तल्लो दर्जाका कर्मचारीहरुको मनोबल बढाउँदै नेपाल प्रहरी

कार्यालय सहयोगीमा जागिर खाएर सहयोगीबाटै अवकाश पाउनुपर्ने अवस्थाको अन्त्य!


काठमाडौं – नेपाल प्रहरीमा नियमावली संशोधन गरेर नयाँ पद सिर्जना गरिएको छ। प्रहरी नियमावली २०७१ को नवौं संशोधनमार्फत मन्त्रिपरिषद् बैठकले प्रहरीमा ७ वटा नयाँ पद थप गरेको छ। प्रहरी कार्यालय सहयोगीका ४ र जवानदेखि नायब निरीक्षक (सई)सम्म ३ वटा थप पद सिर्जना गरिएको हो।

तल्लो दर्जमा काम गर्ने कर्मचारीको मनोबल वृद्धिका लागि भन्दै वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हबल्दार र वरिष्ठ हबल्दार र कार्यालय सहयोगीका ४ वटा पद थपिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले जानकारी दिए।

एसएसपी कुँवरका अनुसार तल्लो दर्जाका कर्मचारीहरुको वृत्ति विकासमा देखिएको समस्यालाई समाधान गर्नेगरी कर्मचारीहरुको मनोबल उकास्न नेपाल प्रहरीले तीनवटा नयाँ पद थप्ने प्रस्ताव गरेको हो।

स्वीकृत भएको नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने एसएसपी कुँवरले बताए। उनले भने, ‘यो कार्यान्वयनमा आएसँगै प्रहरी नायब निरीक्षक (सई) र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को बीचमा वरिष्ठ सई तथा जवान र प्रहरी सहायक निरीक्षक (असई) को बीचमा सहायक हबल्दार र वरिष्ठ हबल्दार हुनेछन्।’

नेपाल प्रहरीमा सईबाट निरीक्षक तथा जवानबाट हबल्दारमा बढुवा हुन लामो समय लाग्ने गरेको थियो। जवानमा भर्ना भएका कतिपयले असईमा समेत नपुगी ३० वर्षे अवधि पुगेर अवकाश पाउने गरेका छन्।

सईबाट इन्स्पेक्टर तथा जवानबाट हबल्दार बढुवामा लामो समय लाग्ने भएपछि ३ वटा नयाँ पद सिर्जना गरिएको कुँवरको भनाइ छ। पद थपेपछि बढुवा समयमै हुने र तल्लो दर्जाका कर्मचारीको मनोबल पनि बढ्ने प्रवक्ता कुँवरले बताए।

प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवर।

एसएसपी कुँवरका अनुसार नयाँ पद सिर्जनापछि बढुवामा कुनै असर नपर्ने र माथिल्लो तहमा पद खाली हुँदा बरीयताक्रममा अघि रहेकाले स्वतः रिक्त पदमा बढुवाको अवसर पाउनेछन्।

यसअघि एउटै पदमा १२ वर्षसम्म बसेर अनिवार्य अवकाशमा जाने स्थिति रहे प्रहरी नायब उपरीक्षक (डिएसपी) तहसम्मका कर्मचारीलाई एक तह मानार्थ बढुवा दिने व्यवस्था थियो।

तर, त्यसमा संशोधन गर्दै सरकारले अब एउटै पदमा ८ वर्ष काम गरेर अनिवार्य अवकाशमा जानुपर्ने स्थिति आए एक महिना अगावै एक तह माथिको बढुवा दिइने व्यवस्था गरिएको कुँवरले बताए।

नयाँ पद थपिएपछि सईबाट ६ वर्षमा बरिष्ठ सई भएको र बरिष्ठ सई भएको २ वर्ष पूरा भएको अवस्थामा ८ वर्ष पूरा भएको व्यक्ति इन्स्पेक्टरमा स्वतः बढुवा हुनेछन्। ‘एउटै व्यक्ति सई र बरिष्ठ सईमा ८ वर्ष पूरा जागिर खाएको छ भनेसो व्यक्ति इन्स्पेक्टरमा बढुवा हन्छ,’ कुँवरले भने।

दज्र्यानी चिन्ह हेरफेर

यसअघि नेपाल प्रहरीमा सिपाहीदेखि नायब निरीक्षक (सई)सम्म चारवटा पद मात्रै थियो। थपिएको तीनवटा सँगै अब सातवटा भएको छ। सिपाही, हबल्दार, सहायक हबल्दार, बरिष्ठ हबल्दार, असई, सई र बरिष्ठ सई गरी सातवटा पुगेको छ।

थपिएको पदको दज्र्यानी चिन्ह समेत कस्तो हुने नेपाल प्रहरीले सार्वजनिक गरिसकेको छ। अहिले सईको दज्र्यानीमा २ वटा तारा रहेकामा अब तीनवटा तारा हुनेछ।

