’ नियमलाई यसपटक बालेनमा प्रयोग गर्नु बञ्चरेबासीको कर्तव्य हो । हो, महान् छन् सिसडोल/बञ्चरेबासी, जसले दशकौंसम्म राजधानीको फोहोरलाई झेले । र, आशा अनि भरोसा छ अन्तिमसमयमा आएर कर्तव्यबिमुख पनि बन्दैनन् भन्ने पनि ।

बालेनले केही गर्छन् भन्ने कुराको लक्षण अहिलेसम्म उनले गरेका क्रियाकलापले नै पुष्टी भइसकेको छ । त्यो भन्दा पनि ठूलो कुरा उनीसँग राजधानीबासीले दिएको ठूलो विश्वास छ, मत छ अनि विश्वभरिका नेपालीहरुको आर्शिवाद छ ।

प्रतिक्रिया