थुईक्क राजधानी !


सम्भवतः राजधानी भन्ने बित्तिकै सफा सुग्घर सहर, शिक्षित मानिसहरुको बसोबास रहेको ठाउँ अनि सम्पूर्ण सुविधाले भरिपूर्ण भन्ने ठाउँ भन्ने मानसपटलमा आउनु अतिशयोक्ति होइन ।

त्यस्तै नेपालको राजधानी काठमाडौं पनि बाहिरबाट देख्नेहरुका लागि त्यस्तै होला भन्ने अनुमान लगाउन सकिन्छ । पहिलो मनमा राजधानी चट्ट मिलेको होला, सफा होला, सुग्घर होला, त्यहाँ बस्नेहरु सबै सुविधाले भरिपूर्ण होला, त्यहाँकालाई केही दुःख छैन होला भन्ने सोचाई आउँछ । तर, राजधानी आउनै लाग्दा नौबिसे काटिसकेपछि उकालोको जाम राजधानी पहिलोपटक प्रवेश गर्नेका लागि पहिलो गासको ढुंगा बन्न पुग्छ । अनि बल्ल तल्ल  राजधानी आयो, धुँवा, धुलो, फोहोर, अव्यवस्था, असुरक्षा, त्रास, त्यस्तै त्यस्तै ।

जीवन जीउने आशा लिएर राजधानी छिर्नेका लागि झनै ठूलो अभिषाप रहेछ भन्ने केही साताअघि नयाँ बसपार्कका तीन गेष्टहाउसमा ९/१० जना युवाबाट बलात्कृत महिलाको कथाले प्रस्ट्याउँछ । फरक–फरक ठाउँमा फरक फरक व्यक्तिहरुबाट एउटै महिला बलात्कृत हुनु पक्कै पनि सुरक्षा अनि विश्वासको संकट रहेको सहर भनेर चिनिन्छ होला । यसबाट राजधानीको सुरक्षास्थिति र एक्ली महिला भोग्नुपर्नसक्ने पीडाको अनुमान लगाउन सकिन्छ ।

त्यस्तै अर्को घटना आइतबार, २५ पुस, २०७८ । २१ औं शताब्दीमा पनि अन्धविश्वास र रुढीबादीको राजधानी पनि काठमाडौं नै हो भन्ने कुरा प्रमाणित रह्यो सिन्धुपाल्चोककी १४ वर्षीया रोशनी श्रेष्ठको हत्याबाट । छारे रोग लागेकी रोशनीलाई झारफुकबाट सन्चो बनाउने भन्दै ‘माता’ भनिने उमा शाही ठकुरीले कुटपिट गरेर हत्या गरिन् ।

उमेर पुगेकी बालिकालाई उनकै आमाले झारफुक गरेर औषधी उपचार गर्ने आशामा माताको जिम्मा लगाईन्, त्यो पनि करिब ३ साता अघि । उमेर पुगेकी छोरीलाई ३ सातासम्म अर्काको जिम्मा लगाउन बाध्य राधिकालाई पक्कै पनि छोरी निको होली भन्ने आशा लागेरै माताको जिम्मा लगाएकी थिइन् तर परिणाम आयो, त्रिशुलले घोपेर हुर्किएकी छोरीको लाश । सिन्धुपाल्चोकबाट राजधानीको उत्तरी कुनासम्म कैयौं अस्पतालहरु पार गर्दै राधिकाले अन्धविश्वासकै कारण छोरीलाई माताको जिम्मा लगाउन पुगिन् । न त उनले कुनै अस्पतालमा छोरीलाई देखाईन्, नत कसैले उनलाई अस्पताल लैजानु पर्छ भनेर भन्यो ।

केही महिनाअघि अनी यही राजधानीमा घट्यो अर्को घटना, दलित भएकै कारण भाडामा कोठा नपाउनु । समाजमा प्रतिष्ठित र गौरवको पेशा मानिएको सञ्चार क्षेत्रमा एवं कला संगीतका लागेकी एक युवतीले घरबेटीले जातकै कारण कोठा नदिएको भन्दै प्रशासन गुहार्नुपर्ने बाध्यता आइलाग्यो, अनि घरबेटीले केही प्रशासनिक कारबाही भोग्नु पर्ने बाध्यता आइलाग्यो । यस प्रकारको घटना उपत्यकामा सबैभन्दा धेरै हुने गरेको पाइन्छ । उपत्यकाबाहिरबाट राजधानी आई कोठा भाडा खोज्नेहरुमा सबैभन्दा पहिलो प्रश्न घर कहाँ, के थरी ? भन्ने प्रश्न जसले पनि भोग्नुपर्ने हुन्छ । र, कतै दलित वा घरबेटीलाई जात मन परेन भने कोठा छैन भन्ने चलन नयाँ होइन ।

शिक्षित र विकसित भनिएकै राजधानीमा त यस्ता घटनाहरुले मानिसले भोग्नुपर्ने मानसिक एवं शारिरीक पीडाको वर्णन गरिसाध्य छैन । साँच्चै भन्ने हो भने, दूरदराजमा भन्दा राजधानी नै बढी जातीय विभेद, अन्धविश्वास र असुरक्षित रहेको प्रष्ट हुन्छ ।

प्रतिक्रिया