

राजा महेन्द्र र डा. तुल्सी गिरि

भनिन्छ- माता र पिताको उमेर जोड्दा ३० वर्ष पुग्नुभन्दा अगाडि जन्मेका संतान कि बाँच्दैनन् यदि बाँची हाले भने तिनीहरु निकै मेधावी, तीक्ष्ण र तेजस्वी हुन्छन् । यस भनाईका ज्वलन्त उदाहरण हुन् श्री ५ महेन्द्र र डा.तुल्सी गिरि। राजा महेन्द्र जन्मिदा उनका पिता त्रिभुवन र माता कान्ति १४/१४ वर्षका थिए। तुल्सी गिरि जन्मिदा उनका पिता मन्दिप गिरि १६ वर्ष र माता ललिता गिरि १४ वर्षका थिए।
महेन्द्र-गिरिको विलक्षण जोडीले नेपाली इतिहासको धार फेर्ने मात्र होइन, आफ्नै देशको मौलिकता सुहाउँदो शासन व्यवस्था स्थापित गर्नुका साथै कुनै विदेशी वादको पछाडि नलागेर आफ्नै माटो सुहाउँदो पञ्चायत वादको अभिरेखांकन गरेका थिए।
डा. तुल्सी गिरि राजा महेन्द्रभन्दा ६ वर्ष कान्छा थिए।
आजको प्रसङ्ग डा. तुल्सी गिरिको हो।
डा. गिरि “पञ्चायतको जननी” भनेर चिनिन्छन्। राजा महेन्द्रले २०१७ साल पुस १ गते नयाँ राजनीतिक पाइला चाल्दा शुरुमा कुनै लामो योजना थिएन। कांग्रेसको भ्रष्ट सरकारलाई अपदस्थ गरि केही समय स्वतन्त्र सरकार चलाएर नयाँ निर्वाचन गरि पार्टीहरुलाई नै सत्ता सुम्पिने राजाको विचार थियो। तर यसो गर्दा शासन शैलीमा तात्विक भिन्नता आउन्न, सरकार र पार्टी फेर्नु भन्दा व्यवस्था नै फेर्न आवश्यक छ भनेर डा. गिरिले श्री ५ महेन्द्रलाई कन्भिन्स गरेका थिए।
त्यसपछि पञ्चायती व्यवस्थाले आकार ग्रहण गर्न थालेको हो।
कुनै पनि छिमेकी देशको खटनपटनमा नचल्ने, राष्ट्रियतालाई सर्वोपरी ठान्ने, दलीयतामा विभाजित नहुने, सामाजिक तथा साँस्कृतिक पाटो सनातन संस्कार अनुरुप चलाउने र अर्थतन्त्रलाई स्वदेशमुखी बनाउने नीति पञ्चायती व्यवस्थाले अँगालेको थियो।
राजा महेन्द्र र डा. तुल्सी गिरिले संगसंगै काम गरेको २०१७ देखि २०२१ सालसम्मको चार वर्षे कालखण्डमा देशले आफ्नो राजनीतिक, प्रशासनिक र आर्थिक विकासको जग निर्माण गरेको थियो।
तुल्सी गिरिले २३ वर्षकै उमेरमा भारतको दरभंगा मेडिकल कलेजबाट एमवीवीएस उत्तीर्ण गरेका थिए। पुर्व २ नं क्षेत्रबाट उनी २४ वर्षको उमेरमा राणाकालीन संसदको सदस्य पनि चुनिईसकेका थिए। संसदको सदस्य बनेर पहिलोपल्ट २००७ साल भाद्रमा संसदको अधिवेशनमा भाग लिन काठमाण्डु आएका डा. गिरिलाई राणाहरुको व्यवहारले निकै आहत बनायो। उनी संसदको पद त्यागेर कांग्रेसको आन्दोलनमा होमिए।
उनका पिताले दरभंगामा घर र पटनामा होटेल खोलेका थिए। २००७ सालको क्रान्तिको बेलामा नेपाली कांग्रेसका कार्यकर्ताहरुको आश्रयस्थल बनेको थियो त्यो घर र होटेल। २००७ सालको क्रान्तिलाई ठूलो आर्थिक सहयोग गरेको गुन स्वरुप उनको परिवारका एउटा न एउटा सदस्य कांग्रेसको केन्द्रीय समितिमा राखिएकै हुन्थे।
एमवीवीएस पढेको व्यक्ति भएर पनि विश्व राजनीतिको गहन ज्ञान भएका डा. तुल्सी गिरि वीपीको आँखामा परे। डा. गिरिले स्वयम् भनेका थिए – “हुन त म कोइराला दाजुभाइको चतूर राजनीतिभन्दा टंकप्रसाद आचार्यको त्याग, डा.केआई सिंहको साहस र डा. डिल्लिरमण रेग्मीको विद्यताबाट प्रभावित थिएँ, तर मेरो परिवारले धेरै पसिना बगाइसकेको हुनाले काँग्रेसमा लाग्नु मेरो रुचिभन्दा पनि मेरो अधिकार बन्यो”।
