सैनिक अदालत पुग्यो ढकालको मुद्दाः जेलमा रहेका दुई निर्दोष सिपाहीको भाग्य फैसलामा
काठमाडौं– हतियार चोरीको आरोपमा सेनाको नियन्त्रणमा रहेका सिपाही गंगाधर ढकालको मुद्दामा सैनिक अदालत फैसला गर्दैछ। सैनिक स्रोतका अनुसार सम्भवतः आज बेलुकासम्म फैसला आउनेछ।
सेनाले ‘कोर्टमार्सल’ गरी अदालतमा ढकालको मुद्दा पेस गरेको छ। दोषी ठहर गरेमा ढकाल पूर्पक्षको लागि जेल चलान हुनेछन्। विगत एक हप्तादेखि ढकालसँग सेनाले बयान लिने काम गरिरहेको थियो। स्रोतका अनुसार सेनासँगको बयानमा पनि ढकालले आफूले नै हतियार चोरी गरेको बताएका छन्।
‘कोर्टमार्सलले हतियार चोरी र हत्या आरोपमा गंगाधरलाई जेल सजाय तोक्न पेशीअनुसार फैसला भएमा अढाई वर्षदेखि जेलमा रहेका दुई सैनिकहरु निर्दोष रहेको पुष्टि हुन्छन्,’ नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने।
४ पुस २०७५ मा गणबाट गणबाट ‘स्टर्लिङ ९ एमएम एनकेआर १००७९२’ नम्बरको सर्ट मेसिन गन (एसएमजी) हराएको थियो। सिपाही ढकालले ४ पुस २०७५ को गणको कोतबाट एसएमजी हतियार चोरी गरेको बयान प्रहरीसमक्ष पनि दिएका थिए।
सोही हतियार चोरीको आरोपमा उदयपुरका लबकुमार गुरुङ र मोरङका सरोज तामाङ अढाई वर्षदेखि चितवन कारागारमा जेल जीवन बिताइरहेका छन्। तर, त्यतिबेला हराएको भनिएको हतियार ७ साउनमा ढकालको साथबाट बरामद भएपछि थप रहस्य खुलेको हो।
६ वैशाख २०७६ मा अदालतका तत्कालिन अध्यक्ष सहायक रथी सहदेव खड्काले उनीहरुलाई दोषी ठहर गरी लबकुमारलाई १० वर्ष र सरोज तामाङलाई ७ वर्ष जेल सजाय तोकिएको थियो।
सिपाही ढकालको मुद्दा फैसला हुनासाथ सैनिक अदालतको निर्देशनमा भएको फैसलालाई पुनरावेदनको लागि पठाउने तयारी समेत भइरहेको सैनिक स्रोतले बतायो।
‘आज फैसला भयो भने भोलि नै पुनरावेदनमा फाइल पठाउँछौं,’ सेनाका एक अधिकारीले अनलाइनन्यूजसँग भने, ‘त्यसपछि पुनरावेदन बसेर छिनोफाने गर्नेछ। जहाँसम्म भोलि यो केस टुंगिन्छ होला।’
७ साउनमा ढकालले चोरीको एसएमजीले साथी भरत गुरुङको हत्या गरेका थिए। गुरुङको हत्यापछि गणबाट हराएको भनिएको हतियार ढकालको साथबाट फेला परेपछि जेलमा रहेका उनीहरू निर्दोष रहेको पुष्टि हुन्छ।