राजनीतिमा कलाकारः कोही हिट, कोही फ्लप


मुम्बई(एजेन्सी)– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आगामी जनवरीमा आफ्नो राजनीतिक पार्टी आउने घोषणा गरेपछि सबै चकित परेका छन् । यसको आधिकारिक घोषणा डिसेम्बर ३० मा हुँदैछ । रजनीकान्त अघि कैयौं बलिउडका स्टारले पनि राजनीतिमा आफ्नो पहुँच र पाइला बढाइसकेका छन् । यीमध्ये केही अझै पनि सफल छन् भने केहीले राजनीति शुरु गर्नासाथ यसलाई छोडिदिएका छन् ।

बलिउडका महानायक अमिताभ बच्चन ८० को दशकमा गान्धी परिवारसँग निकै नजिक थिए । यही समयमा उनले इलाहाबादबाट लोकसभा सिटका लागि चुनाव लडे र उत्कृष्ट जीत हासिल गरे । यद्यपि अमिताभले केही समयपछि राजनीतिमा रुची नभएपछि सदाका लागि राजनीतिबाट किनारा लागे । त्यहीकारण पनि अहिले उनी राजनीतिबाट टाढा छन् ।

सन् ९० को दशकको फिल्मका लोकप्रिय अभिनेता गोविन्दाले सन् २००४ मा राजनीतिमा पाइला चालेका थिए । अभिनेताले काँग्रेस पार्टीको तर्फबाट मुम्बईको लोकसभा सिटका लागि चुनाव लडेर विजय नै प्राप्त गरेका थिए । राजनीतिको समयमा गोविन्दा कहिले नक्कली जन्मदर्ता त कहिले गलत निर्णयको समर्थन गरेका कारण विवादमा तानिए । तर विस्तारै राजनीतिमा रुची कम हुँदै गएपछि सन् २००८ मा उनले राजनीतिलाई सदाका लागि बिदा दिए ।

९० को दशकका सबैभन्दा रुचाइएका अभिनेतामध्ये एक धर्मेन्द्रले सन् २००४ मा बीकानेरमा लोकसभा चुनावको समयमा जीत हासिल गरे । उनको राजनीतिमा रुची कम थियो, जुन उनको कार्यकालका बेला प्रष्ट देखिन्छ । केही समयपछि उनले उनले राजनीतिबाट राजीनामा दिएर अभिनयमै आफ्नो करियर बनाए ।

अभिनेत्री रेखाले सन् २०१२ मा राज्यसभाको सांसद पद जितिन् । त्यो समयदेखि हालसम्म उनी राजनीतिमा सक्रिय छिन् । तर पनि राजनीतिमा कम रुची भएका कारणले उनी राज्यसभामा कमै मात्र देखिन्छिन् ।

फिल्म ‘रंगीला’ जस्ता कैयौं फिल्ममा देखिएकी उर्मिला मातोंडकरले सन् २०१९ मा राजनीतिमा पाइला चालिन् । अभिनेत्रीले काँग्रेसको तर्फबाट चुनाव नै लडिन् । उनको प्रतिष्पर्धीमा भाजपाका गोपाल शेट्टी थिएन, जसकारण उनले चुनावमा पराजय भोगिन् । त्यसपछि उनले काँग्रेस छोडेर शिवसेनामा जोडिइन् ।

बलिउडकी ड्रिम गर्ल हेमा मालिनी भारतीय जनता पार्टीको चर्चित अनुहार हुन् । अभिनेत्रीले सन् २००३ मा राज्यसभा सांसदको नियुक्ति पाएकी थिइन् । विगत १३ वर्षदेखि राजनीतिमा रहेकी हेमा हाल मथुरा लोकसभा सीटबाट सांसद भएकी छन् ।

अभिनेता राज बब्बर यूपीको एक नामी राजनेता हुन् । उनी यूपीको काँग्रेस अध्यक्ष र राज्यसभा सांसद हुन् । अभिनेता दुईपटक राज्यसभा सांसद र तीनपटक लोकसभा सांसद बनिसकेका छन् ।

राजनीतिमा चर्चित नाम रहेकी जया प्रदाले हालै मात्र समाजवादी पार्टी छोडेर भाजपामा आफूलाई जोडिन् । अभिनेत्रीले दक्षिण भारतको एनटी रामारावको पार्टी तेलुगू देशमबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेकी थिइन् । सन् १९९६ मा अभिनेत्री पहिलो पटक राज्यसभाको सांसदका रुपमा नियुक्त भइन् । केही वर्षपछि उनले दक्षिण भारत छोडेर उत्तर भारतको राजनीतिमा समाजवादी पार्टीका माध्यमबाट पाइला चालिन् । यही पार्टीबाट उनी दुईपटक सांसद भइसकेकी छन् ।

तीस वर्षदेखि भाजपासँग जोडिएका अभिनेता शत्रुघ्न सिन्हाले अहिले काँग्रेस पार्टीमा आफूलाई पुर्याएका छन् । भाजपाको टिकट वितरण प्रणालीप्रति असन्तुष्ट उनले त्यहीकारण पार्टी फेर्ने निर्णय लिए । अभिनेताले राजेश खन्नाका विरुद्ध चुनाव लडेर राजनीतिमा पाइला चालेका थिए । तर उनी पराजित भए । त्यसपछि उनी दुईपटक सांसद भइसकेका छन् । शत्रुघ्न सन् २००२ मा अटल बिहारी सरकारको मन्त्री पनि बनिसकेका छन् ।

बलिउडमा कैयौं ब्लकब्लष्टर फिल्म दिएकी अभिनेत्री जया बच्चन भारतीय राजनीतिको एक चर्चित अनुहार हुन् । सन् २००४देखि उनी लगातार राज्यसभाको सांसद बनिरहेकी छन् । यीबाहेक प्रकाश राज, परेश रावल, सनी देओल, मिथुन चक्रवर्ती, शबाना आजमी, दिवंगत अभिनेता सुनील दत्त र विनोद खन्ना पनि भारतीय राजनीतिमा एकताका सक्रिय अनुहार हुन् ।

प्रतिक्रिया