फेर्न नसकेका डाइपरहरू र ‘ओलीटिक्स’


-विनोद ढकाल

चित्त दुखेको छ, रामकुमारी झाँक्रीको। उनी टिकटकतिर आगो ओकलिरहेकी छन्। यो देशमा सबैभन्दा बढी लोकतन्त्रलाई माया गर्ने, लोकतन्त्रसँगै सती जान सक्ने पात्र हुन् उनी। र, उनीजस्ता धेरै छन्। सतहमा आएका कारण उनको उदाहरण पस्किएको हो। उनलाई पनि प्रश्न छन्, मध्यान्तरमा सोधिनेछ।

४० बर्षको संगत गरी राजनीतिमा सत्ताका लागि लिप्सा बनेका कयन र अपार चर्चाहरू कमाएका माधव नेपालले भनिदिए– ओली जी त कम्युनिस्ट नै होइनन्। होली वाइनका कथा र त्यसमा जोडिने उनको प्रसङ्गहरू केलाइनेछन्, अन्त्य–अन्त्य तिर।

‘तपाईँभन्दा तीन वटा भोटा मैले फटाइसकेको भनेर भन्नुभयो, मैले छाडिदिएँ, त्यो मेरो गल्ती भयो’, प्रचण्डले पनि सुनाए। त्यसबारे तथ्य पनि केलाइने छ अन्तिम दोस्रो हरफमा।

बाध्यताको कदमका कारण प्रतिनिधि सभा भंग गरियो, अब ताजा जनादेश लिन जाने हो, यहि लोकतन्त्र हो भनी प्रधानमन्त्री केपी शर्मा ओलीले बताइदिए। त्यो बाध्यताका विषयमा पनि अन्तिम हरफमा निचोड निकालिनेछ।

तर त्यसअघि केही टिप्पणी गरौं–

राजनीतिको सम्बन्ध नैतिकतासँग हुँदैन। र, अहिले नेपाल कम्युनिस्ट पार्टीभित्र को नैतिक र को अनैतिक भन्ने आरोप प्रत्यारोप अनि बहस छ।

अहिले बडो चर्चा छ। प्रचण्डले पोलिटिक्स गरेका थिए। ‘पि’ साइलेन्ट भयो र भइदियो ‘ओलीटिक्स’। वास्तवमा यहि देखियो। नेकपाको आन्तरिक विवादको कथा होइन, प्रतिनिधि सभा विघटनको नियतिसम्मको घटनाक्रमलाई केलाउनुपर्दछ।

बामदेव गौतमले हालै कतिपय नेतालाई भने रे– प्रचण्डसँग मिल्न सकिने अवस्था थिएन। उनले एमाले निलिदिए। सारमा प्रचण्डको राजनीति त्यहाँ देखिन्छ। चुनावअघि कांग्रेससँगको सत्ता साझेदारीका क्रममा आफ्ना मन्त्री सोही गठबन्धनमा हुँदा हुँदै चुनावी गठबन्धन प्रतिपक्षमा रहेको तत्कालिन एमालेसँगको घोषणा हठात् गरिदिए।

यो उनको राजनीति थियो। प्रहरी महानिरिक्षक प्रकरण, प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनका निम्ति मिनबहादुर विश्वकर्माको पछि पछि लागेको नियतीले प्रचण्ड मोहनविक्रम सिंहको साइजमा आउन लागेका थिए।

तर उनले नाकाबन्दीविरुद्ध तत्कालिन एमाले, त्यसभित्र पनि केपी शर्मा ओलीको अडानले जनमतको हावा कता बगिरहेको छ भन्ने बुझे। यसकारण प्रधानमन्त्रीमा ओलीलाई स्वीकार गरी एकताको राजनीति गरिदिए।

फ्रान्कलिन डी रुसभेल्टले भनेका थिए– राजनीतिमा कुनै पनि चिज अकास्मात हुँदैन, यदि केही भयो भने बुझ्नुपर्छ त्यहि हिसाबले योजनाबद्ध थियो। त्यसबेला प्रचण्डले लिएको कदम योजनाबद्ध थियो। त्यो प्रस्थानविन्दुबाट हिँडेका प्रचण्ड आफैं वा अरुबाट परिचालित थिए, अहिलेको अवस्थामा जसरी आइपुगेको छ, नेपालको राजनीति। यो पनि योजना थियो।

