एमसीसीविरुद्ध आखिर किन बर्बराउँछन् सूर्यराजहरू?


बरिष्ठ पत्रकार कनकमणि दिक्षितको एउटा आलेख पढेपछि मनमा अनेक प्रश्नहरू घनचक्कर भए। ‘नेपालखबर’ डिजिटल पत्रिकामा दिक्षितको ‘अमेरिकालाई होइन, नेपालीलाई चाहिन्छ एमसीसी’ भन्ने शीर्षकमा प्रकाशित लेखेको पहिलो हरफमा भनिएको छ,‘कोरोना महामारीको मन्दीबीच नेपाली अर्थतन्त्रका लागि यो राम्रो सौगात हो। र, यसलाई भित्राउने सम्झौता संसदीय अनुमोदनसहित पारित नगर्नु मूर्खता हुनेछ, विदेशीले हेर्दा नेपालका शासक र विचार निर्माणकर्ता अकर्मण्य र आम नागरिकप्रति अनुत्तरदायी देखिनेछन्। सत्ता चलाउनेहरूको राज्यविरुद्धको चोट हुनेछ।’

यो हरफले चिमोट्छ। मलाई स्मरण छ दिक्षितविरुद्ध एमसीसीको रकम लिएको एउटा फेक डकुमेन्ट आएपछि साइबर व्युरोमा उजुरी परेको छ। तर, त्यो डकुमेन्ट फेक कसरी भयो? भन्ने प्रश्नचाहिँ दिक्षितको एमसीसी पक्षधर आलेखका कारण सोचनिय बनाउँछ। यद्यपि, विषयबस्तुको केन्द्रीयता डकुमेन्ट होइन।

दिक्षितलगायत यसको पक्षमा वकालत गर्नेहरूलाई सामान्य प्रश्नचाहिँ कोर्न मन लाग्यो। यसमा लेखक अरुण सुवेदि हुन् या अन्य सीमित व्यक्ति जो एमसीसीको वकालत गरिरहेका छन्, समग्रतामा प्रश्न सोधिनेछ।

नेपालमा अहिले राजनीतिसँग जोडिएको गैरराजनीतिक दिग्गजहरूले पनि चासो दिएको विषय हो, मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)। यसले विद्वान वर्गमा बहसको स्वरुप लिएको छ भने राजनीतिक दलभित्र पक्ष र विपक्षको ‘खेल’लाई सतहमा ल्याएको छ। ‘नो एमसीसी’ भन्ने नाराहरू सडकमा छन्, यसलाई पास गराउने खेलका राजनीतिक अनुहारहरू सत्ता र विपक्षमा पनि छन्। यो विवादमा छ।

एमसीसीभित्रका ‘कन्टेन्ट’हरू बारेमा उतिसाह्रो ज्ञान छैन। तर, त्यो कन्टेन्टले सामाजिक सञ्जालदेखि सदनसम्म हल्लिरहँदा प्रश्नहरू स्वभाविक बनि यो आलेखको जन्म भएको छ। खासमा यसलाई टिप्पणीका रुपमा बुझिदिनुहुन आदरणीय पाठहरूसँग अनुरोध छ। केबल सतहमा देखिएका विविध चित्रमाथि अन्वेषण गरी प्रश्नहरू सोध्न मन छ यहिँ भित्रका अनेक पात्रहरूसँग।

एमसीसीबारे सत्तारुढ गठबन्धनमा दुईथरी विचार छन्। नेपाली कांग्रेस यसलाई पारित गराउन चहान्छ। माओवादी केन्द्र र माधवकुमार नेपाललगायतकाहरू परिमार्जनसहित पारित भनी मध्यविन्दुमा उभिएका छन्। तर, एमसीसीले भनिसकेको छ परिमार्जन हुँदैन। यस हिसाबमा माओवादीलगायतको शक्ति अब एमसीसीको पक्षमा रहँदैन। यसबारे मिहिन अध्ययन गरेका माओवादी स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने सार्वजनिक धारणा राख्दै आएका छन्। उनी जत्तिका मानिसले राखेको यो धारणा अर्थपूर्ण छैन होला त?

