कालीबहादुर गणबाट एसएमजी चोरेका ढकाललाई अदालतबाट सेनाले लग्यो


काठमाडौं – नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या आरोपी गंगाधर ढकाललाई सैनिक अदालत पठाइएको छ। चितवन अदालतका न्यायाधीश हेमन्त रावलको इजलासमा भएको थुनछेक बहसले मिसिल नै सैनिक अदालत पठाउने आदेश दिएको हो।

सैनिक अदालतमा यो मुद्दा पठाएपछि अब के होला भन्ने चासो बढेको छ। गंगाधरले नै हतियार चोरी गरेर हत्या गरेको स्वीकारिसकेका अवस्थामा सैनिक अदालतमाथि प्रश्न खडा भएको छ।

चितवन अदालतको आदेशसँगै यो मुद्दा अब सैनिक अदालतले सुनुवाइ गरी फैसला गर्ने भएको छ। गुरुङको हत्या गरेका अभियुक्त ढकाल भरतपुर नगरपालिका–२१ का स्थानीय हुन्।

ढकालविरुद्ध ज्यान सम्बन्धी मुद्दा, अवैध हतियार रुपमा हातहतियार राखेको तथा चोरी गरेको आरोप लागेको थियो।प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् ढकालविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

जिल्ला अदालत चितवनका श्रेस्तेदार इश्वर आचार्यका अनुसार सैनिक अदालतले माग गरेकाले मुद्दासम्बन्धी सबै फाइल पठाइएको छ। सेनाले भने पुरानो मुद्दा पनि जोडिएको भन्दै ढकालको मुद्दा सैनिक अदालतमा पठाउन दबाब दिएको थियो।

गुरुङको हत्याले खोलेको अर्को पाटो

दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत सिपाही ढकालले ०७ साउनमा आफ्नै साथी धादिङ नीलकण्ठ–१३ का गुरुङलाई गोली हानेर हत्या गरेका थिए। भरतपुर–१७ मानसिंह चोक नजिकै सिमलडाँडा खेतको कुलोमा गुरुङको शव भेटिएको थियो।

काठमाडौं रहेका गुरुङले ५ साउनमा ढकाललाई फोन गरेर आफू जग्गा पास गर्न चितवन आउन लागेको जानकारी गराएका थिए। त्यसपछि गुरुङलाई लिन ढकाल नै मोटरसाइकल लिएर काठमाडौं आए।

५ गते नै उनीहरु चितवनको एक होटलमा बसे। गुरुङ भोलिपल्ट मात्रै भरतपुर–१९ शारदानगर टाउनमा रहेको आफन्तको घर गए। ढकालले आफन्तको घरबाट ६ गते साँझ गुरुङलाई खाजा खान भनेर बोलाए।

‘त्यसपछि मोटरसाइकलमा राखेर विभिन्न ठाउँमा रातभर डुलाए। घटना भएको ठाउँमा बिहीबार बिहान पाँच बजेतिर उनीहरु पुगे। घटना भएपछि उनी भाग्दै विभिन्न ठाउँ पुगे। सौराहा चोकमा रहेको फुपुको घर गएर झोला छाडेका थिए। त्यसमा एसएमजीमा प्रयोग हुने सात थान गोली र सेनाको पोशाक भेटिएको थियो।

आरोपी ढकालले गुरुङको बैंक खाताबाट ९ लाख रुपैयाँ झिकेका थिए।

ढकालले नेपाली सेनाले प्रयोग गर्ने सर्ट मेसिन गन (एसएमजी) हतियार प्रयोग गरेको तथ्य खुलेको छ। चितवन प्रहरीका प्रहरी प्रमुख एसपी ओम अधिकारीले ढकालले एसएसमजी गनले गुरुङको हत्या गरेको जानकारी दिए।

गुरुङको हत्यामा केआर १००७९२ नम्बरको एसएमजी प्रयोग भएको थियो। प्रहरी निइत्रनण्मा रहेपछि सोधुछको क्रममा उक्त एसएमजी गन २ वर्षअघि चितवनको कालीबहादुर गणबाट चोरेर घरमै राखेको ढकालले प्रहरीसमक्ष बयान दिए।

त्यसपछि घटनाले अर्कै मोड लियो। उक्त एसएमजी चोरीको आरोपमा ‘कोर्टमार्सल’ले उदयपुर गाईघाट स्थायी बसोबास भएका र त्यतिबेला कालीबहादुर गणमा कार्यरत अमल्दार लबकुमार गुरुङ र सुन्दर हरैचा मोरङ घर भएका अर्का सैनिक सरोज तामाङलाई जेल हालेको थियो।

हालपनि उनीहरु अढाइ वर्षदेखि जेलमै छन्। गणबाट हराएको भनिएको सोही हतियार ०७ साउनमा ढकालको साथबाट बरामद भएपछि सेनाले यस घटनालाई चासोको साथ हेरेको छ। चितवनमा भएको हत्याकाण्डले गर्दा पुरानो घटनाको नयाँ पटाक्षेप सतहमा आएको हो।

ढकालले एसएमजी गन आफूले चोरेको बताएकाले सोही गन चोरीको अभियोगमा जेलभित्र रहेका दुई सैनिकहरु निर्दोष छन् भन्न सकिन्छ। गणका तत्कालीन मेजर दीपेन्द्र श्रेष्ठ र क्पाटेन गणेश ढकालले व्यक्तिगत रिसईबीका कारण हतियार चोरीमा सैनिक गुरुङ र तामाङलाई फसाएको परिवारको आरोप छ।

प्रतिक्रिया