नेकपा विभाजनकै लयमाः पूर्वएमालेभित्र प्रचण्डको ‘बनाना किक तर आत्मघाती गोल’
–टिप्पणी
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादको लहरो पहरोका रुपमा विभिन्न चरणमा देखा परेका छन्। त्यसको पछिल्लो उदाहरण सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसैमा टेकेर भएको बैठकका निर्णय।
नेकपा एकीकरणका समयदेखि नै विवादको जन्जालमा थियो। ३ जेठ, ०७५ मा जब घोषणा भयो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीभित्र खेलेको दुईलाइन संघर्षको अभ्यास सुरु गरेका थिए। त्यसबेला बरिष्ठताको विवाद सुरु भयो।
चीनमा रहेका तत्कालिन नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाललाई वरियतामा खसालियो र माधवकुमार नेपाललाई तेस्रो स्थानमा राखियो। यो प्रस्ताव प्रचण्डले ओलीलाई गरेका थिए र सोहीअनुसारको सहमतिमा एकीकरण भयो।
प्रचण्डले एकीकरण ताका ओलीसँग मिलेर खनाल, बामदेव गौतम लगायतलाई पाखा लगाउने काम भयो। जुन विवादमा ओली–नेपाल मनमुटाव बढ्यो। यहाँसम्मकी ‘स्वास्थ्य कामको लाभ’ दिन्न र चाहिन्न सम्मका विवरण सतहमा देखिए, पछिल्ला समय।
प्रचण्डको खेलको तिव्रता यतिमा रोकिएन। जसरी उनी त्यसबेला नेकपा माओवादीभित्र दुई लाइन संघर्ष अन्तरर्गत मोहन वैद्य किरण (हार्डलाइनर) र डा. बाबुराम भट्टराई (सफ्टलाइनर) कित्तालाई भिडाएर नेतृत्वमा रहेका थिए त्यो अभ्यासका क्रममा उनले ओलीसँग मिलेर फेरि खनाललाई बरिष्ठतामा अगाडि सार्न सफल भए। तर यो खेलको परिणाम विस्तारै आत्मघाती बनिरहेको थियो। यसक्रममा बामदेव गौतमलाई राष्ट्रिय सभा छिराउने नछिराउने, प्रतिनिधिसभाको उम्मेदवार बनाउने, नबनाउने मात्र होइन उपाध्यक्ष नियुक्ति गर्ने नगर्नेसम्मका विवादीत खेल भए। गौतम उपाध्यक्षमा नियुक्त गरिए। केन्द्रीय समितिको विस्तारित बैठकले अनुमोदन गरेपछि एक तहमा विवाद सामाधान भएको थियो। प्रचण्डलाई कार्यकारी अध्यक्ष दिने र ओली पूरा कार्यकाल प्रधानमन्त्री रहनेसम्मको सहमतिले खेल स्थिर बन्ने लयमा नै थियो।
२८ भदौ अघिको स्थायी समितिको बैठकमा प्रचण्डले कित्ता बदले र ओलीको राजीनामा हाकाहाकी माग गरे। खेलले यहाँबाट चरम विवादको उत्कर्ष समात्यो। ओली राजीनामा नदिने हठमा मात्र रहेनन्, स्थायी समितिको बैठकमा उपस्थित नै नहुनेसम्मका निर्णय पुगेका थिए। तैपनि महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलले विवाद समाधानका सुत्र दिएको थियो। केही महिना स्थिति स्थिर बन्यो।
पार्टीमा आफू कमजोर बनेको महसुस गर्दै गएपछि प्रचण्डले सचिवालयमा रहेका नेपाल, खनाल, गौतमसहित प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हात लिएर फेरि ओलीविरुद्धको अर्को खेल सुरु गरे।
जहाँ एकीकरणताका भएको सहमतिविरुद्धको खेलवाड सुरु भएको भन्दै उनका नजिक मानिएका नेताहरू टाढा हुन थाले। जनार्दन शर्मा, हरिबोल गजुरेल, टोपबहादुर रायमाझीहरू तटस्थताको अर्को लाइनमा उभिन थाले। उता, गृहमन्त्री रामबहादुर थापा भने प्रचण्डका कतिपय खेलका अध्यायमा फितलो बनिदिए बरु ओली कित्तामा उभिएको आरोप लाग्यो।
जब सचिवालयको बैठकका निम्ति प्रचण्डलगायतले पत्र दिए र त्यसको जवाफमा ओलीले अर्को पत्र पठाए। नेकपामा अनि सुरु भयो डेविड बेकह्यामको चर्चित बनाना किकको प्रहसन। उनले राजनीतिक प्रस्तावका रुपमा ओलीमाथि भ्रष्टाचारीदेखि स्वेच्छाचारी मात्र होइन, नव सामन्तीका नेताका रुपमा नै चित्रित गरी राजनीतिक प्रतिवेदनका नाममा पेस गरे प्रस्ताव। त्यसको जवाफमा ओलीले पनि कडा प्रतिवादसहित प्रचण्डलाई विगत स्मरण गराउने मात्र होइन, नातावादीको उदाहरणसहितको जवाफ दर्ज गर्दै अर्को प्रस्ताव ल्याए।
अहिले ति दुवै प्रस्ताव स्थायी समितिमा छन्। बुधबार त्यसबारे छलफल होला कि नहोला भन्ने अन्यौलको कारण बनेको छ संवैधानिक परिषदसम्बन्धी नयाँ अध्यादेश। यसले नेकपाभित्रको मनभेदलाई खुला रुपमा देखाएको छ भने विभाजनको अन्तिम लयमा रहेको प्रष्ट बनायो।
तत्कालिन माओवादीमा दुई लाइन संघर्षमा रमाएर नेतृत्व हासिल गर्ने ध्येयले प्रचण्डले चालेका राजनीतिक खेल उनका लागि आत्मघाती गोलको अवस्थामा पुराएका छन्, ओलीले।
ओलीले सरकारको कार्यकारी अधिकारको यस्तो ठूलो उपयोग गरे की प्रचण्डले भन्दै आएको एउटै कम्युनिस्ट केन्द्र क्षतविक्षत हुने अवस्थामा पुगेको छ। युवा विद्यार्थी कार्यकर्ताहरू कोरोना महामारीका बेला गुटगत भेला र सभामा व्यस्त भइसकेका छन्। ओली पक्ष र अन्य पक्षका फरक भेलाको सन्देश हो– अनौपचारिक विभाजन।