रञ्जिताको ‘थाइकट’ कपालमा मोहित भएका रेशमको ‘लभलाइफ’मा कसरी आयो दरार ?


काठमाडाैं-  ‘बग्दैबग्दै गर्दा धेरै चट्टानहरुसँग पानी ठोकिन्छ । जति ठोक्किएपनि उसले ढुंगासँग रिसिवी साट्दैन । बरु भन्छ– ‘ए ढुंगा तिमी–हामी सँगै बगिजाउन’ । परपर धकेल्दै धकेल्दै समुद्र भेटिन्छ । र त्यो समुद्रमा अन्त्य हुन्छ छाल र ढुंगाको कथा, रञ्जिता र मेरो कथा त्यस्तै हो । जीवन रहेसम्म, अन्त्यसम्म हामी छाल र ढुंगा भइ बग्दै जानेछौं ।’

केही समयअघि नागरिक उन्मुक्ति पार्टी(नाउपा) का संरक्षक रेशम चौधरीले आफ्नी पत्नीसँगको प्रेमलाई यसरी दर्शाएका थिए ।

एक अन्तर्वार्तामा उनले हाल पार्टीकी अध्यक्ष रहेकी रञ्जिता श्रेष्ठ चौधरीको कपालमा आफू मोहित भएर प्रेम गाँसेको स्मरण गरेका थिए ।

उनले भनेका थिए, ‘रञ्जिता काठमाडौंको निवार्नी । म तराईको थारु । म अलि कालोकालो थिए । उनी अलि गोरी थिइन् । त्यसबेला ‘थाइकट’ कपाल निकै चलेको थियो, र ‘थाइकट’ कपाल पाल्ने सुन्दरीलाई पछ्याउने युवाहरुको निकै ठूलो जमात थियो । मैले पनि पछ्याएहुँला, उनले पनि मन पराइन् होली । उनको पछ्यौरी मैले समाते, उनले मेरो हात समाइन् । र प्रेम विवाह सम्पन्न भयो ।’

आजभोलि भने उनीहरुको मायाप्रेममा दरार आएको छ । जसको बाछिटा संघीय सरकार र सुदूरपश्चिम सरकारमा देखिएको जगजाहेर छ । केही समयअघि रेशमले दरार आएको सम्बन्धलाई फेसबुक पोष्टमार्फत दर्शाउन खोजेका थिए । उनले लेखेका थिए, ‘जब कुदिएको मुर्तिले चित्रकारलाई लात हान्न थाल्छ बुझ्नुस– त्यहाँ पक्कै छल छ ।’ यद्यपि यो पोष्ट उनले पत्नीकेन्द्रीत लेखेका हुन् या होइनन् भन्ने खुलाएका छैनन् । तर, पछिल्लो समय दुवैबीच आएको चिसोपनालाई यसले बुझाउन खोजेको छ ।

रेशमका दुुई पत्नीमध्ये रञ्जिता जेठी पत्नी हुन् । उनकी कान्छी पत्नी आशा चौधरी हुन् । कैलालीको धनगढी उपमहानगरपालिका–६ स्थित जालीमा माइती घर भएकी आशासँग रेशमले टीकापुर घटना हुनुभन्दा बिहे गरेका थिए । अहिले बर्दीयामा रेडियो चलाएर बसेकी उनको साथमा रेशमको एक छोरी समेत छन् ।

९ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनापछि रेशम जेलमै भएका बेला नागरिक उन्मुक्ति पार्टीको जन्म भएको थियो । दोस्रो स्थानीय निर्वाचनमा पहिलोपटक भाग लिएको नागरिक उन्मुक्तिले कैलालीका १३ स्थानीय तहमध्ये ४ वटा जितेको थियो ।

कैलालीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि नागरिक उन्मुक्ति कांग्रेस र एमालेभन्दा ठूलो दल हो । ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा नागरिक उन्मुक्तिले प्रतिनिधिसभामा ३ र १० वटा प्रदेशसभामा ५ वटा प्रत्यक्ष जितेको छ । प्रदेशसभामा २ जना समानुपातिक गरी नागरिक उन्मुक्तिका ७ जना प्रदेशसभा सदस्य छन् । प्रदेश सरकार बनाउन नागरिक उन्मुक्ति निर्णायक शक्ति हो ।

