

एउटी नारीको सपना…

हरेक सफल नारीको भित्र–भित्रै गुम्सिएको अनेकौं कथा र व्यथाहरु छन् । हरेक क्षेत्रमा नारीलाई हेर्ने दृष्टिकोण अलग छ । पुरुष प्रधान यो देशमा पुरुषले नारीलाई आफ्नो इशारामा नाच्ने कठपुतली सम्झिन्छन्् । एउटा सुन्दर नारी देख्न हुन्न गिद्दे नजर गाडेर बस्ने गर्छन् । आखिर कहिलेसम्म नारीले डराएर गुम्सिएर बस्नुपर्ने !!??
खुल्ला आकाश मुनि स्वतन्त्र रुपमा नारी अहिलेपनि हिँड्न सक्दैनन् । चाहे हामी २१ औ शताब्दी भन्यौं वा जतिसुकै शताब्दीमा प्रवेश गर्यौ !
अभिनेत्री हुन् वा नेत्री, समाजसेबी वा अन्य क्षेत्रमा लागेकी नारी हुन यहाँ नारी सुरक्षित छैनन् । जति बुझ्दै जान्छु नारीहरुको भित्री पाटो, भित्री कथा व्यथा– त्यतिनै आश्चर्य चकित हुन्छु किन र कहिलेसम्म यो सब सहनुपर्ने !!?
कति नारीले सफलताको सिँढी चढ्न सक्दैनन्, सफलताको खुड्किला मा फड्को मार्नबाट बञ्चित हुने गर्छन् । कुनै नारीले चाहँदैनन् अस्तित्व बेचेर सफलता कमाउन ! तर अर्को पाटोतिर बुझ्दा कति नारी विवशतामा आफ्नो अस्तित्व गुमाउन पुगेका छन् !
तर किन ??
सफल बन्न आफै सक्षम बन्नुहोस्, सफलताको खुड्किला पार गर्न कसैको खेलौना नबन्नु । आफ्नो अस्तित्व, आत्म सम्मान जोगाई राख्नुहोस् । अन्यायविरुद्ध आवाज उठाउन सिक्नुहोस । कसैको अगाडी आफूलाई समर्पित गर्नबाट आँफै जोगिन सिक्नुहोस् । नारीलाई मात्रै एउटा खेलौना सोच्ने र खेल खेल्न रुचाउने ती नर पिचासविरुद्व आवाज उठ्नैपर्छ ।
किन ? आखिर किन ? नारीप्रति गिद्दे नजर गाडिन्छ, किन उनलाई स्वतन्त्र भएर हरेक क्षेत्रमा अगाडी बढ्न र , सफल हुनबाट बन्चित गराइन्छ किन कहिलेसम्म यो डर त्रास !!
म चाहन्छु नारी हरेक क्षेत्रमा स्वतन्त्र भएर हिँड्न सकोस् कसैको डरत्रास र दबाबमा जिन्दगी जिउन नपरोस् ।
हामीले अर्को पाटोतिर हेर्ने हो भने यो समाजमा कहिँ कतै परिवर्तन आए पनि कतिपय ठाउँमा अझै छोरा र छोरी अनि छोरा र बुहारीमा हेर्ने दृष्टिकोण अझै भिन्न नै छ । पक्षपात हुन्छ नै । म आफैंले देखेको छु जब एउटा नारी सानै उमेरमा एकल (विधुवा) हुन पुग्छिन् भने उनको भबिस्यबारे गहिरो चिन्तन गर्ने कोहि हँुदैन । उनको खुशी उनको रंगिन सपनाहरूप्रति कसैको ध्यान जाँदैन । न उनको घरपरिवारले सोच्छ न समाजले नै ? स–साना नाबालकको जिम्मेवारी लिएर उनी एक्लै जुध्दै अगाडी बढ्छिन् । त्यही ठाउँमा यदि छोरा हुन्छ भने सबैलाई हतार हुन्छ उस्को अर्को बिहे गराउने ।
एउटा दृश्य मेरो आँखा अगाडी घुम्छ अझै र जहिले झ्न्झोर मलाई किन ??? नारीप्रतिको यस्तो ब्यवहार ??? केही काम गरेरहेकि थिइन् । उनी काम गर्दागर्दै सुस्केरा हाल्दै पिँढीमा थचक्क बस्छिन् । उनी कुनै दुनियाँमा हराउन पुग्छिन् । टोलाएर धेरै बेर बसिरहन्छिन् उनी … । तर मेरो मनमा भने अनेकौं प्रश्नहरुले जवाफ खोजिरहेको हुन्छ, सँगै उनको केही बर्ष अगाडीको चित्कार रुँदै गरेको बिलौना भक्कानिएको उनको आवाज अनि निकैबेर मुर्छित उनी त्यो दृश्य मेरो वरिपरि घुमिरहन्छ ।
आखिर भर्खरै लाउला–खाउँला भन्ने कलिलो उमेर कै त थिइन् उनी गर्भमा बच्चा थियो । उनको संसार उनको जीवनसाथीले उनलाई एक्लै पारेर यो संसारबाट बिदा लिँदा उनको रंगिन संसार बेरंग हुन पुगेको थियो दैवले उनीमाथी अन्याय गर्दा !!
