त्यहाँ हो प्रचण्डको राजनीतिक गन्तव्य


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उमेरको उत्तरार्धका अझ एक दशक सक्रिय राजनीतिमा रहने स्पष्ट बताइसकेका छन्।

उनको यो सक्रिय राजनीति गर्ने धोकोका पछाडि विविध दलका नेतालाई कार्यकारी प्रमुखको कुर्सीमा राख्ने हो की आफैं कार्यकारी प्रमुख बन्ने हो?

राजनीतिक रुपमा विविध उतारचढावलाई सम्हाल्दै आएका प्रचण्डको आउने दशकको लक्ष्य र चाहन यति मात्रचाहिँ होइन। उनी संसदीय राजनीतिको प्रधानमन्त्रीय प्रणालीमा मात्रै सीमित रहने सोच र राजनीतिक गन्तव्यमा अघि बढेका छैनन्।

अन्य राजनीतिक दलका मूर्ख मुखियालाई उपयोग गरी संविधान संशोधन गर्दै कार्यकारी राष्ट्राध्यक्षको प्रणालीको केन्द्रविन्दुमा प्रचण्डले आफ्नो गन्तव्य राखेका छन्। त्यसैले उनको भनाई र गराईमा पनि खासै फरक आएको छैन।

उनले एउटा सार्वजनिक फोरममा भनेका थिए,‘विभाजन र एकीकरण गर्ने मेरो पहिलेदेखिको राजनीतिक काम भइरहेको छ।’ मसालदेखि माओवादी केन्द्र र एमालेसम्म विघटन गरी नेपाल कम्युनिस्ट पार्टीसम्म बनाउँदा प्रचण्डको यो प्रयोगले सफलता पाएको थियो।

प्रचण्डको कार्यकारी राष्ट्रपति बन्ने सपनानजिक पुगिसकेको थियो, नेकपाको शीर्ष नेतृत्वमा पुग्दा। तर, सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनपछि माओवादी केन्द्र र नेकपा एमाले ब्युँताएपछि भने प्रचण्डले अझ केही बर्ष अभ्यास गर्नुपर्ने भएको छ। अन्यथा, नेकपाको एकमात्र नेता हुँदै संविधान संशोधनमार्फत कार्यकारी राष्ट्रपतिको व्यवस्थालाई उनले सन्निकट ल्याउन लागेका थिए।

‘सहज रुपमा केपी शर्मा ओलीले अध्यक्ष छाडेको वा प्रधानमन्त्री पद आधा कार्यकालमा छाडेको भए, प्रचण्डको अभ्यासले पूर्णता पाउने दिन आइसकेको थियो तर परिणाम उल्टो भएको छ’, उनीनिकट उच्च स्रोतले भन्यो,‘तैपनि हार मान्ने मान्छे होइन, त्यो राजनीतिक उचाँईमा एक पटक उभिएर नै सन्यास लिने अभ्यास जारी राख्नेछन्।’

दुई पटकको प्रतिनिधि सभा विघटनपछि भने प्रचण्डलाई आफ्नो लक्ष्यको बाटो कोर्नका निम्ति ट्रयाक मिलेको छ। त्यसैको एउटा खुड्कीलोका रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सफल भएका छन् भने अर्का परस्पर प्रतिरोधी शक्तिका रुपमा उभिएका केपी शर्मा ओली संसदीय राजनीतिमा खुम्चिएर ८३ सीटमा पुगेका छन्।

‘यसले अहिलेको प्रणाली नै खराब हो भनी आम मानिसबीच एउटा सन्देश छरिएको छ। जसको लाभ प्रचण्डलाई नै हुने देखिन्छ। ओलीको राजनीतिक शक्तिलाई यो तहमा साँघुरो बनाउन पनि प्रचण्ड सक्रिय देखिएका हुन्’, उच्च स्रोतले भन्यो।

हालैका दिनमा मात्रै पनि प्रचण्डले आफ्नो आन्तर्यबाट भनेका थिए,‘यो प्रणाली खराब हो, हामीलाई चाहिएको त कार्यकारी राष्ट्रप्रमुख नै हो।’ प्रचण्डको यो भनाईले उनको राजनीतिक गन्तव्य र लक्ष्यलाई बिम्बित गरेको छ, स्वभाविक रुपमा।

सफल होलान् त प्रचण्ड?