त्यतिखेर वीपी आफ्नो पार्टीका दिग्गजहरुलाई पाखा लगाउन युवाहरुलाई समेटेर आफ्नो बलियो गुट बनाउने दाउमा थिए। डा.गिरिजस्ता युवाहरुलाई उनले पार्टीमा महत्व दिए।
डा.गिरि सडक अन्दोलन र नाराजुलुशभन्दा विमर्श, बौद्धिक छलफल र सैद्धान्तिक अन्तरक्रिया गर्न मन पराउँथे। उनी काँग्रेसलाई अरु पार्टीभन्दा फरक देखाउन समाजवादको नीति अँगाल्नु पर्ने कुरामा जोड दिन थाले । त्यतिखेर कांग्रेसमा बौद्धिक चिन्तनमनन गर्ने व्यक्तिहरु पनि धेरै थिएनन्। २०१२ सालको कांग्रेसको वीरगञ्ज महाधिवेशनमा कांग्रेसले समाजवादी नीति अंगिकार गर्नु पर्ने प्रस्ताव डा. गिरिले नै राखेका हुन्। सो प्रस्ताव पारित भएपछि काँग्रेस समाजवादी दल बन्न पुगेको हो। सोही महाधिवेसनमा डा.गिरि कांग्रेसको महामन्त्री पनि छानिए। त्यतिखेर उनी २९ वर्षका मात्र थिए। बिस्तारै त्यही समाजवाद वीपी र डा.गिरिको बीचमा फाटो ल्याउने कारण बन्यो। वीपी पूर्णत: नास्तिक र भौतिकवादी थिए। उनमा हिन्दु धर्म र राजसंस्थाप्रति हृदयदेखि आस्था थिएन। उनी हिन्दुराष्ट्रलाई झेली हो भन्थे र राजालाई भारत र कम्युनिस्टलाई तह लगाउने ढालको रुपमा प्रयोग गर्नमात्रै चाहन्थे। आफू बलियो नहुँदासम्म र सेनामा आफ्नो पकड नहुँदासम्म राजालाई फकाएर, थुम्थुम्याएर राख्ने रणनीति थियो वीपीको । तर तुल्सी गिरिमा राजसंस्था र हिन्दु राष्ट्रप्रति हृदयदेखि नै आस्था थियो।
वीपी पूर्णत: अर्धसाम्यवादीजस्तो समाजवादी बन्नु पर्ने कुरामा जोड दिन्थे। डा. गिरि भने समाजवादलाई आर्थिक र कृषि नीतिको आधारमात्र बनाउनु पर्ने, राष्ट्रियता र सामाजिक कार्यक्रमहरु हाम्रै मौलिक सनातन मूल्यमान्यतामा आधारित भएर सञ्चालित गर्नुपर्ने कुरामा जोड दिन्थे।
महाधिवेसनमा डा.गिरि कांग्रेसको महामन्त्री पनि छानिए। त्यतिखेर उनी २९ वर्षका मात्र थिए। बिस्तारै त्यही समाजवाद वीपी र डा.गिरिको बीचमा फाटो ल्याउने कारण बन्यो। वीपी पूर्णत: नास्तिक र भौतिकवादी थिए।
डा.गिरि २०१५ सालको निर्वाचनमा आफू उम्मेदवार भएनन्। आफ्नो पार्टीलाई जिताउनमा खटिए। कांग्रेसले दुई तिहाई बहुमत ल्याएपछि २०१६ साल असारमा उनलाई संसदको माथिल्लो सदनको सदस्य बनाइयो। वीपीले शुरुमा उनलाई आफ्नो मन्त्रीमण्डलमा परराष्ट्र उपमन्त्री र एक महिनापछि परराष्ट्रमन्त्री बनाएका थिए।
त्यो बेला कांग्रेसभित्र कोइराला परिवार र गैरकोइरालाहरुको बीचमा ठूलो प्रतिष्पर्धा थियो। ३३ वर्षका युवा गिरिलाई परराष्ट्रमन्त्री बनाएपछि कोइराला मन्डली र पुराना कांग्रेसीहरुले असन्तुष्टी देखाउन थाले। वीपीले विवाद समाधानको नाममा डा. गिरिलाई ग्रामिण विकास मन्त्रालयमा सारे। डा. गिरिले यसलाई आफ्नो अपमान ठाने र अन्तत: कांग्रेस पार्टीनै त्यागे।
