थारु मुक्तिका लागि हिँडेका पती–पत्नीबीच ‘इगो’को लडाईं, नेता-कार्यकर्ता तितरवितर


काठमाडाैं- २०७९ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ निर्वाचित भएकी थिइन् । नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई हराएपछि टीकापुरमा विजयी जुलुसको आयोजना भएको थियो ।

उक्त जुलुसमा नाउपाकै संरक्षक रहेका रञ्जिता श्रेष्ठका पतीकी कान्छी पत्नी पनि पुगेकी थिइन् । विजय जुलुसको अधिकांश समय उनी गाडीभित्रै रहिन् । पार्टीको जुलुसमा सहभागी हुन उनी बर्दियाबाट कैलाली आएकी थिइन् । आशा छोरी अविलाशासहित बर्दियामा बस्दै आएकी थिइन् ।

धेरैलाई त्यतिबेला रेशमको कान्छी पत्नी पनि छिन् भनेर जानकारी थिएन । कैलालीको धनगढी उपमहानगरपालिका–६ स्थित जालीमा माइती घर भएकी आशा मोडलिङ गर्दै आएकी थिइन् । उनीसँग रेशमले टीकापुर घटना हुनुभन्दा बिहे गरेका थिए । बर्दियामै बस्दै आएकी आशालाई रञ्जिताले स्विकार पहिले नै गरिसकेको उनका निकतम व्यक्ति बताउँछन् । त्यही भएर आशा रेशमकी जेठी पत्नीले चुनाव जित्दा खुसीयाली मनाउन टीकापुर पुगेकी थिइन् ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा रेशमलाई सर्वोच्च अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । सत्ता साझेदार दल भएकाले नाउपाकै आग्रहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई आममाफीको लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पहल गरेका थिए । जेल जीवन बिताइसकेपछि निस्कने बेला पनि उनकी कान्छी पत्नीको चर्चा भएको थियो । आशाले रेशम र छोरीसँगको फोटो फेसबुकमा पोष्ट गर्दै ‘बधाई छ बुढा’ लेखेकी थिइन् । त्यसपछि धेरैले रेशमले दुईवटा बिहे गरेको जानकारी पाएका थिए ।

तर, रेशमलाई जेलमुक्त गर्ने कार्यमा जेठी पत्नीले भने दिनरात एक गरेको जगजाहेर छ । उनले चुनाव नै टीकापुर घटनाका कैदीबन्दी रिहा गर्ने एजेन्डा बोकेर लडेकी थिइन् । काठमाडौंको क्षेत्रपाटीमा जन्मिएकी रञ्जिताले कैलालीका थारु समुदायका लागि निर्वाचन लडेको त्यतिबेला बताएकी थिइन् । उनी मात्रै होइन, थारु कल्याणकारिणी सभाले पनि विभिन्न समयमा अभियानहरु सञ्चालन गरेर टीकापुर घटनाका कैदीबन्दी रिहा गर्न माग गर्दै आएको थियो । रेशमले पनि थारु समुदाय राज्यबाट उत्पीडित बनेको भन्दै मुद्दा उठाइरहेका थिए ।

टीकापुर घटनापछि फरार सूचीमा रहँदा भूमिगत भएर उनले २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका थिए । प्रतिनिधिसभामा अत्यधिक बहुमतसहित निर्वाचित भएपछि उनले २०७४ फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरे । त्यो निर्वाचनका बेला उनले थारुका मुद्दा उठाएर उक्त समुदायको मत पाएका थिए ।

त्यसपछि जेलमा रहँदा २०७९ को आमनिर्वाचनलाई लक्षित गरी रेशमले आफू संरक्षक रहेर नागरिक उन्मुक्ति पार्टीको स्थापना गरेका थिए । पार्टीको अध्यक्ष उनकै पत्नी रञ्जिता बनेकी थिइन् । उनले चुनाव पनि जितिन् । र, प्रचण्ड नेतृत्वको सरकार हुँदा गणतन्त्र दिवसका दिन माफी पाएपछि जेलमुक्त भएर उनी राजनीतिमा सक्रिय भए । तर, बाहिर आएपछि भने उनीमा कुर्सीको लोप पलायो । त्यसकै लागि २०८० पुस २६ गते टीकापुरमा पार्टीको उनले महाधिवेशन गरेका थिए ।

