राष्ट्रियसभा निर्वाचनः एमाले ‘क्लिन स्वीप’ होला?
यस्तो छ अकंगणित, राष्ट्रियसभा सदस्यबाट को–को विदा हुँदैछन्?
काठमाडौं – आउँदो फागुन २० गते नेकपा एमालेका आठ, नेकपा माओवादी केन्द्रका चार, नेकपा (एकीकृत समाजवादी) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदैछ।
सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै चुनाव गर्नुपर्ने प्रावधान छ। सोहीअनुरुप निर्वाचन आयोगले आउँदो माघ १२ गते राष्ट्रियसभाको निर्वाचन गर्दैछ।
चुनावका लागि ४३ उम्मेदवारबाट मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको हो।
राष्ट्रियसभा निर्वाचनमा सत्ताधारी गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। कुल १९ सिटका लागि एमालेले १९ जनाकै उम्मेदवारी दिएको छ।
सत्ता गठबन्धनका दलहरूले भने सिटहरू बाँडेका छन्। नेपाली कांग्रेसले ६, माओवादी केन्द्र र समाजवादी पार्टीले ५/५, जनता समाजवादी पार्टीले दुई र जनमोर्चा पार्टीले एकजनाको उम्मेदवारी दिएका हुन्।
त्यस्तै सत्ता बाहिरको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुई, मजदुर किसान पार्टीले दुई र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एकजनाको उम्मेदवारी दर्ता गराएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
चुनावमा प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता भाग लिनेछन्। पालिकाका एक हजार ४ सय ९३ र प्रदेशसभाका ५ सय ३२ मतदाता रहनेछन्। चुनावबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन्।
प्रदेश–१ बाट महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य गरी तीन जनाका लागि मतदान हुनेछ। प्रदेश–२ र बागमतिमा महिला र अन्य समूहका गरी दुई/दुई जनाका लागि मतदान हुनेछ।
गण्डकी र लुम्बिनीमा महिला, दलित र अन्य गरी तीन/तीन, कर्णालीमा महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य गरी तीन तथा सुदूरपश्चिममा महिला, दलित र अन्य गरी तीन जनाको निर्वाचन हुँदैछ।
चार बर्षे कार्यकाल सकिएर अहिले हुन लागेका चुनावमा एमालेलाई १९ सिटमा नै ‘क्लिन स्वीप’ बनाउन खाजिरहेका छन् सत्ता गठबन्धन दल। यस्तो अवस्थामा एमालेले कस्तो रणनीतिका साथ चुनावमा होमिएला त्यो हेर्न बाँकी छ।
प्रदेश १ मा एमालेलाई झिनो आश
१९ मध्ये ८ वटा एमाले तर्फको सिट हो। सातवटा प्रदेशमध्ये प्रदेश १ मा भने सत्ताधारी बाहेकका दल मिल्दा पनि सत्तापक्षीय गठबन्धनलाई हराउनसक्ने अवस्था नेकपा एमालेको रहेको बताइन्छ। प्रदेश १ मा बाहेक अन्यत्रमा गठबन्धनको जित सुनिश्चितजस्तै छ।
प्रदेश–१ मा जम्मा मतभार ९ हजार ३४८ छ। जसमा एमाले एक्लैसँगै ४१ प्रदेश सांसद र १४३ पालिका प्रमुख÷उपप्रमुख छन्। जसको मतभार चार हजार ५४२ हो।
त्यस्तै सत्ता गठबन्धनको जम्मा मतभार ४ हजार ४६४ रहेको छ। गठबन्धनमा ४८ सांसद र १२० प्रमुख/उपप्रमुख छन्। त्यस्तै राप्रपासँग १२०, लोकतान्त्रिक फोरमसँग १२६, संलोरामसँग ४८ र स्वतन्त्रसँग ४८ मतभार छ।
यस्तो अवस्थामा सत्तारुढ गठबन्धनसँग मतभारको अन्तर निकै कम भएकाले एमालेले यो प्रदेशमा जितको आश राखेको छ। तर त्यसका लागि एमालेले राप्रपासँग गठबन्धन गर्नुका साथै सत्ता गठबन्धनका केही मतदातालाई प्रभावमा पार्नुपर्ने हुन्छ।
