
साथीको हत्या गरेका गंगाधरको बयानः ‘राती १० बजे गण छिरेर १२ बजे एसएमजी चोरेर फर्किएँ’ (मिसिलसहित)
ढकालको बयानपछि दुई सैनिक निर्दोष रहेको पुष्टि
काठमाडौं – नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्याका अभियुक्त गंगाधर ढकालले २०७५ सालमा चितवनको कालीबहादुर गणबाट STRELING 9 एमएम एनकेआर १००७९२ नम्बरको सर्ट मेसिन गन (एसएमजी) रातीको समयमा चोरी गरेको स्वीकारेका छन्।
ढकालले उक्त गन ‘भरतपुर चितवनको सेनाको ब्यारेकको चौबिसकोठीतिरको तारबाट रातको करिब १० बजेतिर छिरेर करिब २ घण्टाजति झाडीमा लुकेर बसेको थिएँ,’ अदालतमा दिएको बयानमा उल्लेख छ।
त्यसपछि करिब रातको १२ बजेपछि ड्युटीमा सेनाहरु अगाडि ढोकामा बसेको समयमा आफूले पछाडिको झ्यालबाट हतियार राखेको ठाउँमा गएर एसएमजी चोरेर घर लगेको बयानमा ढकालले बताएका छन्।
चोरेर लगेको एमएमजी अरुले थाहा नपाओस् भनेर ३ वर्षदेखि टौवामुनी लुकाएर राखेको ढकालले बयान दिएका छन्। ‘मैले टौवा फेर्ने बेला अर्को ठाउँमा लुकाएर राख्ने गरेको र, फेरी टौवा बनेपछि सोही स्थानमा लुकाएर राख्ने गरेको थिएँ। उक्त चोरी गरेको हतियार घरमा पनि कसैलाई थाहा थिएन,’ उनले बयानमा भनेका छन्।
बयानमा तपाईले उक्त हतियार किन र कुन प्रयोजनको लागि चोरी गर्नुभएको थियो?
भन्ने प्रश्नमा ढकालले ‘मैले उक्त हतियार किन चोरे भन्ने मलाई थाहा भएन। सो चोरी गर्ने समयमा मेरो दिमागले काम नै गरेको थिएन,’ बयानमा भनेका छन्।
तपाईलाई मिति २०७८/०४/०८ गतेको टंकबहादुर गुरुङको जाहेरी दरखास्त बढीवाची देखाई सुनाइन्छ, भएको व्यहोरा के हो?
जाहेरी दरखास्त पढीवाची सुनाउँदा सुनी पाए, जाहेरी व्यहोरा ठिकै छ। यसमा मेरो व्यहोरा यो छ कि भरत गुरुङ र म साथी हो। हामीहरु दुवै यो घटना घट्नुभन्दा करिब एक महिना अघिदेखि सँगै काम गरेका हौं। हामीहरु सँगै काम गर्ने क्रमश चिनजान भई मिल्ने साथी भएका थियौं।
निज भरत गुरुङलाई गोली हानी कर्तव्य गरी मार्ने कार्यमा तपाई बाहेक अन्य को कस्को संलग्नता रहेको छ? खुलाई लेखाई दिनुहोस्।
निज भरत गुरुङलाई गोली हानी कर्तव्य गरी मार्ने कार्यमा म बाहेक अन्य कोही कसैको संलग्नता छैन।

00000
मंगलबार आरोपी ढकालविरुद्ध ज्यानसम्बन्धी मुद्दा, अवैध हतियार रुपमा हातहतियार राखेको तथा चोरी गरेको कसुरमा प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो।
गुरुङको हत्या गरेका अभियुक्त ढकाल भरतपुर नगरपालिका–२१ का स्थानीय हुन्। चितवन अदालतका न्यायाधीश हेमन्त रावलको इजलासमा भएको थुनछेक बहसपछि ढकाललाई मिसिलसहित सैनिक अदालत पठाइएको छ।
ढकालको बयानपछि अढाई वर्षदेखि जेलमा रहेका दुई सैनिक निर्दोष रहेको पुष्टि
ढकालले STRELING 9 एमएम एनकेआर १००७९२ नम्बरको एसएमजी २०७५ सालमा कालीबहादुर गणबाट चोरेको अदालतमा बयान दिएपछि सोही गन हराएको आरोपमा अढाई वर्षदेखि जेलमा रहेका दुई सैनिक निर्दोष रहेको पुष्टि भएको छ।
उदयपुर गाईघाटका स्थायी बासिन्दा रही त्यतिबेला चितवनको कालिबहादुर गणमा कार्यरत सेनाका अमल्दार लबकुमार गुरुङ र सुन्दर हरैचा मोरङ घर भएका सरोज तामाङ अढाई वर्षदेखि झूठा मुद्दामा जेलमा छन्।
उनीहरूलाई व्यक्तिगत रिसिइबीका कारण फँसाइएको भन्ने पीडित परिवारको दाबीमा सत्यता देखिएको छ। गणका तत्कालीन मेजर दीपेन्द्र श्रेष्ठ र क्याप्टेन गणेश ढकालले व्यक्तिगत रिसईबीका कारण हतियार चोरीमा सैनिक गुरुङ र तामाङलाई फसाएको परिवारको आरोप छ।
दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत सिपाही ढकालले ०७ साउनमा आफ्नै साथी धादिङ नीलकण्ठ–१३ का गुरुङलाई गोली हानेर हत्या गरेका थिए। भरतपुर–१७ मानसिंह चोक नजिकै सिमलडाँडा खेतको कुलोमा गुरुङको शव भेटिएको थियो।
ढकालले गुरुङको हत्यामा २०७५ सालमा गणबाट हराएको एसएमजी हतियार नै प्रयोग गरेको तथ्य खुलेपछि निर्दोष व्यक्तिहरुलाई फसाएर जेल हालिएको कुरामा दुईमत छैन।
गुरुङको हत्यापछि ढकालको साथबाट STRELING 9 एमएम एनकेआर १००७९२ नम्बरको एसएमजी बरामद भएको छ। सामान्य सोधपुछमा पनि उक्त एसएमजी गन २ वर्षअघि चितवनको कालीबहादुर गणबाट चोरेर घरमै राखेको ढकालले प्रहरीसमक्ष बयान दिए।
डकालको बयानपछि घटनाले अर्कै मोड लिएको छ। उक्त एसएमजी चोरीको आरोपमा ‘कोर्टमार्सल’ गरिएका दुई सैनिक दुई वर्षदेखि प्रताडित छन्। जतिबेला उनीहरुलाई धेरै यातना दिइएको थियो।



सुजन पन्त |
