चितवन सैनिक हत्या प्रकरणः अदालतमा दायर गरेको अभियोगपत्रमा गंगाधरका बुवाले दिए यस्तो बयान


काठमाडौं – अभियुक्त गंगाधरले ढकालले आफ्नै साथी नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या गर्नुको कारणहरु खुलाइसकेका छन्। गुरुङको बैंक खाताबाट ९ लाख रुपैयाँ झिकेपछि थाहा पाउने डरले हत्या गरेको ढकालले जिल्ला अदालत चितवनमा बयान दिएका छन्।

ढकालले गुरुङको बैंक खाताबाट निकालेको ९ लाखमध्ये २ लाख बुबा नरेन्द्रराज ढकाललाई समेत दिएको बयान दिएका छन्। बाँकी ७ लाखमध्ये ६ लाख श्रीमतीलाई दिएको र १ लाख आफूले राखेको जिल्ला अदालत चितवनको बयानमा उल्लेख छ।

यसै विषयमा गंगाधरका बुबा नरेन्द्रराज ढकालले आफूलाई २ लाख रुपैयाँ छोराले दिएको स्वीकारेका छन्। चितवन प्रहरीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम चितवन अदालतमा दायर गरेको अभियोगपत्रमा नरेन्द्रराज ढकालले सो कुरा खुलाएका हुन्।

ढकालले आफूलाई छोराले साउन ३ गते रातीको समयमा २ लाख दिएको कुरा बयानमा भनेका छन्। ‘सोही दिन आफन्तको विवाहमा गएको थिएँ। विवाहको कार्यक्रम समेर घर आउँदा छोरा घर आएको रहेछ। त्यहि बेला छोरासँग भेट भयो, अनि छोराले मलाई प्लाष्टिकको झोलामा प्याक गरेको अवस्थामा २ लाख दिएको हो,’ बयानमा खुलाएका छन्।

बयानका क्रममा ढकालले भने, ‘मृतक भरत गुरुङलाई मैले चिन्दिन। त्यसपछि छोरासँग अन्य कुरा भएन।’

भोलिपल्ट खेतमा रोपाइँ भएकाले छोरा पनि रोपाइमा गएको उनले बयानमा भनेका छन्। ‘भोलिपल्ट ०४ गते मेरो खेतमा रोपाई भएकालेले छोरा, म तथा मेरो परिवार रोपाईमा व्यस्त भयौं। छोरा गंगाधर ढकाल धेरै नबोल्ने, र म सँग पनि धेरै नबोल्ने हुँदा अन्य केही कुरा भएन। दिनभरको थकाईको कारण बेलुका खाना खाने बित्तिकै म सुतें,’ उनले भने।

नरेन्द्रराज ढकालको बयानको पूर्णपाठ (गंगाधर ढकालको बुबा)

हाल पक्राउमा परेका गंगाधर ढकाल मेरो छोरा हुन्। निज नेपाली सेनाका कार्यरत थिए। मृतक भरत गुरुङलाई मैले चिन्दिन। २०७८/०४/०३ गते बिहान म आफ्नै घरमा थिएँ। उक्त दिन मेरो आफन्तको बिबाह भएकोले दिउँसो न जगपुरमा गएको थिएँ, उक्त राती करिब २०ः०० बजेको समयमा बिबाहको कार्यक्रम सकी म घरमा जाँदा मेरो छोरा गंगाधर ढकाल घरमा आएका रहेछन्।

छोरासँग भेट भयो, छोराले मलाई प्लाष्टिकको झोलामा प्याक गरेको अवस्थामा रहेको पैसा मलाई दिए, रु २,००,०००/– (दुई लाख) छ राख्नु भनी छोरा घरको भुइँ तलामा गए, मलाई थकाई लागेको हुँदा म सुतें।

भोलिपल्ट ०४ गते मेरो खेतमा रोपाई भएकालेले छोरा, म तथा मेरो परिवार रोपाईमा व्यस्त भयौं। छोरा गंगाधर ढकाल धेरै नबोल्ने, र म सँग पनि धेरै नबोल्ने हुँदा अन्य केही कुरा भएन। दिनभरको थकाईको कारण बेलुका खाना खाने बित्तिकै म सुतें।

मिति २०७८/०४/०५ गते पनि रोपाई थियो, म खेततिर लागे, छोरा कार्यरत ब्यारेकबाट फोन आयो भनी बिहानै घरबाट निस्की गएछन्। मिति २०७८/०४/०७ गते साँझको समयमा मेरो छोरा गंगाधर ढकालले निजसँगै ब्यारेकमा कार्यरत भरत गुरुङलाई गोली प्रहार गरी हत्या गरको भन्ने थाहा पाएको हुँ।

छोरा गंगाधर ढकालले मृतक भरत गुरुङको चेकमा आफैंले दस्तखत गरी जिल्ला नवलपरासी गैंडाकोटमा रहेको ग्लोबल आईएमई बैंकबाट रु. ९,००,०००/– (नौ लाख) रकम निकालेको र सो. निकालेको रकममध्ये रु. २,००,०००/– (दुई लाख) मलाई दिएको थाहा पाएँ।

सो कुरा थाहा पाएपछि छोराले मलाई दिएको रकम मृतक भरत गुरुङको रकम मैले राख्नु हुँदैन भनी सम्बन्धित निकायमा बुझाई दिनुपर्छ भन्ने सोचले दुई लाख बोकी ल्याई मिति २०७८/०४/०८ गते यस कार्यालयमा निवेदनसाथ पेश गरेको हुँ।

छोराले मलाई दिएको रकम मृतक भरत गुरुङको खाताबाट निकालेको भनेपछि थाहा पाएको हुँ। छोराले सो कुरा मलाई बताएका थिएनन्। मिति २०७८/०४/१० गते प्रहरीले मेरो छोरा गंगाधर ढकाललाई साथमा लिई मेरो घरमा गई मेरो घर पछाडि रहेको परालको टौवामा खानतलासी गर्दा सो टौवामुनी मोजामा लुकाईराखेको अवस्थामा ७१ (एकहत्तर) राउण्ड गोली बरामद गरेको हो।

उक्त स्थानमा गोली रहेको मलाई थाहा थिएन, बरामद गरेपछि मात्र थाहा पाएको हुँ। छोराले देखाए बमोजिक बरामद गरेको हुँदा के कहाँबाट ल्याई लुकाई राखेका हुन् छोरालाई थाहा छ, मलाई थाहा भएन भन्ने समेत व्यहारोको मिति २०७८/०४/२३ गतेको नरेन्द्रराज ढकालको घटना विवरण कागज।

प्रतिक्रिया