एमाले विभाजन र कांग्रेसप्रति जनमतको अरुची पैदा नगरी प्रचण्ड निर्विकल्प शक्तिशाली हुने छैनन्। यसकारण कार्यकारी राष्ट्रपतिको त्यो राजनीतिक गन्तव्यमा पुग्नका लागि प्रचण्डले आउने दशक मूलधारका दुई पार्टीलाई यस्तो नराम्रोसँग खेलाउनेछन् कि यीनको जनाधार ‘लिलिपुट’ हुनेछ। र, कांग्रेस नेतृत्वमा शेरबहादुर र एमाले नेतृत्वमा ओली हुँदा मात्रै प्रचण्डको प्रयोगले काम पनि गर्नेछ।

दुई ‘अतिवादी’को नेतृत्व रहेका बेला मात्र दुवै पार्टीमा विद्रोह गराएर ‘डिभाइड एन्ड रुल’को नीतिमा आफू सफल बन्न सकिन्छ भन्ने प्रचण्डलाई राम्रो ज्ञान छ।

‘अहिले उचित मौकामा दुवै पार्टीमा विद्रोह हुन सक्छ। तर, त्यसका लागि पहिले कसैलाई सहयोग र कसैमाथि प्रहार अनिवार्य गर्नेछन्। जुन देखिइरहेको छ’, स्रोतले भन्यो,‘देउवालाई सहयोग र ओलीमाथिको प्रहार यसका सूचक हुन्।’

हुन पनि कांग्रेस र एमालेभित्र विद्रोह गराउन सक्ने यो सही मौका हो। कांग्रेस नेतृत्वमा रहेका देउवाले पार्टी सत्तालाई विधान मिचेर चलाएका छन्। संविधान मिचेर अघि बढाउन खोजीरहेका छन्। जहाँ व्यापक असन्तुष्टि छन्।

एमालेको त ओली खेमाबाहेकको एउटा कित्ता जसरी पनि उनलाई हटाउनुपर्छ र प्रचण्डसँग एकीकरण गरेरै अघि बढ्नुपर्छ भन्ने ‘स्कुलिङ’मा पुगिसकेको छ। माधव नेपाल खेमाको लगभग यो विद्रोहले एमाले विभाजन भएको खण्डमा प्रचण्ड प्रयोगको एउटा सफलता रणनीतिक रुपमा हुनेछ।

पार्टीभित्र दुई लाइन संघर्ष चलाएर सर्वमान्य र सदाबहार नेतृत्व गरिहेका प्रचण्डले अहिले एमालेभित्र उक्त प्रयोग गरिरहेका छन्। कोटेश्वरसँगको सन्निकटता र बालकोटमाथिको प्रहार त्यसैको उदाहरण हो। एमालेको एउटा हिस्सा नमिठोगरी विद्रोहमा गए त्यसले माओवादीसँगको सहकार्य गर्न सक्ने प्रचण्डले स्पष्ट बुझेका छन्।

जनयुद्धकालमा मोहन वैद्य किरण र डा. बाबुराम भट्टराईबीच दुई लाइन संघर्ष गराएको उक्त प्रयोगलाई अहिले एमालेमा उपयोग गर्नु अर्थपूर्ण देखिएको छ। परिणामका रुपमा हेर्दा पनि मोहन वैद्य र बाबुरामहरुको राजनीतिक शक्ति क्षयीकरण भइसकेको छ भने प्रचण्ड मूलधारको राजनीतिमा केन्द्रविन्दुमा छन्। जसले अधिक शक्तिशाली रहेको एमालेलाई पनि क्षयीकरणमा पार्न सफल भए।

‘एमाले विभाजन नभई प्रचण्डको राजनीतिक शक्ति आर्जन हुँदैन। अहिले तत्काल चुनावमा जाँदा परिणाम के हुन सक्छ भन्ने आँकलनका साथ नै प्रतिनिधि सभा पुनःस्थापनाका लागि प्रचण्डले मरिमेटेका थिए’, उच्च स्रोतले भन्यो,‘यो बीचमा शक्ति आर्जनका निम्ति उनका प्रयोगहरु बलियो हुनेछन्। प्रलोभन र पद दिएर पनि कतिपयलाई आफूनिकट बनाउने प्रयास जारी हुनेछ।’

अधावधिक निर्वाचनसम्म प्रचण्डले आफूले जे भन्यो त्यहि राजनीतिक अवस्था हुने अभ्यासलाई जारी राख्नेछन्। उनको कांग्रेससँग सहकार्य हुन्न भन्ने स्पष्ट रहेका बेला त्यसभित्रका विद्रोही र विरोधी शक्तिलाई भड्काउको राजनीति पनि सुरु हुनेछ।

‘यता एमालेको एउटा घटकमात्र नभएर चुनावसम्ममा कम्युनिस्टका अन्य छरिएका मत समेतलाई लिन कम्युनिस्ट केन्द्रका लागि अभ्यासमा प्रचण्ड जुट्नेछन् जसको नेतृत्वमा रहनेछन्’, विश्लेषकहरु भन्छन्,‘कांग्रेसको जनाधार विविध कारणले क्षतीमा पुगेको खण्डमा सदनमा कम्युनिस्टको बहुमत बनाई संविधान संशोधनमार्फत कार्यकारी राष्ट्रपतिको व्यवस्था गरी आफैं उक्त पदमा पुग्ने उनको लक्ष्य हो।’

प्रतिक्रिया