कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रैः शेखर सचिवालय


काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन पक्षबाट सहमतिका लागि कुनै पनि प्रस्ताव नआएको स्पष्ट पारेको छ ।

बाहिर चर्चामा आएजस्तो संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्ने दाबीमा कुनै सत्यता नभएको सचिवालयले जनाएको हो ।

डा. कोइरालाको सचिवालयले एक प्रेस नोट जारी गर्दै उक्त हल्लालाई ‘मनगढन्ते, कपोलकल्पित र भ्रामक’ भन्दै त्यस्तो सूचनाको भ्रममा नपर्न पार्टी पंक्ति र आम नागरिकलाई आग्रह गरेको छ ।

उक्त प्रस्तावबारे नेता कोइराला र उनको सचिवालयलाई अहिलेसम्म कतैबाट पनि कुनै जानकारी प्राप्त नभएको स्पष्ट पारिएको छ ।

पार्टीको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपश्चात संस्थापन र इतर समूहबीच खासै संवाद हुन नसकेको सचिवालयको दाबी छ ।

महाधिवेशनपछि नेता कोइराला र नेताद्वय प्रदीप पौडेल तथा कांग्रेस सभापति गगन थापाबीच मात्र दुई पटक भेटवार्ता भएको सचिवालयले कार्यतालिकासहित सार्वजनिक गरेको छ ।

सचिवालयका अनुसार गत २०८२ चैत २२ गते प्रदीप पौडेल र २०८३ वैशाख २२ गते सभापति गगन थापाले नेता कोइरालालाई उनको विशालनगरस्थित सचिवालयमै पुगेर भेटेका थिए ।

‘त्यसभन्दा पछाडि कोही कसैसँग कुनै पनि संवाद र सम्पर्क भएको छैन,’ कोइरालाको सचिवालयले स्पष्ट पारेको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसभित्र नयाँ समीकरणको कसरत भइरहेका बेला इतर समूहको यो स्पष्टीकरणलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

 

प्रतिक्रिया