अमिताभ बच्चनलाई ‘अमित जी’ नभन्दा…


मुम्बई(एजेन्सी)– बलिउडका प्रख्यात अभिनेता कादर खानको जन्मदिन अक्टोबर २२ मा पर्छ । उनी राम्रो हाँस्य कलाकार र खलनायक त हुँदै हुन्, फिल्म लेखनमा उनको पोख्तता पनि उस्तै थियो । उनले लेखेका धेरै फिल्म सुपरहिट साबित भएका छन् । उनले अभिनेता अमिताभ बच्चनकै लागि पनि कैयौं फिल्ममा संवाद लेखेका छन् । अमिताभलाई एउटा सफलताको शिखरमा पु¥याउन कादरको पनि ठूलो हात छ । तर उनै अमिताभका कारण कादर मूलधारको फिल्मबाट बाहिरिएको कुरा सायद कमैलाई मात्र थाहा होला । अमिताभलाई ‘अमित जी’ नभन्दा कादरले यो व्यवहार भोग्नुपर्यो ।

अमिताभका बारेमा कादरले बोलेका कुरा आज पनि सामाजिक सन्जालमा भेटिन्छन् । जसमा कादर खानले कसरी आफूले फिल्म पाउन छाडेको र अमिताभलाई ‘अमित जी’ भन्दा कसरी फिल्मबाट निकालिएको भन्ने तितो यथार्थ पोखेका छन् । ‘म अमिताभ बच्चनलाई अमित भनेर बोलाउथे । कुनै एक निर्माताले मसँग आएर ‘तपार्इंले सरजीलाई भेट्नुभयो ?’ भनेर सोधे । मैले ‘को सरजी ?’ भनेर सोधें । त्यसपछि उसले ‘तपाईं चिन्नुहुन्न ?’ भनेर सोधे । उनले अमिताभतिर इशारा गर्दै ‘उहाँ हाम्रो सर जी हो’ भने । मैले उनलाई ‘ती त अमित हुन भनें । त्यही बेला सबैले अमिताभलाई ‘सर जी, सर जी’ भनेर बोलाउन थाले । तर मेरो मुखबाट उनका लागि कहिल्यै ‘अमित जी’ या ‘सर जी’ निस्किएन । यही नबोल्दा उनले मलाई आफ्नो समूहबाट निकाले’, कादरले भनेका छन् ।

‘के कोही आफ्नो साथी या भाइलाई कसैले अन्य नामले बोलाउन सक्छ ? यो असम्भव कुरा हो । मैले यो काम गर्न सकिनँ । त्यहीकारण उनले मलाई फिल्म ‘खुदा गवाह’मा लिएनन् । त्यसपछि मैले उनको फिल्म ‘गंगा जमुना’ आधा लेखेर छोडिदिएँ,’ कादरले भनेका छन् ।

कमै मानिसलाई मात्र यो कुरा थाहा होला कि आफ्नो सुपरस्टारडमको यात्रामा जसरी राजेश खन्नाले सलीम जावेदलाई ‘हाथी मेरे साथी’मा ब्रेक दिएका थिए, त्यसरी नै राजेशले नै आफ्नो फिल्म ‘रोटी’मा कादरलाई संवाद लेखकका रुपमा ब्रेक दिएका थिए । कादरले यसपछि राजेशका सबै फिल्ममा संवाद लेखे । कादरले जितेन्द्रसँग श्रीदेवीले अभिनय गरेको फिल्म ‘तोहफा’पछि उनले सबै फिल्मको संवाद लेखेका थिए ।

प्रतिक्रिया