
संसदमा आङ्देम्बेको कटाक्ष- कांग्रेस दास र लासहरूको पार्टी होइन
काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति स्वीकार गर्न नसकिने बताएका छन्। उनले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा चोट पुगेको दाबी गरे।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले राष्ट्रियताको प्रसंग उठाउँदै स्वर्गीय गायक तथा गीतकार गोपाल योञ्जनको चर्चित गीतका हरफ उद्धृत गरेका थिए। उनले “खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न” भन्दै नेपालको भूमि कसैले मिच्न नहुने धारणा राखे।
उनले भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयमा पर्याप्त तथ्य र प्रमाण रहेको उल्लेख गर्दै नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको बताए।
आङ्देम्बेले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिमाथि प्रश्न उठेपछि स्वयं उपस्थित भएर जवाफ दिनुपर्नेमा त्यसो नगरेको आरोप लगाए। परराष्ट्रमन्त्री शिशिर खनालले दिएको स्पष्टीकरणले पनि प्रधानमन्त्रीको अभिव्यक्ति स्वीकार्य बन्न नसक्ने उनको भनाइ थियो।
यसक्रममा उनले नेपाली कांग्रेसको भूमिका अन्य दलभन्दा फरक रहेको दाबी गर्दै कांग्रेस राष्ट्रिय हितका विषयमा आफ्नै सरकारविरुद्ध समेत बोल्न सक्ने पार्टी भएको बताए।
“हिजो मुलुकको अहित हुने काम हुँदा कांग्रेसका नेताहरू आफ्नै सरकारविरुद्ध संसद्को रोष्ट्रममा उभिएका थिए,” उनले भने, “आज नेपालले भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्तिमाथि पनि प्रश्न उठाएका छौँ। यसले कांग्रेस कुनै दास र लासहरूको पार्टी होइन भन्ने प्रमाणित गरेको छ।”
आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहप्रति कटाक्ष गर्दै संसदप्रति सरकारको व्यवहारप्रति पनि असन्तुष्टि जनाए। प्रधानमन्त्री संसद्मा उपस्थित नहुँदा संसद्को गरिमा कमजोर भएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले फेरि कुनै विवादास्पद गतिविधि गर्न सक्ने डर लागेको टिप्पणी गरे।
“प्रधानमन्त्रीलाई संसद आवश्यक नलाग्ला, तर प्रतिपक्षलाई संसद चाहिन्छ,” उनले भने, “कुनै दिन छापामार शैलीमा आउनुहोला, फेरि कुनै उद्दण्डता देखाउनुहोला कि भन्ने चिन्ता छ। तर अब म उहाँलाई खोज्न चाहन्नँ, किनकि मुलुकको प्रश्न उहाँको उपस्थितिभन्दा ठूलो र संवेदनशील छ।”
यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभामा बोल्दै नेपालले पनि भारतका केही भूभाग मिचेको विषय आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका थिए। उक्त अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर विरोध जनाउँदै आएका छन्।



कागजपत्र |
