मुलुकलाई निकास दिन कांग्रेस वैचारिक बहसमा केन्द्रित होस् : प्रतिपक्षी दल
काठमाडौं – सहयात्री राजनीतिक दलले १४औँ महाधिवेशनबाट मुलुकलाई हालको परिस्थितिबाट निकास दिनका लागि वैचारिक बहससहित सुस्पष्ट कार्यदिशाको मार्गचित्र घोषणा गर्न नेपाली कांग्रेसलाई सुझाव दिएका छन् । प्रमुख प्रतिपक्षलगायत दलले मुलुकमा लोकतन्त्र स्थापना गर्न भएका सबै आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको प्रजातान्त्रिक दल हुुनाको नाताले नेपाली समाजले खोजेको मागलाई सम्बोधन गर्ने वैचारिक र राजनीतिक बहसमा केन्द्रित हुन कांग्रेसलाई आग्रह गरेका हुन् ।
कांग्रेसको आसन्न महाधिवेशनका सन्दर्भमा पत्रकारसँग कुरा गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले मुलुकका प्रमुख तीन अङ्ग प्रभावकारी नभएको परिस्थितिमा मुलुकलाई निकास दिन गम्भीररूपमा सोचेर नीतिगत बहस चलाउन सुझाव दिए । पूर्वसभामुखले भने, ‘संसद्ले काम गर्न सकेको छैन, न्यायपालिका ध्वस्तै छ, मुलुकमा अहिले धेरै विषय उठेका छन्, यस्तो अवस्थामा कांग्रेस महाधिवेशनको तयारीमा छ, उसले सोच्नुपर्छ, अहिलेको स्थितिबाट देशलाई कसरी बाहिर निकाल्ने भन्नेबारेमा ।’
कांग्रेसको अधिवेशन सफलताका लागि शुभकामना दिँदै एमाले संसदीय दलका उपनेता नेम्वाङले भने, ‘सबै राजनीतिक दलका अधिवेशन लोकतान्त्रिक विधि र प्रक्रियाअनुरुप सफलतापूर्वक हुनुपर्छ, यसले देशको संसदीय प्रणालीलाई बलियो बनाउँछ भन्ने मेरो मान्यता छ । यही मान्यतामा उभिएर कांग्रेसलाई मेरो शुभकामना रहन्छ ।’
‘उत्साह, एकता र रुपान्तरण सफल बनाऔँ’ भन्ने नारा तय गरिएको कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हुँदैछ । नेपालको प्रजातान्त्रिक दलका रूपमा विश्वमै पहिचान राखेको कांग्रेसले यसपटक महाधिवेशनका लागि प्रतिनिधि छनोटमा पार्टीको आन्तरिक जीवनमा लोकतन्त्रको उच्चतम अभ्यास गरेको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जहानियाँ राणा शासन, प्रजातन्त्र र गणतन्त्र स्थापना, प्रतिगमनविरुद्धलगायत नेपालको प्रजातान्त्रिक आन्दोलनमा कांग्रेसको योगदान रहेको बताए । उनले भने, “कांग्रेस आन्दोलनको पक्षधर भए पनि यसको ढुलमुले नीति छ, बुर्जुवा राजनीतिमा पनि केही मान्यता र मूल्य हुने भए पनि नेपालमा नेतृत्वका लागि मात्र प्रतिस्पर्धा हुन थाल्यो, सत्तामा जाने दलले विधि, विधान, नीति बिर्सँदै गए, जुन कुरा हुनुहुन्थेन, अहिले राजनीतिमा नरामै्रसँग स्खलन आएको छ ।”
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णले कांग्रेस देशमा एउटा प्रजातान्त्रिक पार्टीका रूपमा स्थापित रहेता पनि पछिल्ला गतिविधिले लोकतान्त्रिक पद्धति र विधिलाई बिर्सँदै गएको हो कि भन्ने भान हुन थालेको भनी प्रतिक्रिया दिए । सांसद कर्णले भने, ‘प्रजातन्त्र भनेको संसदीय व्यवस्था मात्रै भन्ने ठानियो, गरिबी हटाउने र विकास अघि बढाउने सुस्पष्ट नीति र विचार भएन, समानता र गरिबी निवारण नभएसम्म प्रजातन्त्रले स्थायित्व पाउन कठिन हुन्छ, महाधिवेशन नीतिभन्दा नेता चयनमुखी हुन थाले, समाजवादको नेतृत्व गर्ने कांग्रेसले विकासको नीति निर्धारण गर्न सक्नुपर्छ ।’
