सनातनी राष्ट्रको पक्षमा बोलेपछि ज्यान मार्ने धम्की आयो : खुश्बु ओली


काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले आफूले नेपाललाई सनातनी हिन्दू राष्ट्र बनाउनुपर्ने पक्षमा आवाज उठाएपछि सामाजिक सञ्जालमार्फत ज्यान मार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आएको बताएकी छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले नेपालको संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै सनातनी राज्यको पक्षमा धारणा राख्दा आफूमाथि सुनियोजित रूपमा धम्की आएको दाबी गरिन्।

उनले ९० प्रतिशतभन्दा बढी सनातनी आस्थाका नागरिक रहेको देशमा नेपाललाई पुनः सनातनी हिन्दू राष्ट्र बनाउनुपर्ने विषय उठाउँदा विभिन्न किसिमका धम्की सामना गर्नुपरेको बताइन्।

“के गणतन्त्रले ल्याएको धर्मनिरपेक्षताको फल यही हो ?” भन्दै उनले प्रश्नसमेत गरिन्।

सांसद ओलीले आफू व्यक्तिगत रूपमा यस्ता धम्की सहन तयार रहे पनि यसलाई सनातन धर्ममाथिको प्रहारका रूपमा लिएको बताइन्।

धर्म परिवर्तनका विषयमा बोल्दै उनले विदेशी प्रभावमा धर्मान्तरण गराउने गतिविधि भइरहेको आरोप लगाइन्। वास्तविक इसाई समुदायलाई आफ्नो भनाइप्रति कुनै आपत्ति हुन नपर्ने उल्लेख गर्दै उनले जबरजस्ती, प्रलोभन वा भ्रम फैलाएर धर्म परिवर्तन गराउने कार्य रोक्नुपर्ने धारणा राखिन्।

उनले नेपालको संविधानको धारा २६ (३) मा धर्मान्तरण गराउन नपाइने व्यवस्था रहेको स्मरण गराउँदै त्यसको कार्यान्वयनमा जोड दिइन्।

प्रतिक्रिया