कांग्रेसद्वारा ओलीको क्षेत्रमा राप्रपासँग र लिङदेनको क्षेत्रमा एमालेसँग तालमेल


झापा । सत्तारुढ पाँच दलबीच आगामी बैशाख ३० गते हुने निर्वाचनमा गठबन्धन र तालमेल गरेर जाने निर्णय भए पनि झापामा भने कतै एमालेसँग त कतै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग नेपाली कांग्रेसले गठबन्धन गरेको छ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा नेपाली कांग्रेससहित गठबन्धनका दलहरुले राप्रपाका नगर प्रमुखका उम्मेदवार राम थापालाई समर्थन गर्दै राप्रपालाई २ वडाध्यक्ष दिएर अन्य पदमा भागबण्डा गरेका छन् ।

कांग्रेसले उपप्रमुखसहित ४ वटा वडाध्यक्ष लिएको छ भने नेकपा माओबादीको भागमा पनि ४ वडाध्यक्ष परेको छ । राष्ट्रिय जनमोर्चाको संगठन नरहेको दमक नगरमा गठबन्धनका दलहरु जनता समाजबादी र नेकपा एसलाई बागबण्डा लगाइएको छैन ।

राप्रपाले नगरप्रमुखसहित वडा नम्बर १ र ७ वडा, कांग्रेसले उपप्रमुखमा रेजिना भट्टराईसहित वडा नम्बर ३, ४, ५, र १० र माओवादीले वडा नम्बर २, ६, ८ र ९ लिएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा दमकबाट एमालेका रोम ओलीले जितेका थिए भने दोश्रो धेरै भोट राप्रपाका राम थापाले, तेश्रो माओबादीका गगन पुरीले र चौथो स्थान कांग्रेसका ढुण्डी भण्डारीले पाएका थिए ।

यो पटक एमालेले भने उपप्रमुखबाट राजिनामा दिएकी गीता अधिकारीलाई प्रमुख र अम्बिका खनाललाई उपप्रमुखको उम्मेदवार बनाई सकेको छ ।

यता, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको क्षेत्रमा भने राप्रपालाई हराउन सत्तारुढ काँग्रेस र नेकपा एमालेबीच चुनावी तालमेल भएको छ । देशभरी मुख्य प्रतिस्पर्धी मानिएको एमालेसँग कचनकवल गाउँपालिकामा भने काँग्रेस र एमालेबीच तालमेल भएको हो ।

२०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष सहित बहुमत वडा अध्यक्ष र सदस्य जितेको राप्रपाले यसपटक पनि अञ्जार आलमलाई अध्यक्ष र निमसारी राजबंशीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

यो गाउँपालिकाको अध्यक्षमा काँग्रेसका कालेन्द्र राजबंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई उम्मेद्वार हुने गरी तालमेल गरिएको छ । राजबंशी २०७४ को चुनावमा राप्रपाका अञ्जार आलमसंग पराजित भएका थिए । कचनकवल गाउँपालिका कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्र पनि हो ।

 

प्रतिक्रिया