सैनिक हत्या अभियुक्तको बयानः एसएमजीसहित काठमाडौं आएँ, अनि चितवन फर्किएँ (पूर्णपाठ)

हतियार बोकेर कसरी नाकाबाट छिरे गंगाधर ?


काठमाडौं – चितवनमा गोली हानेर हत्या गरिएका भरत गुरुङको हत्यामा संलग्न गंगाधर ढकाल हतियार बोकेरै चितवनबाट काठमाडौंसम्म आएको खुलेको छ । चितवन जिल्ला अदालतमा ढकालले दिएको बयानमा आफूले गत साउन ५ गते मृतक गुरुङलाई लिनका लागि मोटरसाइकलमा तीनवर्ष अघि चोरेको हतियार नै बोकेरै आएको बताएका हुन् ।

ढकालले अदालतमा सोधिएको प्रश्नमा उत्तर दिने क्रममा भनेका छन्, ‘५ गते बिहान करिब ७ बजेतिर मलाई भरत गुरुङले मेरो बिदा स्वीकृत भयो अब मंगलपुर चितवनको जग्गा किन्ने हो, मलाई लिन आईज भनी काठमाडौंबाट बोलाउनुभयो । म निजलाई लिन भनी बिहानै यहाँबाट बाइकमा गएको र काठमाडौंमा करिब ११ बजेतिर पुगेको थिएँ । म निजलाई लिन भनी काठमाडौं जाँदा मैले झोलामा तीन वर्षअघि देखि चोरी गरी लुकाईराखेको बन्दुकसमेत लिएर गएको थिएँ ।’

कोरोना महामारीका कारण उपत्यका छिर्ने नाकाहरुमा हरेक दिन प्रहरीको चेकिङ हुन्छ । अझ, मुख्य नाकाका रुपमा चिनिएको नागढुंगामा सहजै प्रवेश पाउन कठिन छ । नागढुंगा नाकाबाट मोटरसाइकलमा सवार गंगाधर ढकाल एसएमजी हतियारसहित उपत्यका प्रवेश गर्नुले प्रहरीमाथि प्रश्न खडा भएको छ । ढकाल प्रवेश मात्र गरेनन्, अर्को एकजना साथीको साथमा सोही हतियार बोकेर पुनः सोही नाकाबाट सोही दिन बाहिरिए । के साँच्चै प्रहरीले नाकामा चेकिङको नाममा आपराधिक गिरोहलाई सहजै प्रवेश दिँदै आएको छ ?

त्यस्तै काठमाडौंस्थित महेन्द्र दल गणमा कार्यरत नेपाली सेनाका हुद्दा गुरुङको गोली हानी हत्या गरेका ढकालले हत्यामा आफ्नो मात्रै संलग्नता रहेको समेत अदालतमा बयान दिएका छन् । अभियुक्त ढकालले जिल्ला अदालतमा दिएको बयानको पूर्णपाठ अनलाइनन्यूजलाई प्राप्त भएको छ ।

पूर्णपाठमा ढकालले ३ वर्षअघि चितवनको कालीबहादुर गणबाट चोरी गरेको एसएमजीले हिर्काएर आफू एक्लैले गुरुङको हत्या गरेको अदालतको बयानमा उल्लेख छ । उक्त हतियार किन चोरेँ भन्ने थाहा नभएको ढकालको भनाइ छ । बयानमा उनले भनेका छन्, ‘चोरी गर्ने समयमा मेरो दिमागले काम नै गरेको थिएन।’

गुरुङको ७ साउनमा चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेतनजिकै नहरमा शव फेला परेपछि चितवन प्रहरीले भोलिपल्ट ढकाललाई पक्राउ गरेर अनुसन्धान थालेको थियो। प्रारम्भिक अनुसन्धानको क्रममा समेत ढकालले तीन वर्षअघि चितवनको कालीबहादुर गणबाट हराएको भनिएको एसएमजीले हिर्काएर गुरूङको हत्या गरेको बयान दिएका थिए ।

२, पुस २०७५ मा चितवनको कालीबहादुर गणबाट स्टर्लिङ–९ एमएम एनकेआर १००७९२ नम्बरको एसएमजी हराएको थियो । उक्त हतियार चोरेको अभियोगमा सैनिक अदालतको ६, वैशाख २०७६को आदेशबाट सैनिकद्वय लव गुरूङ र सरोज तामाङले अहिलेसम्म पनि कैद भुक्तान गरिरहेका छन् ।

जतिबेला हराएको भनिएको एसएमजी गुरूङका हत्यारा ढकालको साथबाट बरामद भएपछि उनीहरू निर्दोष रहेको भन्दै सेनाले छानबिन समिति गठन गरेर आन्तरिक अनुसन्धान गरिरहेको जनाएको छ ।

चोरीको विषयमा ढकालले ब्यारेकको चैबिसकोटीतिरको तारबाट राती १० बजे छिरेर २ घन्टाजति झाडीमा लुकी १२ बजेतिर चोरेर निस्किएको बताएका थिए । उनले १२ बजेपछि ड्युटीमा सेना अगाडी ढोकामा बसेको समयमा आफूले पछाडी झ्यालबाट हतियार राखेको ठाउँमा गएर एसएमजी निकालेको स्वीकार गरेका छन् ।

यस्तै चोरेर लगेको एसएमजी अरूले थाहा नपाउन् भनेर ३ वर्षदेखि आफ्नै घरको टौवामुनि लुकाएर राखेको समेत स्वीकारेका छन् ।

ढकालको बयानको पूर्णपाठ पढ्नुहोस्


अनलाइनन्यूज७लाई प्राप्त भएको जिल्ला अदालत चितवनमा आरोपी ढकालले दिएको बयानपत्र उतारेका हौं । –सम्पादक

प्रतिक्रिया