विद्वान् अधिवक्ताज्यूहरु, के चोलेन्द्र अन्तिम ‘भ्रष्ट’ न्यायाधीश हुन् ?
पछिल्लो समय नेपालको प्रमुख अंग मानिएको न्यायपालिका चरम विवादमा रुमल्लिएको छ । न्यायपालिकाको नेतृत्वमाथि मातहतका न्यायाधीश र सम्बद्ध संगठनहरु नै लागि परेका छन्, त्यो पनि भ्रष्टाचार गरेको जस्तो संगीन आरोपसहित ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेतृत्व गरेको नेपालको न्यायपालिकामा भ्रष्टाचार मौलाएको आरोप लगाइरहँदा आफूहरु कुन धरातलमा उभिएका छौं भन्ने कुराको ज्ञान उनैले तोकेको इजलासमा बसेर फैसला गरेका श्रीमान्हरुलाई हुनुपर्ने हो, विद्वान् अधिवक्ताज्यूहरुलाई हुनुपर्ने हो ।
हो, प्रधानन्यायाधीश राणाले कतिपय मुद्दाहरुमा प्रभावमा परेर फैसला गरे होला, तर ती सबै मुद्दामा उनी एक्लै इजलाशमा थिए कि संयुक्त वा पूर्ण इजलास थियो ? त्यसको प्रमाण, प्रमाणका आधारमा राय पेश गर्ने, फैसला र बहस गर्ने विद्वान्हरुसँग पक्कै होला । यदि त्यसो हो भने ‘दूधको दूध, पानीको पानी’ हुने गरी जनताको अदालतमा पेश गरिदिए चोलेन्द्र ‘भ्रष्ट’ भन्ने कुराको ज्ञान आम जनताले पाउने थिए ।
माननीयज्यूहरु अनि विद्वान्ज्यूहरुलाई त्यसको प्रमाण पेश गर्दा कतै आप्mनो संलग्नता पनि बाहिर आउँछ भन्ने कुराको डर भएको त होइन ? देशभरका २० हजारबढी कानुनव्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसन ‘रणमैदान’मा परिणत हुँदै गर्दा आएका अभिव्यक्तिहरुलाई कसरी मूल्यांकन गरिएको छ ? एउटा कानुन व्यवसायीले अर्को कानुन व्यवसायीलाई ‘दलाल’, ‘विचौलिया’को संज्ञा दिइरहँदा संगठनले के हेरेर बसिरहेको छ ? के आधारमा ती व्यवसायीले सहयोद्धा व्यवसायीमाथि त्यस्तो संगीन आरोप लगाइरहेका छन् ? त्यसको छानबिन र यथार्थता खोज्ने हिम्मत बार एशोसिएसनका नेतृत्वकर्ताहरुसँग छ ? त्यस्ता आरोपहरु लगाउन पाउने अधिकार ती कानुन व्यवसायीलाई आचारसंहिताले दिन्छ ? कि त्यस्ता आरोप सुनेर त्यतिकै छाडिदिने भन्ने आचारसंहितामा उल्लेख छ, प्रश्न यस्तै खडा हुन्छन् ।
कालोकोटमाथि ‘कालै’ पट्टी बाँधेर अदालत परिसरमा जुलुस निकालिरहँदा न्यायको आशामा अदालतको ढोका गुहारिरहेका व्यक्तिहरुमा कस्तो असर पर्छ, त्यस कुरामा ध्यान दिनुभएको छ ?