राजनीतिक नाफा नोक्सानमा उपयोग गरियो, एक हिसाबले गिजोलियो। र, यो काम राजनीतिक दल, ति दलभित्रका बौद्धिक भनिने पात्रहरुबाट पनि भयो। सत्ताको विरोध गर्दा एमसीसीविरुद्ध नाराबाजी गर्दा किन रोकिन्छन् कार्यकर्ता? त्यस्तो सभा र विरोधबाट किन उम्किन्छन्, भाग्छन् नेताहरू? यो विषयमा अझ गहिरोगरी मन्थन गर्नुपर्दैन र? यी प्रश्नहरू जायज छन्।

प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली एमसीसीका पक्षमा छन्। यसको उदाहरण उनी प्रधानमन्त्री हुँदा सदनमा पेस गराउने प्रयत्न नै थियो। फेरि सोही पार्टीका उपाध्यक्ष भिम रावल यसको खरो विरोधमा छन्। उनी तत्कालिन नेकपामा एमसीसी पास गराउनका लागि बनेको कार्यदलका सदस्य थिए, जसले परिमार्जन अनिवार्य रहेको प्रतिवेदन बुझाएको थियो। यत्रो कार्यदल बनाई अध्ययन गरेका रावलले विरोध गरेको विषयमा घोत्लिनु आवश्यक छैन होला त?

राजनीतिमा कुनै चासो नभएका प्राध्यापन पेशामा सफल डा. सूर्यराज आचार्य जस्ता दिग्गजहरूले एमसीसीका उद्देश्यसहितका व्याख्या गर्दै पारित गर्न नहुने सुझाव दिएका छन्। आम र तल्लो तहसम्मका जनतामा पुग्नेगरी मिडिया मार्फत उनीहरू भनिरहेका छन्, यो नेपालको हितानुकुल छैन। आखिर को हुन् उनीहरू? किन भनिरहेका छन्? किन बर्बराइरहेका छन्? के उनीहरू सत्ता लाभको कुनै स्वार्थमा छन्? यस विषयमा मिहिन ढंगले सर्वव्यापी, सर्वदलीय, गोलमेच सम्मेलन गरी बुँदा–बुँदामा अध्ययन गर्न आवश्यक छैन र?

सडकमा एमसीसीविरुद्धका कयौं सभा भइसके, कतिपय हुन बाँकी छ। यसको विरोध गरेकै भरमा कानुनकर्मी स्वागत नेपालहरूलाई हत्कडी लगाएर थुनियो। वकिल जस्तो पेशामा सबल भइरहेका स्वागत नेपालहरू किन थुनिनुपरेको छ, लोकतन्त्रमा? एमसीसीको विरोधमा बोल्दा मात्रै थुनिनुपर्ने आखिर कस्तो सम्झौता हो? तल्लो तहसम्म बहस हुनु पर्दैन र?

राजनीतिक नाफा नोक्सानमा उपयोग गरियो, एक हिसाबले गिजोलियो। र, यो काम राजनीतिक दल, ति दलभित्रका बौद्धिक भनिने पात्रहरुबाट पनि भयो। सत्ताको विरोध गर्दा एमसीसीविरुद्ध नाराबाजी गर्दा किन रोकिन्छन् कार्यकर्ता? त्यस्तो सभा र विरोधबाट किन उम्किन्छन्, भाग्छन् नेताहरू? यो विषयमा अझ गहिरोगरी मन्थन गर्नुपर्दैन र? यी प्रश्नहरू जायज छन्।

एकथरी मिडिया अब एमसीसीका प्रचारबाजीमा लागेका छन्। जम्मा ५० अर्बको यो परियोजनाले नेपालको केन्द्रीय राजनीतिक नै हल्लाउँछ, सत्ता गिराउँछ, उठाउँछ भने यसभित्रका कुत्सित उद्देश्य र चाहना के छन्? कसले किन राखिरहेका छन्? यस विषयमा बहस हुन आवश्यक छैन र?

दिक्षितजस्ता बरिष्ठ पत्रकारले एमसीसी ठिक हो कि बेठिक भन्ने पक्षकारितामा होइन यी प्रश्नहरूमा घोत्लिनुपर्छ। एउटा आलेख कुनै ट्वीटको सीमित शव्द होइन। एमसीसी सम्झौता सदनमा पारित गर्ने या नगर्ने भन्ने बहसकाबीच नै यति विवादीत भएको छ। पक्ष र विपक्षमा सडकमा समेत प्रदर्शन सुरु हुँदा यो विषय र यसभित्रका उद्देश्यबारे पत्रकारले जनतामाझ बुझाउनुपर्छ भन्ने नै तर्क हुनसक्छ। अन्यथा उत्तर खोज्नुपर्छ– डा. सूर्यराज आचार्यहरू किन बर्बराइरहेका छन्?

प्रतिक्रिया