निर्वाचनमा रञ्जिताको अध्यक्षमा दोओरिने मन हुँदाहुँदै पनि रेशमले अध्यक्षमा एकल उम्मेदवारी दिए । त्यही दिन रञ्जिता महाधिवेशन स्थल छाडेर हिँडिन् । लामो प्रयासपछि जेलबाट छुटाएकी पतीले नै उनको कुर्सी खोसेपछि उनी बिच्किएकी थिइन् ।

टीकापुरको पहिलो महाधिवेशनबाट रेशम निर्विरोध अध्यक्ष चयन भए । महाधिवेशन स्थलमा रञ्जिता नभए पनि उनलाई सहअध्यक्ष मनोनीत गरिएको थियो । तर, अध्यक्ष बन्न चाहेकी उनी यति रिशाइन् की आजसम्म पनि रेशमले उनलाई फकाउन सकेका छैनन् । धेरैले रेशमकी कान्छी पत्नीकै कारण दुवैको सम्बन्धमा दरार आएको भनेता पनि घर–झगडाको मुख्य कारण ‘इगो’ भएको पार्टीका नेताहरु बताउँछन् । उता निर्वाचन आयोगले भने महाधिवेशनलाई बदर गरिदिएको थियो । आयोगले नाउपाको अध्यक्ष रञ्जिता श्रेष्ठ नै भएको ठहर गरेको थियो । सो निर्णयविरुद्ध चौधरी सर्वोच्च अदालत गइसकेका छन् । रिटमा निर्वाचन आयोगसहित पार्टीकी अध्यक्ष तथा पत्नी रञ्जिता श्रेष्ठसमेतलाई विपक्षी बनाइएको छ ।

महाधिवेशनपछि रिसाएकी रञ्जिताले केन्द्रमा पुष्पकमल दाहालको गठबन्धन सरकार र सोही अनुरुप बन्ने प्रदेश सरकारहरुमा पनि समर्थन गर्नुपर्ने अडानमा लिएकी थिइन् । तर उनका श्रीमान् भने नवगठित सरकारलाई समर्थन गर्न नहुने अडानमा थिए ।

प्रचण्डले नाउपाका नेता–कार्यकर्ता रिहाइका लागि पहल गरेकाले उनलाई साथ दिनुपर्ने रन्जिताको अडान थियो । भने, कसैले कृपाले राजबन्दी रिहा नभइ २ लाख ७८ हजार जनताको भोट आफूहरु रिहा भएकाले सरकारलाई समर्थन नगनुपर्ने रेशमको अडान थियो ।

दुवै आफ्नो अडानमा रहँदा केन्द्रमा रञ्जिताले प्रधानमन्त्रीलाइै विश्वासको मत दिइन् । भने उता पार्टी अध्यक्ष रञ्जिताले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिन दिएको निर्देशन रेशमले मानेनन् । रेशमले ३ जनालाई शाहकै सरकारमा शपथ खुवाउन लगाइदिए ।

तर, उनले सहयोग गरेको शाह सरकार ढल्यो । विश्वासको मत दिन नसकिने भएपछि कमल शाहले चैत २२ गते राजीनामा दिएका थिए । अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवादले नाउपा विभाजित भएका कारण उनले विश्वासको मत आउने बाटो देखेका थिएनन् ।

त्यसपछि सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षका सदस्य र स्वतन्त्र सांसद डा. तारा जोशीका समर्थनमा दाबी पेश गर्दै नेकपा एकीकृत समाजवादीका दिर्घ सोडारी मुख्यमन्त्री बने । सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै रेशम पक्षका लक्ष्मण चौधरी पनि सर्वोच्च पुगे ।

