
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको पद संकटमा, अविश्वास प्रस्ताव दर्ता
कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध नेपाली कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ। मुख्यमन्त्रीकै दलका बहुमत सांसदहरूले उनको नेतृत्वविरुद्ध औपचारिक रूपमा अविश्वास प्रस्ताव अघि सारेका हुन्।
प्रदेशमा नेपाली कांग्रेसका १८ सांसद रहेका छन्। तीमध्ये प्रकाश देउवा लामो समयदेखि अमेरिका बस्दै आएका छन्। नेपालमा रहेका १७ सांसदमध्ये बहुमत सदस्यहरूले हस्ताक्षर गरी अविश्वास प्रस्ताव दर्ता गरिएको एक कांग्रेस सांसदले जानकारी दिए।
उनका अनुसार ९ सांसदले संसदीय दलमा दलका नेताविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।
यसअघि केही कांग्रेस सांसदहरूले मुख्यमन्त्री शाहको राजीनामा माग गर्दै आएका थिए। मुख्यमन्त्री शाहले भने बहुमत सांसदको समर्थन नरहेमा पद त्याग्ने बताउँदै आएका थिए। त्यसपछि दलभित्र असन्तुष्ट सांसदहरूले हस्ताक्षर संकलन गरेर औपचारिक रूपमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।



कागजपत्र |
