‘जेनजी डाक्टरलाई न्याय दे’ भन्दै युवा चिकित्सक माइतीघरमा प्रदर्शन


काठमाडौं- प्रशिक्षार्थी तथा युवा चिकित्सकहरूले ‘जेनजी सरकार, जेनजी डाक्टरलाई न्याय दे’ भन्ने नारासहित काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

श्रम अधिकार, पारिश्रमिक, बिदा, मानसिक स्वास्थ्य तथा चिकित्सा शिक्षासँग सम्बन्धित विषय समेट्दै उनीहरूले ७ बुँदे माग सार्वजनिक गरेका हुन्। प्रदर्शनमा सहभागी चिकित्सकहरूले प्रशिक्षणका क्रममा आफूहरू लामो समयसम्म काम गर्न बाध्य भएको, श्रम ऐनले सुनिश्चित गरेका सेवा–सुविधाबाट वञ्चित रहनुपरेको तथा अध्ययन र प्रशिक्षण अवधिमा विभिन्न कठिनाइ भोग्दै आएको गुनासो गरेका छन्।

उनीहरूले चिकित्सकमाथि भइरहेको श्रम शोषण अन्त्य गरी सुरक्षित, सम्मानजनक र व्यवस्थित कार्य वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। साथै, चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको तलब वृद्धिलाई तत्काल कार्यान्वयन गर्नुपर्ने उनीहरूको प्रमुख माग रहेको छ।

प्रदर्शनकारी चिकित्सकहरूले आवासीय चिकित्सकलाई अधिकृत आठौँ तहसरहको तलब आगामी साउन महिनादेखि उपलब्ध गराउनुपर्ने बताएका छन्। त्यस्तै, सातामा ४८ घण्टाभन्दा बढी काम गराइए श्रम ऐनअनुसार अतिरिक्त समयको भत्ता (ओभरटाइम) उपलब्ध गराउनुपर्ने माग पनि उनीहरूले अघि सारेका छन्।

चिकित्सकहरूको भनाइमा प्रशिक्षण र सेवा दुवै जिम्मेवारी निर्वाह गरिरहेका आवासीय तथा युवा चिकित्सकले उचित पारिश्रमिक, पर्याप्त विश्राम, बिदा तथा मानसिक स्वास्थ्यसम्बन्धी सहुलियत नपाउँदा सेवा प्रवाहसमेत प्रभावित हुने अवस्था सिर्जना भएको छ। त्यसैले चिकित्सकको श्रमको उचित मूल्यांकन गर्दै उनीहरूका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

प्रतिक्रिया