रञ्जिताले केन्द्रमा प्रचण्ड सरकारलाई विश्वासको मत दिनुअघि रेशमले उनलाई फकाउन प्रयास भने नगरेका होइनन् । तर, मान्दै नमानेपछि पत्नीलाई सम्झाउन आफू कैलालीको धनगढीबाट काठमाडौंसम्म गएको र रन्जितासँग दुई घण्टा छलफल गरेको तर सम्झाउन नसकेको भन्दै रेशमले फेसबुकमार्फत जानकारी दिएका थिए । रेशमले अहिले पत्नीकै कारण दुःख पाइरहेको गुनासो गरिरहेका छन् । त्यहाँसम्म मात्रै होइन दुवैबीचको ‘इगो’को लडाईँले अदालत प्रवेश पाइसकेको छ ।

रेशमले पार्टी अध्यक्षको पद पुर्नवहाली गर्न हालेको रिट खारेज गर्न रञ्जिताले माग गरेकी छिन् । यतिसम्मकी उनले अदालतले मागेको जवाफ ११ बुँदामा दिँदै फौजदारी अभियोग लागेको व्यक्ति, टीकापुर घटनाका मुख्य अभियुक्त, नैतिक पतन भएका व्यक्ति, त्यस्ता व्यक्ति राजनीतिक दलको सदस्यसमेत हुन नपाउनेलगायत जवाफ पेस गरेकी छन् ।

उनले टीकापुरमा भएको पार्टीको महाधिवेशनलाई कथित महाधिवेशन भनेकी छन् । ‘नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदमा आफ्नो बहालीको माग नभई कथित महाधिवेशनबाट विधान विपरीत निर्वाचित सबै पदाधिकारीको तर्फबाट समेत निज स्वयं रिट दिएको देखिन्छ,’ उनले भनेकी छन् । रेशम चौधरीलाई संस्थाको तर्फबाट रिट निवेदन दिने अधिकारसमेत नरहेको उनले उल्लेख गरेकी छन् ।

उनले पार्टीको वैधानिक र संस्थापक अध्यक्ष आफूलाई निवर्तमान अध्यक्ष भन्नु कानुन विपरीत रहेको बताएकी छन् । उनले राष्ट्रपतिबाट आममाफी पाए पनि कसूरको आधारमा उत्पन्न हुने दुष्परिणाम यथावत रहने उल्लेख गरेकी छन् ।

‘माफी मिनाहाद्वारा सजायबाट दिइने छुटकाराले माथि उल्लेखित यस्ता collateral consequences या criminal charges बाट भने छुटकारा दिन नमिल्ने अवस्थाको सिर्जना गरेकोमा माफी मिनाहाले कनै व्यक्तिको नैतिक चरित्रको पुनःस्थापना गर्दछ भन्ने कुतर्क गर्न नमिल्ने हुन्छ,’ उनले जवाफमा लेखेकी छन् । सो विपरित collateral consequences या criminal charges बाट समेत छुटकारा दिँदै जाँदा दण्डहीनताको अवस्था सिर्जना हुने जवाफमा उनले भनेकी छन् ।

यो जवाफले पती–पत्नीको सम्बन्धमा झन्–झन् चिसोपना आइरहेको प्रष्ट हुन्छ । उनीहरु मात्रै होइन नाउपाका नेता र कार्यकर्तासमेत दुई धारमा बाँडिएका छन् । थारु मुक्तिको मुद्दा उठाउने पार्टी नै दुईतर्फ जाँदा थारु समुदाय चिन्तित बनेका छन् । सुदूरपश्चिम प्रदेशमा नाउपाका ७ सांसदमध्ये ५ जना रेशमसँग छन् भने २ जना रञ्जिताको पक्षमा छन् । यस्तै प्रतिनिधिसभाका ४ मध्ये २ सांसद रेशमको पक्षमा छन् ।

यो पनि:

रञ्जिताको ‘थाइकट’ कपालमा मोहित भएका रेशमको ‘लभलाइफ’मा कसरी आयो दरार ?
नाउपाको घरझगडाले मिडिया तातेको बेला रेशमलाई लिन एयरपोर्टमै पुगिन् रञ्जिता, ‘हग’ गरेर स्वागत
नागरिक उन्मुक्तिको बैठकमा रन्जिता र रेशम पक्षबीच हात हालाहाल
‘सासू ज्यू सासू खायो मेरो मासु हजुरकै नक्कली छोरीले’

 

प्रतिक्रिया