त्यसो नभएको अवस्थामा सत्ता गठबन्धनले राप्रपा र लोसपासँग साझेदारी गरेमा एमालेले प्रदेश–१ पनि गुमाउनुपर्ने हुन्छ। त्यसैलाई मध्यनजर गर्दै एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसँग गठबन्धन गर्न पहल गरेको बताइन्छ।
प्रदेश १ मा पाँच दलीय गठबन्धनमा कांग्रेसबाट झापाका गोपाल बस्नेत, महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अपांगता भएका–अल्पसंख्यकतर्फको कोटाबाट जनता समाजवादी पार्टीका हेमराज थुलुङ राईले मनोनयन दर्ता गरेका छन्।
यस्तै एमालेबाट खुलातर्फ गुरु बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यक वा अपांग कोटामा सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दिएका छन्। प्रदेश १ मा राप्रपाबाट खुलातर्फको सदस्यमा झापाका अम्मरबहादुर विष्ट र महिला कोटामा रञ्जु प्याकुरेलले मनोनयन दर्ता गराएकी छन्।
२ नम्बर प्रदेश
प्रदेश २ मा सत्तारुढ गठबन्धनका तर्फबाट अन्य समूहमा जसपाका मोहम्मद खालिद सिद्दिकी र महिला समूहमा माओवादीकी उर्मिला अर्यालले उम्मेदवारी दिएका छन्।
एमालेबाट अल्पसंख्यकतर्फ पर्साका उसमान अन्सारी र महिलातर्फ रौतहटकी बिना साहले मनोनयन दर्ता गराएकी छन् भने लोसपाले महोत्तरीकी रुपा यादवलाई उम्मेदवार बनाएको छ।
प्रदेश–२ मा जम्मा मतभार ९ हजार ८८८ छ। ७९ प्रदेश सांसद र १८९ पालिका प्रमुख/उपप्रमुख गठबन्धनमा आबद्ध भएका दलहरुसँग भएकाले उनीहरुसँग ७ हजार १९४ मतभार छ। ८ प्रदेश सांसद र ३१ प्रमुख/उपप्रमुख रहेको एमालेसँग ९ सय ४२ मतभार छ।
त्यस्तै २ नम्बर प्रदेशमा लोसपासँग १ हजार ५६०, लोकतान्त्रिक फोरमसँग १०८, नेसंसपासँग ४८ र स्वतन्त्रसँग ३६ मतभार रहेको छ। एमाले, लोसपा, लो. फोरम, नेसंसपा र स्वतन्त्र सबै मिलेपनि गठबन्धनले नै जित्ने देखिन्छ।
बागमति प्रदेश
बागमति प्रदेशमा जम्मा मतभार ९ हजार ४९८ छ। ५८ प्रदेश सांसद र ११७ पालिका प्रमुख/उपप्रमुख गठबन्धनमा आबद्ध भएका दलहरुसँग भएकाले उनीहरुसँग ४ हजार ८९० मतभार छ। ४३ प्रदेश सांसद र ११६ प्रमुख/उपप्रमुख रहेको एमालेसँग ४ सय १५२ मतभार छ।
त्यस्तै बागमति प्रदेशमा विवशकशील साझासँग १४४, राप्रपा १३२, नेपाल किसान मजदुर पार्टीसँग (नेमकिपा) ९६ र स्वतन्त्रसँग ८४ मतभार रहेको छ। यस्तो अवस्थामा नेमकिपा एमालेसँग मिल्न सक्ने अवस्था छ।
बागमति प्रदेशमा २ सिटका लागि सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका कृष्णप्रसाद पौडेल र महिलामा एकीकृत समाजवादीबाट गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै एमालेबाट निरकुमारी दर्लामी कुँवर र गोपाल शाक्यको उम्मेदवारी परेको छ।
यस्तै नेमकिपाबाट गीता काफ्ले र कृष्ण बहादुर तामाङले उम्मेदवारी दिएका छन्।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा जम्मा मतभार ५ हजार ८७४ छ। ३१ प्रदेश सांसद र ९५ पालिका प्रमुख/उपप्रमुख गठबन्धनमा आबद्ध भएका दलहरुसँग भएकाले उनीहरुसँग ३ हजार १८० मतभार छ। २७ प्रदेश सांसद र ६९ प्रमुख/उपप्रमुख रहेको एमालेसँग २ हजार ५३८ मतभार छ।
त्यस्तै गण्डकी प्रदेशमा राप्रपा १८ र स्वतन्त्रसँग १३८ मतभार रहेको छ। यो प्रदेशमा पनि गठबन्धन सहज जित हात पार्ने अवस्थामा छ।