उस्तै, कुरा ओलीको हकमा पनि हुन्छ। स्वार्थको साझेदारीमा गरिएको एकीकरणको परिणाम कति दूरगामी हुने थियो भन्ने पत्तो थिएन। सत्ताको मोहले निम्त्याएका परिघटना योजनाबद्ध थिए। सायद, प्रतिनिधि सभा विघटनका पछाडि पनि यस्तै योजनाबद्ध कारण हुन सक्छन्, ति खुलीसकेका छैनन्। मन्द गतिमा खुल्ने नै छन्।

अंग्रेजीका एक जना लेखकले भनेका छन्– उस्तै स्वार्थका कारणले राजनीतिज्ञ र डाइपर चाँडो–चाँडो फेरिन्छन्। बस्, प्रचण्ड र ओलीको स्वार्थको कारणले एकले अर्कालाई फेर्ने प्रकरणको घटनाक्रमको दोषी भइरहेको छ अहिलेको अवस्था।

घनश्याम भुसालले जे भयो ठिक भएन भन्ने अन्तरवार्ता दिए। सायद उनमा कति स्वार्थ थियो थिएन एउटा प्रश्न होला। तर आन्तरिक राजनीतिमा उनीहरूले नेता मानिदिए, जो डाइपर थिए। फेर्नुपर्ने त ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायतका सत्ताको खुड्कीलो कुरेर बसेका ‘स्वार्थी’हरू थियो। तर यहाँ पोलिटिक्स नै पोलिटिक्सको बीचमा हठात् भइदियो ओलीटिक्स।

जसलाई व्याख्या गर्नका निम्ति अल्बर्ट आइन्स्टाइनको उद्दरण सापटी लिएर भन्छु– राजनीति भनेको भौतिक विज्ञान भन्दा निक्कै कठिन काम हो। अहिले जे चलिरहेको छ, त्यसका लागि यो प्रसङ स्वभाविक हुन्न र?

यो विवाद कम्युनिस्ट पार्टीभित्रको हो। कम्युनिस्टले भौतिकवादलाई आत्मसाथ गरेको, विज्ञानलाई विश्वास गरेको हुन्छ। तर यो भन्दा पनि कठिन काम किन गरिरहेका छन् ओली–प्रचण्डहरू? या त यीनिहरू कम्युनिस्ट होइनन् या त राजनीतिज्ञ होइनन्। यी दुईमा एक त प्रस्ट छैन र? यी त बस् जनताले फेर्न नसकेका डाइपरहरू हुन्।

आजको पुस्ताको प्रतिनिधि हो भने, यी डाइपरहरूलाई संयुक्त रुपमा भन्नुस्– हामी तिम्रा पछि छैनौं, छाड सबै। एउटा गुटबाट समानुपातिकका नाममा प्रतिनिधित्व गरेर जागिर खुस्किएपछिको रोदन जस्तो काम नगर्नुस्

राजनीतिमा नैतिकताको प्रसङ्ग यसै उठेको होइन यहाँ। झाँक्रीको प्रसङ्ग यहाँ जोड्छु। लोकतन्त्रको यति नै माया थियो भने यो अवस्थामा आउने पृष्ठभूमीका पात्रहरूसँग पनि प्रश्न गर्नुहोस् सत्ता किन चाहियो हतार–हतार? नकी केपी–विद्या भनेर सार्वजनिक बेइज्जती गर्ने र तुसमात्र पोख्ने काम नगर्नुस्? हो, प्रतिनिधि सभा विघटन गलत थियो। तर, प्रश्न गर्नुस् माधव नेपालसँग पनि पार्टी जोगाउने भए न्यायीक कुरा गरौं, तपाईलाई अध्यक्ष किन चाहियो? – गर्नुभयो? कि लालमोहर ठोक्नुभयो? आजको पुस्ताको प्रतिनिधि हो भने, यी डाइपरहरूलाई संयुक्त रुपमा भन्नुस्– हामी तिम्रा पछि छैनौं, छाड सबै। एउटा गुटबाट समानुपातिकका नाममा प्रतिनिधित्व गरेर जागिर खुस्किएपछिको रोदन जस्तो काम नगर्नुस्। तपाईले आफ्ना ठाउँबाट तपाईको पार्टीमा पुस्तान्तरणका लागि कतिवटा आवाज उठाउनुभयो? यो प्रश्न तपाईको सन्तानले भोली सोध्नेछ।