मुलुकको अनुभवी दलका कार्यकर्ताका हैसियतले कांग्रेसका चार हजार ७०० प्रतिनिधिले शुक्रबारदेखि सुरु हुने महाधिवेशनबाट नयाँ कार्यकालका लागि सभापति, उपसभापति र महामन्त्री दुई-दुई, सहमहामन्त्री आठसहित १३४ पदाधिकारी एवं सदस्यको चयन गर्ने छन् । नेपालको संसदीय अभ्यासमा निकै खारिएको कांग्रेसले विसं २०१५ को आमनिर्वाचनमा प्रतिनिधिसभामा ७३, २०४८ मा १११, २०५१ को उपनिर्वाचनमा ८३ र २०५६ मा पुनः १११ स्थानमा विजय हासिल गरेको थियो । मुलुकमा सशस्त्र सङ्घर्षको शान्तिपूर्ण राजनीतिक रुपान्तरणका लागि निर्णायक भूमिका खेलेको कांग्रेसकै अगुवाइमा २३८ वर्ष लामो शाहवंशीय राजतन्त्र अन्त्य भएको थियो । राष्ट्रिय जनान्दोलन –२ को सफलतापछि पुनःस्थापित ३३० सदस्यीय व्यवस्थापिका –संसद्मा पनि सबैभन्दा ठूलो दलका रूपमा रहेको कांग्रेस विसं २०६४ मा ६०१ सिटका लागि भएको निर्वाचनमा भने ११४ सिटमा खुम्चिएको थियो । विसं २०७० को दोस्रो संविधानसभामा सबैभन्दा ठूलो अर्थात् २०७ सिटका साथ संसद्मा पुगेको कांग्रेसकै अगुवाइमा सात दशक लामो नेपाली जनताको चाहना र बलिदानको उपलब्धिका रूपमा संविधानसभाबाट संविधान जारी गर्न सफलता प्राप्त भयो ।
नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले कांग्रेस नेपालको सामन्तवाद विरोधी आन्दोलनको सङ्घर्षशील राजनीतिक दल भएको जनाउँदै विसं २०७२ को संविधान कांग्रेस र कम्युनिष्ट पार्टीबीच सहमतिको दस्तावेजका रूपमा जारी भएको बताए । सांसद पोखरेलले भने, ‘राणाविरोधी आन्दोलनका क्रममा स्थापना भएको कांग्रेस सहिद, जेलनेल भोगेको राजनीति हो । शासकीय स्वरुप र अरु केही प्रश्नमा मतभेद भए पनि अहिले पनि मिलेर सरकार चलाइरहेका छौँ ।’
प्रतिगमनविरोधी आन्दोलनमा मिलेर नै सङ्घर्ष गरिएको स्मरण गर्दै पूर्वमन्त्री पोखरेलले संविधानको रक्षा र लोकतन्त्रलाई अघि बढाउने सन्दर्भमा पाँच दलबीच मतैक्यता भएकै कारण अहिले पनि सरकारमा मिलेर काम गर्ने अवसर प्राप्त भएको प्रतिक्रिया दिए । अधिवेशनमा सक्रिय कांग्रेस कार्यकर्ताले कहीँकतै पनि वैचारिक बहस गरेको आफूले नपाएको बताउँदै पूर्वमन्त्री पोखरलले अहिले नेपाली समाजले खोजेको माग र दिशातर्फ अघि बढ्ने वैचारिक र राजनीतिक बहसमा केन्द्रित हुन सत्ताको नेतृत्व गरेको दललाई सुझाव दिए ।
सहयात्री दलले कांग्रेसले सङ्घीयता कार्यान्वयन र नेपाललाई कस्तो समाजवाद चाहिएको हो भन्ने बहसको नेतृत्व गर्नुपर्नेमा यथास्थितिबाट माथि उठन नसकेको आरोप पनि लगाएका छन् । देशले मागेको अग्रगामी कार्यक्रम नबनाई अघि बढेमा राजनीतिक दल यथास्थितिको दास हुने भएकाले कांग्रेसलाई सत्ता जोगाउने खेलमा मात्र सीमित नभई समाजको आवश्यकतालाई पक्रेर अघि बढ्न प्रतिपक्षी दलको सुझाव छ । अधिवेशनलाई नेता र पात्र होइन, मुलुकका अहिलेकोे चुनौतीलाई पन्छाएर अघि बढ्नेगरी नीति केन्द्रित तुल्याउन सहयात्री दलले सुझाव दिएका छन् ।
विसं २०७४ को संसदीय निर्वाचनमा दोस्रो ठूलो दलका रूपमा ६३ सांसदसहित सदनमा प्रवेश गरेको कांग्रेसले पाँचदलीय गठबन्धनको नेतृत्व गर्दै सरकारको नेतृत्व लिन सफल भएको छ । पार्टीका पूर्वसभापति बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर राणा, गणेशमान सिंह र महेन्द्रनारायण निधिलाई आदर्श व्यक्तिका रूपमा ग्रहण गर्ने कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले पनि मुलुकको राजनीतिमा विशिष्ट योगदान दिएका छन् ।
पूर्वमन्त्री हृदयेश त्रिपाठीले नेपालको लोकतान्त्रिक आन्दोलनमा पटक पटक अगुवाइ गरेको कांग्रेस ऐतिहासिक राजनीतिक दल भएको प्रतिक्रिया दिए । उनले भने, “’प्रत्येक राजनीतिक दलले महाधिवेशनमा वैचारिक बहस अघि बढाउनुपर्नेमा त्यो समाप्त भइरहेको अवस्था छ, कांग्रेसले यस महाधिवेशनमा वैचारिक बहसलाई केन्द्रित गरोस् भन्ने शुभकामना र शुभेच्छा प्रकट गर्छु ।’
सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक समावेशी र समाजवादोन्मुख अर्थतन्त्रसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्ने श्रेयसमेत कांग्रेसले प्राप्त गरेको थियो । नेपाली राजनीतिमा लोकतन्त्रको पर्यायवाचीका रूपमा रहेको कांग्रेसले मुलुक हाँक्ने पटकपटक जिम्मेवारी प्राप्त गरे तापनि जनचाहनानुरुप विकासलाई अघि बढाउन नसकेको आरोप पनि खेप्दै आएको छ ।