गण्डकी प्रदेशमा नेकपा एमालेका उम्मेदवार स्याङ्जाका अर्जुनकुमार सुनाम, कास्कीका पुण्यप्रसाद पौडेल र महिलामा नवलपुरकी लीला थनेतले मनोनयन दर्ता गराएका छन्। गण्डकीमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादीका सुरेश आलेमगर र भुवन सुनारले उम्मेदवारी दिएका छन्।
लुम्बिनी प्रदेश
यो प्रदेशमा पनि गठबन्धन सहज जित हात पार्ने अवस्थामा छ।
लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, एकीकृत समाजवादीबाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्माले उम्मेदवारी दर्ता गराएका हुन्।
लुम्बिनीमा महिला, दलित र अन्य समुदाय गरी तीन रिक्त पदका लागि निर्वाचन हुँदैछ। यस्तै एमालेबाट खुल्लातर्फ दाङका रामदयाल गुप्ता, महिलातर्फ बाँकेकी भारती खनाल र दलिततर्फ गुल्मीका कृष्णबहादुर सुनारले मनोनयन दर्ता गराएका छन्।
लुम्बिनीमा जम्मा मतभार ७ हजार ७६४ छ। ४३ प्रदेश सांसद र ११९ पालिका प्रमुख/उपप्रमुख गठबन्धनमा आबद्ध भएका दलहरुसँग भएकाले उनीहरुसँग ४ हजार २०६ मतभार छ। ३६ प्रदेश सांसद र ८६ प्रमुख/उपप्रमुख रहेको एमालेसँग ३ हजार २७६ मतभार छ।
यस्तै लोसपा ३६, राप्रपा ३६, स्वतन्त्र १२६, लोकतान्त्रिक फोरम ३६, सुर्यमा जितेका सांसदसँग ४८ मतभार रहेको छ।
कर्णाली प्रदेश
कर्णालीमा गठबन्धनबाट एकीकृत समाजवादीका उदय बोहोरा, महिलातर्फ कांग्रेसका दुर्गा गुरुङ र अपाङ्गता कोटामा माओवादीका रणवहादुर बिष्टले उम्मेदवारी दिएका छन्।
यस्तै, एमालेबाट सुर्खेतका चुणामणी शर्मा, महिलातर्फ जुम्लाका गंगा महत र अल्पसंख्यकमा दैलेखका पदमवहादुर माझीले मनोनयन दर्ता गराएका छन्।
कर्णालीमा जम्मा मतभार ४ हजार ५२४ छ। १९ प्रदेश सांसद र १०५ पालिका प्रमुख/उपप्रमुख गठबन्धनमा आबद्ध भएका दलहरुसँग भएकाले उनीहरुसँग २ हजार ८९८ मतभार छ। १३ प्रदेश सांसद र ४५ प्रमुख/उपप्रमुख रहेको एमालेसँग १ हजार ४३४ मतभार छ।
त्यस्तै राप्रपासँग ८४ र स्वतन्त्रसँग १०८ मतभार छ।
यो प्रदेशमा पनि गठबन्धन सहज जित हात पार्ने अवस्थामा छ।
सुदूरपश्चिम प्रदेश
सुदुरुमा जम्मा मतभार ५ हजार ६६४ छ। ४० प्रदेश सांसद र १०४ पालिका प्रमुख/उपप्रमुख गठबन्धनमा आबद्ध भएका दलहरुसँग भएकाले उनीहरुसँग ३ हजार ७९२ मतभार छ। ११ प्रदेश सांसद र ७० प्रमुख/उपप्रमुख रहेको एमालेसँग १ हजार ७८८ मतभार छ।
यस्तै लोसपासँग ४८ र लोकतान्त्रिक फोरमसँग ३६ मतभार रहेको छ।
सुदूरपश्चिममा एमालेबाट डिल्लीराज भट्ट, महिलामा सन्तोष शर्मा र दलित कोटाबाट नरेश विकले मनोनयन दर्ता गराएका छन्। सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका नारायण मिश्र, एकीकृत समाजवादीबाट मदनकुमारी शाह गरिमा र माओवादीबाट जगत पार्कीले उम्मेदवारी दिएका छन्।
यो प्रदेशमा पनि गठबन्धन सहज जित हात पार्ने अवस्थामा छ।
मतभारको आधारमा मत गनिन्छ
निर्र्वचन आयोगका अनुसार राष्ट्रियसभा चुनाव खसेको मतको गणना मतभारका आधारमा गरिन्छ। त्यस्तो मतभार निकाल्दा नेपालको कुल जनसङ्ख्यालाई प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको संख्याले छुट्टा-छुट्टै भाग गरिन्छ।
त्यसरी गर्दा प्रदेशसभा सदस्यको भागमा ४८ र स्थानीय तह प्रमुख÷उप्रमुखको भागमा १८–१८ मतभार पर्न जान्छ। खसेको मतमा त्यसैको गणना गरेर विजेता र पराजित उम्मेद्वारको घोषणा गरिने आयोगको भनाइ छ।
को–को विदा हुँदैछन्?