भदौ २३–२४ को घटना योजनाबद्ध षड्यन्त्र, युवाको हत्या प्रपञ्च : ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएका घटनालाई योजनाबद्ध र षड्यन्त्रपूर्वक गरिएको बताएका छन् ।

बुधबार काठमाडौंमा एमाले केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालाको उद्घाटन कार्यक्रममा बोल्दै उनले उक्त घटनालाई केहीले आन्दोलन र केहीले क्रान्ति भनेर व्याख्या गरे पनि आफूले त्यसलाई पूर्वनियोजित हिंसात्मक गतिविधि भएको दाबी गरे ।

ओलीले ती घटनालाई युवाहरूको हत्या गराउने प्रपञ्चका रूपमा प्रस्तुत गर्दै त्यसलाई क्रान्ति भन्नेहरू स्वयं संलग्न वा लाभान्वित पक्ष भएको टिप्पणी गरे । उनले भने, “आफूले खाइसकेपछि बिउ अर्कोको गलामा टाँस्ने अवस्था देखियो।”

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीका अनुसार उक्त घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको सारांशमै समेत योजनाबद्धता र षड्यन्त्रको संकेत उल्लेख छ ।

उनले आफ्नो नेतृत्वको सरकार संवैधानिक, लोकतान्त्रिक र बलियो अवस्थामा रहेको दाबी गर्दै त्यसलाई संसदीय तथा कानुनी प्रक्रियाबाट हटाउन नसकेपछि आपराधिक र विध्वंसात्मक बाटो अपनाइएको आरोप लगाए ।

ओलीले आगजनी, पेट्रोल बम बनाउने तालिमजस्ता गतिविधि भएको दाबी गर्दै त्यसतर्फ गम्भीर ध्यान दिनुपर्ने बताए । उनले अहिले पनि अराजकता कायम रहेको टिप्पणी गर्दै राष्ट्रविरोधी गतिविधि र आगजनीका घटनालाई सामान्य रूपमा लिइनु गलत भएको बताए ।

उनले एमालेमाथि लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेकै कारण आक्रमण भइरहेको उल्लेख गर्दै देशको हित सर्वोपरि हुने भएकाले सबैले यथार्थ बुझ्नुपर्ने धारणा राखे ।

कार्यक्रममा ओलीले अहिलेको अराजकतन्त्र पनि लामो समय नटिक्ने दाबी गर्दै नेपालमा राणा शासन, राजतन्त्रलगायतका व्यवस्था ढलेझैँ यो अवस्था पनि अन्त्य हुने बताए । उनले लामो तयारीपछि भदौ २३ र २४ गते विध्वंस मच्चाइएको जिकिर पनि गरे ।

प्रतिक्रिया