चोलेन्द्र शमशेरलाई ‘भ्रष्ट’ भन्दै राजीनामा माग्ने सहयात्री ‘माननीयज्यूहरु’ले आफू चोखो भएको प्रमाण कहाँ पेश गर्नुभएको छ ? नेपालको इतिहासमा २९ औं प्रधानन्यायाधीशका रुपमा २०७५ साल पुस १८ गते प्रधानन्यायाधीशमा नियुक्त भइरहँदा राणामाथि प्रश्न उठाउनेहरु शायद कतै थिए होला ।
आप्mनो पक्षमा फैसला गर्दा जय–जयकार गर्ने राजनीति दलका कार्यकर्ताहरुसँगै काँध मिलाएर नेतृत्वको उछितो काढ्न लागि पर्नुभएका माननीयज्यूहरुलाई थाहा नहुन सक्छ, ती कार्यकर्ता पनि नेतृत्वको निर्णयसँगै पुनः त्यही जय–जयकारविरुद्ध मैदानमा उत्रिन सक्छन् भन्ने ।
पछिल्लो समय नेपालको शासन व्यवस्था सञ्चालनमा न्यायपालिकाको भूमिका महत्वपूर्ण र निर्णायक बनेसँगै न्यायपालिकामाथि विभिन्न चलखेल हुन लागेको स्पष्ट हुन्छ । त्यसको पहिलो ‘प्रहार’ चोलन्द्रमाथि गरिएको छ । भोली यीनै र यस्तै मुद्दा आफूमाथि लाग्दा लगातार आन्दोलनमा जुट्ने सहास बार र माननीयज्यूहरुसँग छ ?
न्यायपालिकामाथिको अविश्वास आउने वातावरणको सिर्जना राजनीतिक दलले नै गरेका हुन् । त्यसको प्रत्यक्ष र एकमात्र जिम्मेवारी राजनीतिक दलले लिनुपर्दछ । भएको दुईतिहाई बहुमतलाई निहीत स्वार्थका कारण धरासायी बनाएर सत्ताबाट सडकमा पुग्न बाध्य भएको तीतो यथार्थलाई बदलाको भावमा परिणत गर्दै ‘संक्रमणकालीन’ अवस्थामा रहेको मुलुकलाई झन् दलदलमा फसाउन खोज्ने कार्यमा सहकार्य गर्न खोज्नु माननीय एवं विद्वान् मित्रहरुको सत्कर्म अवश्य होइन ।
माननीय न्यायाधीशहरुले भने जस्तै चोलेन्द्र भ्रष्ट नै हुन् भने कुन मुद्दामा कति भ्रष्टाचार गरे त्यसको जानकारी श्रीमान्ज्यूहरुलाई अवश्य नै होला । फेहरिस्त सार्वजनिक गरिदिए, जनतामाझ आफूहरु ‘चोखो’ सावित हुनुहुन्थ्यो होला । यति त्यसो गर्न सक्नुहुन्न भने विरोधका लागि आरोप र निहित स्वार्थका लागि इजलाश बहिस्कार गर्नु न्यायकर्मीको आचारसंहिता बाहिरको विषय हुनसक्छ ।
सँगै इजलाशमा बसेर गरिएको फैसलामा भ्रष्टाचार देख्ने श्रीमान्ज्यूहरु त्यस भ्रष्टाचारमा आफू संलग्न छैन भन्ने प्रमाण पेश गर्न सक्नुहुन्छ ? हो, नेतृत्वको फैसला मातहतकाले मान्नुपर्छ भन्ने अभिव्यक्ति हजुरहरुमा पैदा होला, तर, त्यो भन्दा पहिला तपाईंहरु पनि सम्झनुहोस्, एकैपटक सर्वोच्चमा न्यायाधीशको कुर्सीमा बस्नुभएको होइन, कहिँ न कतै तपाईंँले पनि नेतृत्व गरेरै आउनुभएको होला, चाहे त्यो, जिल्ला, पुनरावेदन वा विशेष अदालत होस् । त्यतिबेला आफूले के गर्नुभयो, त्यसको लेखाजोखा कसले गर्ने ? ‘सर्पको खुट्टा सर्पले नै देख्छ’ भन्ने नेपाली उखानलाई मनन् गर्ने हो भने राणाको भ्रष्टाचार बाहिरका आमजनमानसले भन्दा न्यायपालिकासँग जोडिएका तपाईंहरु जस्तैले देख्ने हो ।
विश्वमै सबैभन्दा भ्रष्ट क्षेत्र न्यायपालिका भनेर सार्वजनिक गरिने विभिन्न रिपोर्टहरुलाई सच्याउन सक्ने कुनै किसिमको कार्ययोजना तपाईंहरुले पेश गर्नसक्नुहुन्छ ? के चोलेन्द्रको बहिगर्मनसँगै न्यायपालिका, अदालत, न्यायक्षेत्र पूर्णरुपमा भ्रष्टाचारमुक्त र विचौलियामुक्त हुन सक्छ ?