जेलमा भएकाले अध्यक्षमा बस्न नपाउने भएपछि रेशमले श्रीमती रञ्जितालाई पार्टी अध्यक्ष बनाएर आफू संरक्षक बनेका थिए । रेशम चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका दिन माफी मिनाह दिएपछि जेलमुक्त भएर उनी राजनीतिमा सक्रिय भए ।

रेशम जेलमुक्त भएपछि २०८० पुस २६ गते टीकापुरमा पार्टीको महाधिवेशन गरेका थिए । निर्वाचन प्रक्रियामा रेशमले अध्यक्षमा एकल उम्मेदवारी दिने भएपछि रञ्जिता त्यही दिन महाधिवेशन स्थल छाडेर हिँडिन् । उनले पुनः अध्यक्ष बन्न चाहेकी थिइन् भनेर त्यतिबेला चर्चा चलेको थियो ।

टीकापुरको पहिलो महाधिवेशनबाट रेशम निर्विरोध अध्यक्ष चयन भए । महाधिवेशन स्थलमा रञ्जिता नभए पनि उनलाई सहअध्यक्ष मनोनीत गरिएको थियो । त्यहि दिनदेखि उनीहरु बीचको सम्बन्धमा चिसोपना आएको बताइन्छ ।

उता निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष अवैधानिक ठहर गरिदियो । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनबमोजिम मापदण्ड नपुगेकाले पुरानै कार्यसमितिलाई मान्यता दियो ।

त्यसपछि नागरिक उन्मुक्तिभित्र केन्द्रमा पुष्पकमल दाहालको गठबन्धन सरकार र सोही अनुरुप बन्ने प्रदेश सरकारहरुमा पनि समर्थन गर्नुपर्ने अडानमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ थिइन् । तर उनका श्रीमान् भने नवगठित सरकारलाई समर्थन गर्न नहुने अडानमा थिए ।

प्रचण्डले नाउपाका नेता–कार्यकर्ता रिहाइका लागि पहल गरेकाले उनलाई साथ दिनुपर्ने रन्जिताको अडान थियो । भने, कसैले कृपाले राजबन्दी रिहा नभइ २ लाख ७८ हजार जनताको भोट आफूहरु रिहा भएकाले सरकारलाई समर्थन नगनुपर्ने रेशमको अडान थियो ।

दुवै आफ्नो अडानमा रहँदा केन्द्रमा रञ्जिताले प्रधानमन्त्रीलाइै विश्वासको मत दिइन् । भने उता पार्टी अध्यक्ष रञ्जिताले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिन दिएको निर्देशन रेशमले मानेनन् । रेशमले ३ जनालाई शाहकै सरकारमा शपथ खुवाउन लगाइदिए । त्यसले दुवै जनाबीचको विवाद छताछुल्ल बनाइदिएको थियो ।

रञ्जिताले विश्वासको मत दिनुअघि रेशमले उनलाई फकाउन प्रयास भने नगरेका होइनन् । तर, मान्दै नमानेपछि पत्नीलाई सम्झाउन आफू कैलालीको धनगढीबाट काठमाडौंसम्म गएको र रन्जितासँग दुई घण्टा छलफल गरेको तर सम्झाउन नसकेको भन्दै रेशमले फेसबुकमार्फत जानकारी दिए । ‘म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन्,’ उनले लेखेका थिए ।

यी दुवै राजनीतिक घटनाक्रमपछि रञ्जिताले भने आफूहरुको सम्बन्ध नबिग्रिएको तर विचार फरक भएको बनाइरहेकी छिन् । उनले केही दिनअघि भनेकी थिइन्, ‘मन्त्री पाउन विश्वासको मत दिएको होइन । पार्टी छुट्टै कुरा हो । परिवार छुट्टै कुरा हो । परिवारमा हाम्रो त्यस्तो केही पनि छैन ।’ अहिले जापानमा रहेका रेशम भने आफ्नो सम्बन्धबारे मौन छन् ।

प्रतिक्रिया