‘सासू ज्यू सासू खायो मेरो मासु हजुरकै नक्कली छोरीले’


काठमाडाैं-

सासू ज्यू सासू खायो मेरो मासु हजुरकै नक्कली छोरीले
आफूचाँही ठिटासँग गफ लगाउँछे, चुलोमा आगो फुक्न मलाई पठाउँछे…’

धेरै वर्ष पहिले नागरिक उन्मुक्ति पार्टी(नाउपा) का संरक्षक रेशम चौधरी यो गीत गाएका थिए । गीत उनकै पत्नी हाल पार्टीकी अध्यक्ष रहेकी रञ्जिता श्रेष्ठ चौधरीकाे निर्देशनमा बनेको थियो ।

गीतमा भनेजस्तै अहिले रञ्जिताकै कारण आफूलाई मर्नु बाच्नु जस्तै भएको रेशमले बताइरहेका छन् । हिजो (सोमबार) अनामनगरस्थित पार्टी कार्यालयमा लफडा भएपछि उनले अन्तर्वार्ता दिँदै भनेका थिए, ‘तीन महिनादेखि खाना खाएको छैन। कहिले दुई चम्चा खान्छु, कहिले के, कहिले के, आत्महत्या गर्ने अवस्थामा पुगिसकेँ। केही पनि मान्दै मान्दैनन् ।’

उनले पीडा सुनाउँदै थपे, ‘म जत्तिको पीडित को होला ? हे भगवान् पीडा भन्ने तैंले मेरो भाग्यमा मात्रै लेखिस् है । जिन्दगीभरि संघर्ष गरेँ । काठमाडौं आउँदा भृकुटीमण्डपमा भारी बोके । पियनको जागिर खाएँ । रेडियो नेपाल टेलिभिजन हुँदै संघर्ष गर्दै आफ्नो गाउँ पुगे । गाउँबाट जेल पुगेँ। जेलमा साढे ८ वर्ष बसे । अब के गर्ने, पीडा छ । घरकै मान्छेले नमानेपछि झन् बढी पीडा हुन्छ। पार्टीका मान्छेले लोग्ने–स्वास्नी मिल्या छौ भन्छन्। म अनुरोध गर्छु, उहाँबाट स्वीकार हुँदैन। म बेवकुफ बन्छु। के गर्नु, बेवकुफ बनिरहने मेरो भाग्यमा लेखेको छ। पार्टी मिल्ला भनेर चुपचाप बस्ने हो ।’

रञ्जिता श्रेष्ठ चौधरीको कपालमा आफू मोहित भएर प्रेम गाँसेको बताउने रेशमले अहिले पत्नीकै कारण दुःख पाइरहेको गुनासो गरिरहेका छन् ।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर राष्ट्रपतिबाट आममाफी पाएर छुटेका चौधरीलाई हिजो नै प्रेसर बढेर अस्पताल भर्ना गरिएको थियो ।

नागरिक उन्मुक्ति पार्टीभित्र केन्द्र र सुदूरपश्चिम प्रदेश सरकारको सहभागिताका विषयमा विवाद छ । यस्तै, निर्वाचन आयोगले रेशम चौधरीलाई अध्यक्षमा वैधानिकता नदिएपछि पार्टी नेताहरू विभाजित छन् । यसैका कारण विवाद चर्किदै गएको देखिन्छ । सोही कारण रेशम र रन्जिताको सम्बन्धमा पनि दरार आएको छ ।

सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति सहभागी छ। रन्जीता केन्द्रीय गठबन्धनको पक्षमा छिन् भने रेशम प्रदेशमा कांग्रेससँगको सहकार्यको पक्षमा छन् ।

यो पनि:

रञ्जिताको ‘थाइकट’ कपालमा मोहित भएका रेशमको ‘लभलाइफ’मा कसरी आयो दरार ?
नाउपाको घरझगडाले मिडिया तातेको बेला रेशमलाई लिन एयरपोर्टमै पुगिन् रञ्जिता, ‘हग’ गरेर स्वागत
नागरिक उन्मुक्तिको बैठकमा रन्जिता र रेशम पक्षबीच हात हालाहाल

 

 

प्रतिक्रिया