नक्कली भुटानी शरणार्थी प्रकरणमा ओलीसहितलाई बयानमा बोलाउन माग


काठमाडौं-  नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितका उच्च राजनीतिक व्यक्तिहरूलाई अदालतमा बयानका लागि बोलाउन माग गर्दै जिल्ला अदालत काठमाडौंमा निवेदन दर्ता गरिएको छ।

अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत) का अनुसार पूर्वप्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, कांग्रेस नेतृ आरजु देउवा, मञ्जु खाण र राजेश बज्राचार्यलाई बयानका लागि बोलाउन माग गरिएको हो।

निवेदनमा अडियो तथा भिडियो प्रमाणसमेत मिसिलमा संलग्न रहेको दाबी गरिएको छ। सो निवेदनका आधारमा भोलि अदालतमा बहस हुने अधिवक्ता नेपालले जानकारी दिएका छन्।

यसैबीच बुधबारदेखि जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासमा उक्त प्रकरणको अन्तिम चरणको सुनुवाइ जारी रहेको छ।

नक्कली कागजात तयार पारी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने संगठित गिरोह सञ्चालन भएको आरोपमा दायर मुद्दा अहिले अदालतमा विचाराधीन छ। यस प्रकरणमा करिब ३० जनाविरुद्ध किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराधसम्बन्धी अभियोग लगाइएको छ।

प्रतिक्रिया