यस्तै हबल्दारको दज्र्यानीमा ‘एल’ आकारका तीन वटा संकेत रहेकामा अब वरिष्ठ हबल्दारमा अहिलेको संकेतमा एउटा ठाडो धर्को थपिनेछ भने सहायक हबलदारको दज्र्यानीमा एल आकारका दुईवटा धर्का रहने छ।

जागिर खाएको एउटै पदमा घर जानुपर्ने अवस्थाको अन्त्य

यस्तै प्रहरी सेवामा प्रवेश गरेका कार्यालय सहयोगी जुन पदमा प्रवेश गरेका हुन्, त्यहि पदबाट अवकाशमा जानुपर्ने अवस्था थियो। तर, नियमावली संशोधन भएसँगै अब एउटै पदमा घर जानुपर्ने अवस्थाको अन्त्य भएको छ।

प्रहरीभित्र खाना पकाउने, कपाल काट्ने, कपडा सिलाउने, जुता सिलाउने र सरसफाइ लगायतका काम गर्न परिचरको दरबन्दी छ। तर, यी दरबन्दीबाट बढुवा हुने व्यवस्था नै थिएन। ३० वर्षसम्म सेवा गरेको भएपनि उनीहरु परिचरकै रुपमा बाहिरिने गरेका थिए।

कार्यालय सहयोगी जुन पदमा प्रवेश गरेका हुन्, त्यही पदबाट अवकाशमा जानुपर्ने प्रावधान रहेकामा संशोधित नियमले बरीयताअनुसार श्रेणी विभाजन गरी प्रथमदेखि पञ्चमसम्म हुने व्यवस्था गरेको छ।

अब कार्यालय सहयोगीमा सेवा प्रवेश गरेका प्रहरी कर्मचारी अनिवार्य अवकाशसम्ममा निजामती सेवाको ‘सुब्बा’ तहसम्म बढुवा हुन सक्नेछन्। अवकाशमा गएपछि पनि उनीहरुले सुब्बा सरहको सेवासुविधा पाउने एसएसपी कुँवरले बताए।

प्रत्येक ६ वर्षमा स्वतः बढुवा हुनेगरी परिचर स्तरबाटै सुब्बा बराबरको तलब खानेसम्मका लागि नयाँ पदको सिर्जना गरिएको हो।

‘प्रहरीमा आकर्षण’

तल्लो दर्जाका कर्मचारीको मनोबल उकास्नेगरी थपिएको दरबन्दीसँगै नेपाल प्रहरीमा आकषर्ण बढ्नसक्ने अनुमान गरिएको छ। प्रहरीमा जागिरको अवधि पूरा नगरी बीचैमा राजीनामा गरेर जागिर छोड्ने बढेपनि अब त्यस्तो कम हुने एसएसपी कुँवर बताउँछन्।

‘सुरुदेखि नै संगठन प्रमुख आफैं तल्लो दर्जाको कर्मचारीको वृत्ति विकासको लागि दरबन्दी थप गर्ने पक्षमा हुनुहुन्थ्यो,’ एसएसपी कुँवरले भने, ‘यावत कुराहरुले गर्दा ढिलोचाँडो तल्लो दर्जाको कर्मचारीको पक्षमा एउटा राम्रो निर्णय भएको छ।’

यसअघिका प्रहरी महानिरीक्षक (आईजीपी) को पालामा पनि यो निर्णय गराउने प्रयास भए पनि सफल हुन सकेको थिएन। ‘तर, वर्तमान आईजी शैलेश थापा क्षेत्रीको कार्यकालमा भएको यो निर्णय एउटा ऐतिहासिक हो। तल्लो तहका कर्मचारीका लागि ऐतिहासिक हो,’ कुँवरको भनाइ छ।

बढुवामा तक्माको अंक गणना नहुने
यस्तै, अब प्रहरी बढुवामा विभूषणको नम्बर गणना नहुने भएको छ। यस्तो प्रावधानले विभूषणमै विकृति बढाएको भन्दै नियमावली संशोधन गर्दै नम्बर कटौती गरेर ज्येष्ठतामा थपिएको कुँवरले बताए।

हालको प्रावधानअनुसार बढुवाको सय पूर्णाङ्कमध्ये विभूषणबापत दुई नम्बर जोडिन्छ। जसमा सबैभन्दा धेरै नम्बर ल्याउनेहरू बढुवामा सिफारिस हुन्छन्। सयमध्ये ४० नम्बर कार्यसम्पादन मूल्यांकन र २० ज्येष्ठताका आधारमा तय हुन्छ।

नियमावली संशोधनपछि ज्येष्ठताबापत २२ नम्बर हुनेछ। जसअनुसार अब ज्येष्ठ प्रहरी अधिकृतहरू बढुवामा पर्ने सम्भावना धेरै हुन्छ। यस्तै, भौगोलिक क्षेत्रमा काम गरेको अनुभवका आधारमा आठ, शैक्षिक योग्यताबापत १०, तालिमबापत ७।५, चुनौतीपूर्ण तथा विशेष जिम्मेवारीबापत पाँच र बढुवा समितिले दिने ७.५ अंक हुन्छ।

जसलाई यथावत राखिएको छ।

प्रतिक्रिया