नाउपाको घरझगडाले मिडिया तातेको बेला रेशमलाई लिन एयरपोर्टमै पुगिन् रञ्जिता, ‘हग’ गरेर स्वागत


काठमाडौं- यतिबेला नागरिक उन्मुक्ति पार्टी (नाउपा)भित्रको विवाद उत्कर्षमा पुगेको छ । केन्द्रमा माओवादी केन्द्र–एमालेसहितको नयाँ राजनीतिक गठबन्धनको सरकारमा जाने कि कांग्रेससहितको गठबन्धनमा जाने भन्नमा पार्टीभित्र विवाद चुलिएको हो ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिइएपछि पाटी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत्र १४ गते कैलालीको टीकापुरमा केन्द्रीय संस्थापक सदस्यहरूको बैठक राखेकी थिइन् । सो बैठकले केन्द्रकै गठबन्धन अनुसार जाने र कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

तर सुदूरपश्चिम संसदीय दलका नेताले मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन कायमै रहने भन्दै टीकापुर बैठकको निर्णयको प्रतिवाद नै गरे । त्यसको भोलिपल्ट बिहीबार नाउपाका २ विनाविभागीय मन्त्री रहेका लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास र खुशीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइयो ।

यसरी रन्जिता र उनका पति रेशमलाल चौधरीकै पार्टीभित्र अलगअलग गुट बन्दा नाउपाको विवादले अहिले मिडिया तताइरहेको छ ।

तर जापान भ्रमणमा रहेका रेशम आज फर्किदा पत्नी रन्जिता उनको स्वागतका लागि विमानस्थलमै पुगेकी छिन् । उनले श्रीमानलाई अंगालो हालेको तस्बिर अहिले बाहिर आइरहेको छ ।

कैलालीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि नागरिक उन्मुक्ति कांग्रेस र एमालेभन्दा ठूलो दल हो । ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा नागरिक उन्मुक्तिले प्रतिनिधिसभामा ३ र १० वटा प्रदेशसभामा ५ वटा प्रत्यक्ष जितेको छ । प्रदेशसभामा २ जना समानुपातिक गरी नागरिक उन्मुक्तिका ७ जना प्रदेशसभा सदस्य छन् । प्रदेश सरकार बनाउन नागरिक उन्मुक्ति निर्णायक शक्ति हो ।

जेलमा भएकाले अध्यक्षमा बस्न नपाउने भएपछि रेशमले श्रीमती रञ्जितालाई पार्टी अध्यक्ष बनाएर आफू संरक्षक बनेका थिए । रेशम चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका दिन माफी मिनाह दिएपछि जेलमुक्त भएर उनी राजनीतिमा सक्रिय भए ।

रेशम जेलमुक्त भएपछि २०८० पुस २६ गते टीकापुरमा पार्टीको महाधिवेशन गरेका थिए । निर्वाचन प्रक्रियामा रेशमले अध्यक्षमा एकल उम्मेदवारी दिने भएपछि रञ्जिता त्यही दिन महाधिवेशन स्थल छाडेर हिँडिन् । उनले पुनः अध्यक्ष बन्न चाहेकी थिइन् भनेर त्यतिबेला चर्चा चलेको थियो ।

टीकापुरको पहिलो महाधिवेशनबाट रेशम निर्विरोध अध्यक्ष चयन भए । महाधिवेशन स्थलमा रञ्जिता नभए पनि उनलाई सहअध्यक्ष मनोनीत गरिएको थियो । त्यहि दिनदेखि उनीहरु बीचको सम्बन्धमा चिसोपना आएको बताइन्छ ।

उता निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष अवैधानिक ठहर गरिदियो । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनबमोजिम मापदण्ड नपुगेकाले पुरानै कार्यसमितिलाई मान्यता दियो ।

त्यसपछि नागरिक उन्मुक्तिभित्र केन्द्रमा पुष्पकमल दाहालको गठबन्धन सरकार र सोही अनुरुप बन्ने प्रदेश सरकारहरुमा पनि समर्थन गर्नुपर्ने अडानमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ थिइन् । तर उनका श्रीमान् भने नवगठित सरकारलाई समर्थन गर्न नहुने अडानमा थिए ।

प्रचण्डले नाउपाका नेता–कार्यकर्ता रिहाइका लागि पहल गरेकाले उनलाई साथ दिनुपर्ने रन्जिताको अडान थियो । भने, कसैले कृपाले राजबन्दी रिहा नभइ २ लाख ७८ हजार जनताको भोट आफूहरु रिहा भएकाले सरकारलाई समर्थन नगनुपर्ने रेशमको अडान थियो ।

यो पनि:

रञ्जिताको ‘थाइकट’ कपालमा मोहित भएका रेशमको ‘लभलाइफ’मा कसरी आयो दरार ?

प्रतिक्रिया