होली वाइन प्रकरणमा आलोचित, प्रधानमन्त्री पदका लागि राजालाई आवेदन दिने र आधा प्रतिगमन सच्चियो भन्ने वाणी त मेरै कानले पनि सुनेका हुन्। नेता नेपालजी, तपाईँ पूरा कम्युनिस्ट हो? ४० बर्ष संगत गरेको केपी ओली कम्युनिस्ट नभएको थाहा हुँदा हुँदै पार्टी महासचिव हुँदा किन कारबाही गर्नुभएन? के बोल्दैछु भन्ने हेक्का छ? तपाईलाई प्रचण्डले कुनै बेला दिएको संज्ञा ‘विष बृक्ष’ मिठो लागेको थियो र? तपाईँ आफैंले भनेको हैन– म कल्पवृक्ष भनेर? नेपाली कम्युनिस्ट राजनीतिको माया लागेको, मुलुकको प्रेम हो भने छाड्नुस नेतृत्व, अर्को पुस्तालाई जिम्मा लगाउनुस्। ३० बर्षमा त निजामति नै निस्कन्छन्, तपाईहरूलाई किन चाहियो पद अब?

यो लाजनीति हो। एउटा युग परिवर्तनको ठूलो उदाहरणका रुपमा प्रचण्ड बन्न सक्थे। तर यो फोहोरी खेलको केन्द्रविन्दुमा लाग्दा लाग्दै भन्न थाले– छाडिदिएँ। त्यो छाड्नुमा स्वार्थ थिएन? त्यसो भए अवधि नपुग्दै सरकार गिराउने खेलमा किन लाग्नुभयो? अविश्वासको प्रस्ताव किन तयार पार्नुभयो? त्यसको नियति होइन, प्रतिनिधि सभा विघटन? तपाईले छाड्ने भए ३३ बर्षसम्म कस–कसलाई कहाँ कहाँ छाडेर अध्यक्ष बनाउनुभयो? धोवीघाट प्रकरणमा तपाईलाई घेराबन्दी गर्न लागेपछि बाबुराम भट्टराईलाई बाध्यात्मक अवस्थामा प्रधानमन्त्री बनाएको होइन?

मोहन वैद्यहरू यसै किनारा लागे? तपाईको स्कुलिङ ठिक थियो, योगदान गर्ने भएको भए अहिले माओवादीमा लामो समय हिँडेकाहरूले तपाईको साथ छाड्ने थिए र?

पक्कै पनि लोकतन्त्रमा व्यक्तिगत स्वार्थ वा पदका निम्ति कुनै संकुचित मानसिकताका आधारमा जनप्रतिनिधिको थलो नै भंग गर्नु दुर्दशा हो। प्रधानमन्त्री ओलीले पद जोगाउनका लागि जुन प्रकारको निर्णय लिनुभयो, त्यो सही मान्न सकिँदैन। अविश्वासको प्रस्ताव आउने नै थियो भने तपाईको कद अझ बढ्ने थियो, त्यसको फेस गर्नुपर्ने थियो। जनताले सबैको व्यक्तित्व र आचरणलाई मापन गरेकै हुन्थे। र, त्यसपछिको मन्त्रिपरिषदको विस्तार र नियुक्तिका अनुहार हेर्दा पनि यो स्वार्थको एउटा कसी थियो भन्दा केही आपत्ति नहुने स्पष्ट देखिन्छ।

राजनीतिमा भन्दा पनि प्रजातान्त्रिक प्रणालीमा मान्यता राख्ने आम मानिसहरूमाझ यो सन्देश छ कि, चुनावको विकल्प छैन। घोषणा भएको बेला नभए कुनै न कुनै बेला हुन्छ। यी मानिसहरू मैदानमा उत्रिनेछन्। यीनलाई अब फेर्ने बेला भयो। कार्यकर्ता र प्रतिनिधिले महाधिवेशनमा पार्टी मूल नेतृत्वबाट र नागरिकले चुनावमा प्रतिनिधि बन्ने अवसरबाट नेटो नकटाए, अबको तीन पुस्तापछि पनि हाम्रा सन्तानको कलेटी परेको ओठमात्र देखिनेछ। यस्ता डाइपरहरू समयमा नै बदलौं।

प्रतिक्रिया