सुदूरपश्चिममा विश्वासको मत लिने तयारी फेरि स्थगित


काठमाडौं- सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि दोस्रोपटक शनिबार बोलाइएको बैठक पनि स्थगित भएको छ ।

प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै शनिबार साँझ साढे ५ बजे बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि भन्दै अनिश्चितकाललाई स्थगित गरेको हो ।

सत्तारूढ नेकपा एमालेले मुख्यमन्त्री सोडारीले सल्लाह बिना विश्वासको मत लिन हतार गरेकाले तत्काल सम्भव नहुने अडान लिएपछि शुक्रबार पनि प्रदेश सभाको बैठक स्थगित गर्दै  शनिबार लिने तयारी थियो ।

तर एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र  प्रमुख सचेतक नेतृत्वसँग सल्लाह गर्ने भन्दै काठमाडौं हिडेपछि प्रदेशसभा बैठक अनिश्चितकाललाई सारिएको हो ।

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरिरहेका बेला नेकपा एमाले थप चिढिएको हो । बझाङको उपनिर्वाचनबाट निर्वाचित एमाले उम्मेदवार दमन भण्डारीको शपथ नभएसम्म एमालेले विश्वासको मत नदिने बताएको छ ।

तर, नागरिक उन्मुक्तिलाई गठबन्धनभित्र सल्लाह नै नगरी दुई वटा महत्वपूर्ण मन्त्रालय दिएपछि एमाले रुष्ट भएको बताइएको छ ।

प्रतिक्रिया