तर पनि आफुलाई सम्हाल्दै एउटा अठोट गर्दै अगाडी बढेकी थिइन् उनी । गर्भको शिशुलाई जन्म दिएर हुर्काउने पढाउने हरेक जिम्मेवारी निभाउँदै आएकी छिन् । उनको घर परिवारले कहिल्यै उनको बारेमा सोच्यो होला ? पढे–लेखेको भए पनि उनी बिद्रोह गर्न सक्दैनिन् । उनलाई जिम्मेवारीले थिचेको छ । अनि यो समाजको नीतिनियमले एउटा नारीले आफ्नो अनेकौं चाहना आकांक्षाहरुको तिलान्जलि दिनुपर्ने हुन्छ । आफ्नो व्यथा पीडा मनभित्र नै गुम्साएर बस्नुपर्ने बाध्यता हुन्छ !
तर अर्कोतिर त्यही ठाउँमा पुरुष हुन्छ भने परिवारजन अनि समाजलाई हतारो हुन्छ अर्को बिहे गराउन । एक्लै कसरी यत्रो जिन्दगी अगाडी बढाउँछ ? बच्चाको हेरबिचार जिम्मेवारी लिनेपनि कोहि चाहियो ? यस्तै अनेकौं कुराहरु राख्दै अर्को बिहे गराइन्छ, आखिर किन यति भिन्नता ?
यतिमात्र कँहा हो र जतिसुकै विकासोन्मुख देशमा बसेको होस् वा जतिसुकै पढे–लेखेको होस् । पुरुष यदि उ जुनसुकै उमेर पार गरेको होस् । तर, उस्को सोच यस्तो हुन्छ कि अर्को बिहेको लागी पनि उस्ले कुमारी कन्याकै खोजीमा हुन्छ । उ चाहन्न उ जस्तै डिभोर्सी, एकल वा उस्कै उमेरकी नारीसँग उ बिहे गर्न । अचम्म लाग्छ किन यस्तो !!
हेर्ने दृष्टिकोण मा फरक छ यो युगमा पनि । अर्को पाटोतिर हेर्ने हो भने केही खुड्किला नाघ्दै समयसँगै अगाडी बढ्दै परिवर्तनको युगमा प्रबेश गरेको छ ।
धेरै नै परिवर्तन आइसकेकोमा खुशी लाग्छ , आमा बन्नु आँफैमा एउटा गर्ब को कुरा हो ! तर, एउटा त्यो समय पनि थियो जहाँ आमा बन्नु मानौं कुनै अपराध हो । त्यतिबेला आफुलाई सारीमा बेरेर राख्नुपर्ने नारीको विवशता थियो जतिसुकै असजिलो भएपनि !
त्यतिमात्र कहाँ हो र ? लगाएको सारीको सप्कोले टाउको छोप्नुपर्ने बाध्यता । हिँडडुल गर्न सम्म पावन्दी हुने गथ्र्यो ।
एउटी नारीमाथि अर्की नारी नै भारी हुन्थिन् । नारीले नै दबाएर बनाएको केही नियम कानुन । आफुले चाहेर खुल्ला आकाश मुनि खुलेर श्वास लिनसम्म पाउँदैन थिइन् । त्यो बेला गर्भवती नारीले । अचम्म लाग्छ अहिले त्यो सोच र समयप्रति । सानैमा गर्भवती हुनु, आफुलाई कुनै कुराको जानकारी नहुनु, आफुले खानुपर्ने आहार बिहार, बच्चाको कसरी ख्याल राख्ने, कस्तो दिनचर्या हुनुपर्ने केहि थाहा हुँदैनथ्यो त्यो समयमा । तर समयले फड्को मारेको छ । अहिले त हरेक घरमा परिवर्तन आएको छ ।
बेबीसावर गर्ने चलनदेखि खुल्ला र आफुलाई सहज हुने पहिरन, खानपिनमा परिवारले नै ध्यान दिनु, श्रीमानको पूर्णसाथ, बच्चाको रेखदेखमा पहिलेनै सबै जानकारी अतिनै राम्रो कुरा हो । यसका लागि नायिका प्रियंका कार्की नेपाली हुनेवाला आमाहरुका लागि ‘रोलमोडल’ बनिन् । उनले यस्तो बेलामा आफूलाई खुशी बनाउने अनेक उपाय सुझाइन्, देखाईन् नेपाली समाज अनि नेपाली नारीहरुलाइृ । उनलाई अझै साथ दिएका छन् उनका श्रीमान्ले । जसले हरेक पल प्रियंकाको ख्याल राख्दै हरेक क्रियाकलापमा सामेल हुँदै हुने वाला बच्चा र आमा दुवैको स्याहार सुसारमा कुनै कसर बाँकी राखेनन् । वास्तव मै यो बेलाको साथ र सपोर्ट हरेक नारीको जीवनको मूल्यवान र अविस्मरणीय क्षण हुन्छ । एउटा नारीले चाहन्छिन् नै यही आफ्नो श्रीमानबाट । आमा बन्दाको सुखद् अनुभवसँगै आफ्नो श्रीमानको पूर्ण साथ र सहयोग ।