२०१७ साल पुस १२ गते राजा महेन्द्रले गठन गरेको मन्त्रीपरिषदमा डा. गिरिलाई परराष्ट्र, रक्षा, राजदरवार सम्बन्धी, सञ्चार र जलविद्युत मन्त्रालयको जिम्मेवारी दिएर वरिष्ठतम् मन्त्री बनाए। २०१९ असार १८ गते उनले मन्त्रीपरिषदको उपाध्यक्षको जिम्मेवारी पाए । २०१९ साल पुसमा निर्दलीय पञ्चायती संविधान घोषणा भएपछि राष्ट्रिय पञ्चायतको चुनाव भयो। डा.गिरि धनुषाबाट निर्वाचित भएर आए । २०१९ साल चैत्र २० गते उनलाई मन्त्रीपरिषदको अध्यक्ष बनाईयो। ३६ वर्षको उमेरमा मन्त्रीपरिषदको अध्यक्ष बनेका गिरिले २००७ सालपछि सबैभन्दा कम उमेरमा सरकारको नेतृत्व गरेको कीर्तिमान कोरे।
डा. गिरिले कांग्रेसमा हुँदा गर्न नसकेका काम पञ्चायतमा आएपछि गएर देखाईदिए। उनी २०१५ साल मैं संविधानमा हिन्दुराष्ट्र लेख्न चाहन्थे तर वीपी र सुवर्णले विरोध गरेकोले त्यो बेला लेख्न सकिएन।२०१९ सालको संविधानमा डा.गिरि, डा. नागेश्वर प्रसाद सिंह, खड्गबहादुर सिंह, वेदानन्द झाहरुको सत्प्रयासले पहिलोपल्ट संविधानमा हिन्दुराष्ट्र लेखियो।
तुल्सी गिरिका बाजे कुल्दीप गिरिले व्यापार गरेर सिराहा र धनुषामा ४२०० विगाहा जग्गा जोडेका थिए। त्यत्रो जिमिन्दारको परिवारको सदस्य भएर पनि डा.गिरिले आफू सत्तामा रहँदा भुमिसुधार लागू गरेर २८ बिगाहको हदबन्दी तोके। मुलुकी ऐन र छुवाछुतको अन्त्य जस्ता सामाजिक सुधार उनकै पालामा भयो।
तुल्सी गिरि जुन भूमिकामा पनि पूर्ण र सफल हुने व्यक्ति हुन् । वीपी र राजा महेन्द्रको निकट रहेर पनि उनीहरुसंग बहस, विवाद र प्रतिवाद गर्न सक्ने हैसियत उनमा थियो। वीपी र राजासंग उनको व्यक्तिगत कारणले नभएर वैचारिक कारणले नै निकटता भयो र वैचारिक कारणले फाटो आयो।
वीपीले यो राष्ट्रको सांस्कृतिक र सामाजिक विशिष्टताको महत्वलाई उजागर गर्न अरुचि देखाउँदा, पार्टीभित्र परिवारवाद हावी गर्दा र दक्षिणको छिमेकीसंग चोचोमोचो मिलाई रहँदा गिरिले त्यस प्रवृत्तिको विरोध गरेका थिए ।
पञ्चायत व्यवस्था आएपछि राजा महेन्द्रले दरवारका भाइभारादारलाई पूर्ण रुपमा नियंत्रण गर्न नसक्दा र २०२३ सालमा संविधान संशोधन गरि पञ्चायतको मूल आत्मा भताभुंग पारेको भनेर डा. गिरिले राजा महेन्द्रसंग पनि असहमति जनाएका थिए। कुनै पनि आन्दोलनमा जेल नपरेका डा. गिरि राजासामु असहमति देखाउँदा आफैले ल्याएको पञ्चायत व्यवस्थामा पहिलो पल्ट जेल परेका थिए।
राजा वीरेन्द्रसंग पनि पञ्चायतको स्वरुप बदल्ने, नबदल्ने विषयमा उनको धेरै कुरामा मत भिन्नता हुन लाग्यो। डा. गिरि दरवारका सचिव, भाइभारादार र चिन्तनशील चरित्र नभएका पञ्चहरुलाई टेर्दैन थिए। चाकडीको भरमा टिकेको राजनीतिको दलदलमा चिन्तनशील राजनीति गर्न मन पराउने डा. गिरि नेपालको राजनीतिमा एक्लो बृहस्पति बन्न पुगे। २०३४ साल भाद्रमा प्रधानमन्त्री पदबाट राजिनामा दिए।
श्री ५ वीरेन्द्रले राजा भएपछि डा. गिरिलाई प्रधानमन्त्री बन्ने प्रस्ताव राखेका थिए। तर उनले संविधान संशोधन गरि गाउँफर्क राष्ट्रिय अभियानको कार्यक्रमलाई राजनीतिको केन्द्रमा राख्नु पर्ने शर्त राखे। अन्तत: डा. गिरिले भने अनुरुप संविधान संशोधन भएपछि मात्र २०३२ साल मंसिरमा उनी दोस्रो पटक प्रधानमन्त्री बनाईए।
