
इटाली क्रमशः एमाले भइगो : गोकुल बास्कोटा
काठमाडौं- विश्वकप फुटबलको माहोल नजिकिँदै जाँदा राजनीतिक नेताहरू पनि आफूले समर्थन गर्ने टोलीप्रति खुलेर अभिव्यक्ति दिन थालेका छन्। यसैक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले फुटबल र राजनीतिलाई जोड्दै गरेको टिप्पणी सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
बिहीबार फेसबुकमार्फत फ्रान्स, अर्जेन्टिना र स्पेनको जर्सी लगाएका तस्बिर सार्वजनिक गर्दै बास्कोटाले आफूले विगतदेखि समर्थन गर्दै आएका विश्वकप टोलीहरूको चर्चा गरेका छन्। साथै उनले विश्व फुटबलको शक्तिशाली टोली इटालीलाई नेकपा एमालेसँग तुलना गर्दै रोचक टिप्पणी गरेका छन्।
फेसबुकमा उनले लेखेका छन्, “विश्वकपको समूह चरण खास रोमाञ्चक नहोलान्, त्यसपछि मेरो रोजाइ यस्तै छ है यस पटक। सन् १९७६ देखि हेरेको धेरैजसोमा जर्मनी, इटाली, स्पेन र अर्जेन्टिना नै रोजियो। इटाली खै के भो, क्रमशः एमाले भइगो। यसपल्ट १, २, ३ यिनै हुन्। अरूका समर्थक रिसाउन पाइन्न। शकीराको दाइ, दाइ झन् रमाइलो। लौ त म पनि।”
बास्कोटाको ‘इटाली क्रमशः एमाले भइगो’ भन्ने अभिव्यक्तिलाई धेरैले एमालेको पछिल्लो राजनीतिक अवस्थासँग जोडेर हेरेका छन्। उक्त टिप्पणीलाई पार्टीको वर्तमान अवस्थाप्रतिको व्यंग्यात्मक आत्मसमीक्षा र राजनीतिक कटाक्षका रूपमा समेत व्याख्या गरिएको छ।
गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले प्रत्यक्षतर्फ अपेक्षाकृत कमजोर प्रदर्शन गर्दै जम्मा ९ सिटमा विजय हासिल गरेको थियो। उता विश्व फुटबलको चार पटकको विजेता इटाली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको थियो।
यिनै दुई अवस्थाबीच समानता खोज्दै बास्कोटाले हल्का शैलीमा व्यंग्यात्मक टिप्पणी गरेको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।



कागजपत्र |