माननीयज्यूहरुमा देशको पछिल्लो राजनीतिक घटनाक्रममा दुईतिहाईको बहुमत सडकमा र अल्पमतमा रहेकाहरु सत्तामा पुगेको देखेर आफूहरुलाई पनि न्यायपालिकाको नेतृत्वको ‘भोक’ जागेको हुनसक्छ, यदि त्यसो हो भने तपाईंहरु ढुक्क भए हुन्छ २०९२ सालसम्मका लागि तपाईंहरुको नेतृत्व ‘फिक्स्ड’ भईसकेको छ । न्यायपालिकाको नेतृत्व भोटका आधारमा चुनिने होइन भन्ने कुरामा आमजनताभन्दा तपाईँहरु नै जानकार हुनुपर्ने हो । राजनीतिको सिको गर्दै नेतृत्वको भोक देख्न थाल्नु भएको हो भने, छाड्नुस् अदालत परिसर, छाड्नुस् कालोकोट अनि आउनुस् माइतीघर मण्डला अनि थाल्नु राजनीति गर्न ।
राणाको पदावधिको उत्तराद्र्धसँगै राणामाथि आरोप लगाएर असहयोग गरिरहेकै बखत मुलुकभरका अदालतहरुलाई आन्दोलन थलोका रुपमा परिणत गर्ने नेपाल बार एशोसिएसनको उद्घोष कदापि स्वागतयोग्य र सकारात्मक छैन । देशभरका ९० भन्दा बढी अदालतहरुमा जुलुस निकालेर नियमित काम अवरुद्ध गरिरहँदा आम जनतामा कस्तो किसिमको प्रभाव पार्छ, त्यसको लेखाजोखा गर्नुभएको छ ?
नेपाल बार नेतृत्वको पहिलो चरणको आन्दोलनबाट कस्तो परिणाम पाउनु भयो बाहेक दुई कानुन व्यवसायीको बार परिसरको हानाहान र लात्तालात्ती बाहेक ? अनि दोस्रो चरणमा कस्तो परिणामको अपेक्षासहित देशभरका अदालतहरुलाई बन्दी बनाउने घोषणा गरिरहनुभएको छ ?
कालोकोटमाथि ‘कालै’ पट्टी बाँधेर अदालत परिसरमा जुलुस निकालिरहँदा न्यायको आशामा अदालतको ढोका गुहारिरहेका व्यक्तिहरुमा कस्तो असर पर्छ, त्यस कुरामा ध्यान दिनुभएको छ ?
हो, चोलेन्द्र शमशेरले गरेका कतिपय फैसलाहरुमा सबैलाई चित्त नबुझेको होला, त्यो हुन्छ अवश्य नै, तर उनको बहिर्गमनपछि आउने नेतृत्वले त्यसलाई पूर्ति गर्ने किसिमको कुनै किसिमको योजना तपाईंहरु समक्ष पेश गरेको छ ? कुनै न्यायाधीशहरुले चोलेन्द्रको अदालतको बाटो बन्द गरेर आप्mनो बाटोमा अहिलेजस्तै झन्झट नआईपर्ने ‘ग्यारेन्टी’ लिनुभएको छ ?
विश्वमै सबैभन्दा भ्रष्ट क्षेत्र न्यायपालिका भनेर सार्वजनिक गरिने विभिन्न रिपोर्टहरुलाई सच्याउन सक्ने कुनै किसिमको कार्ययोजना तपाईंहरुले पेश गर्नसक्नुहुन्छ ? के चोलेन्द्रको बहिगर्मनसँगै न्यायपालिका, अदालत, न्यायक्षेत्र पूर्णरुपमा भ्रष्टाचारमुक्त र विचौलियामुक्त हुन सक्छ ? के चोलेन्द्र अन्तिम भ्रष्ट व्यक्ति हुन्, जसको अन्त्यसँगै न्यायपालिकामा लाग्ने गरेको भ्रष्टाचारको दाग मेटिन्छ ? के चोलेन्द्र पछि आउने न्यायपालिकाको नेतृत्वसँगै तपाईंहरुले आन्दोलन गर्न पर्ने दिन सकिने हुन् ? यदि त्यसो हो भने, हाल्नुस् मुद्दा, बस्नुस् इजलाश, गर्नुस् फैसला अनि ठोक्नुस् गोली ।