राजा वीरेन्द्रसंग पनि पञ्चायतको स्वरुप बदल्ने, नबदल्ने विषयमा उनको धेरै कुरामा मत भिन्नता हुन लाग्यो। डा. गिरि दरवारका सचिव, भाइभारादार र चिन्तनशील चरित्र नभएका पञ्चहरुलाई टेर्दैन थिए। चाकडीको भरमा टिकेको राजनीतिको दलदलमा चिन्तनशील राजनीति गर्न मन पराउने डा. गिरि नेपालको राजनीतिमा एक्लो बृहस्पति बन्न पुगे। २०३४ साल भाद्रमा प्रधानमन्त्री पदबाट राजिनामा दिए।
पञ्चायतको उत्तरार्धमा डा.गिरि राजनीतिबाट संन्यास लिएर २०४२ सालमा श्रीलंका पुगे। तैपनि राजनीतिले उनलाई छोडेन। १९ वर्षपछि २०६१ सालमा नेपाल बोलाएर नयाँ राजा ज्ञानेन्द्रले उनलाई मन्त्रीपरिषदको उपाध्यक्ष बनाए।
त्यतिखेर छोडेर गएको राजनीतिमा फेरि किन हात हाल्नु भएको भनेर पत्रकार जीवराम भन्डारीले सोद्धा उनले भनेका थिए- “मैले मेरो रुचि अभिरुचि २०१७ सालमैं राजालाई सुम्पिसकेको छु। यो देशको राजनीतिमा राजाबाहेक मेरो आफ्नो भन्नू अरु कोही छैन। राजालाई असजिलो परेको बेलामा म साथ दिनको निम्ति आएको हुँ”।
तर राजा ज्ञानेन्द्रको पालामा पनि राजालाई घेर्नेहरुको भीडसंग उनको मनमुटाव चलिरह्यो। “राजाले मेरा कुरै सुनेनन्” भनेर उनले गुनासो गरि रहे पनि अन्तिम समयसम्म उनले राजाको साथ भने छोडेनन्।
राजनीतिको विरोध र मत भिन्नता आफ्नो ठाउँमा छ तर उनीसंग काम गरेका हरेक मान्छेले गिरिको प्रखर, मेधावी र बौद्धिक व्यक्तित्वको प्रशंसा भने गरेका छन्।
केही मान्छे डा. गिरिले नेपालमा ईसाई धर्मलाई बलियो बनाउन भूमिका खेलेको आरोप लगाउँछन्। यो असत्य आरोप हो। बास्तवमा उनले हिन्दुप्रति द्वेष वा ईसाईप्रति अनुराग भएर ईसाई धर्म अँगालेका हैनन्। आफ्नो प्रेमिका (पत्नी) प्रतिको समर्पणभावले मात्रै प्रेमिकाको धर्म अँगालेका हुन्। २०३४ सालमा दार्जलिङबाट आएकी निकै प्रभावशाली र स्मार्ट युवती साराह योञ्जनसंग प्रेमविवाह गर्दा उनी ईसाई नभएर मुस्लिम हुन्थिन् भने डा. गिरिले मुस्लिम धर्मनै अँगाल्थे, उनी यहुदी हुन्थिन् भने यहुदी धर्म नै अँगाल्थे। त्यो प्रेमप्रतिको समर्पण र त्याग मात्रै हो। उनी प्रेमिका यदि बौद्ध या जैन हुन्थिन् भने डा. गिरि त्यतिखेर बौद्ध र जैन नै हुन्थे। यो उनको धर्मान्तरणको रणनीति होइन, प्रेमिकाप्रतिको समर्पण मात्र हो।
त्यतिखेर एउटा पत्रिकाले लेखेको थियो – “आफ्नो प्रेमिकाको निम्ति राजसिंहासन त्याग्ने राजा त धेरै देखिएका थिए, आफ्नो प्रेमिकाको खुसीको निम्ति प्रेमिकाकै धर्म अँगालेर खुसी पार्ने प्रधानमन्त्री भने डा. तुल्सी गिरिमात्रै देखिए” ।
सन् १९२६ को सेप्टेम्बर २६ तारिख (१९८३ साल असोज) मा सिराहा जिल्लाको बस्तिपुरमा जन्मेका डा. गिरि बाँचिरहेका भए आज ९५ वर्षका पुग्ने थिए। तर २०७५ साल पुसमा उनको देहान्त भयो।
आज उनको ९६ औँ जन्म जयन्ति हो ।
पञ्चायतका जननी डा. तुल्सी गिरिमा हार्दिक श्रद्धान्जलि

