

‘कोर्टमार्सल’ गरिएका सिपाहीकी पत्नी र जेठीसासुलाई मेजरको दबाबमा हिरासतभित्रै यातना!

काठमाडौं– चितवनको कालीबहादुर गणबाट १०७९२ नम्बरको अत्याधुनिक हतियार एसएमजी (सर्ट मेसिन गन) चोरीको आरोपमा जेलमा रहेका लब गुरुङकी श्रीमती र जेठीसासुलाई समेत नेपाली सेनाले यातना दिएको खुलेको छ।
गुरुङकी श्रीमती प्रमिला तामाङ र जेठानी दिदी तारा तामाङलाई समेत अनाहकमा हिरासतभित्र यातना दिएको पाइएको हो। घटनाको २३ दिनपछि नेपाली सेनाको दबाबमा नेपाल प्रहरीले उनीहरुलाई पक्राउ गरेको पीडित परिवारको आरोप छ।
गणका तत्कालिन मेजर दीपेन्द्र श्रेष्ठको दबाबमा प्रहरी हिरासतमा ल्याएर यातना दिँदै उनीहरुमाथि कुटपिट भएको थियो। ‘हिरासतमा रहेका उनीहरुलाई प्रहरी कर्मचारीले होइन, सेनाकै सिपाहीहरु आएर कुटपिट गर्थे,’ पीडित परिवारको गुनासो छ।
२५ पुस ०७५ देखि हिरासतमा राखेका उनीहरुलाई एक महिनासम्म यातना दिइयो। एसएमजी चोरी प्रकरणमा पक्राउ परेका उनीहरु सोही बर्षको २५ माघमा जिल्ला प्रशासन कार्यालयको आदेशमा मापसे गरेर होहल्ला गर्दै हिँडेको भन्ने अलग कागज गराई ५–५ हजार धरौटीमा छुटाइएको थियो।
यहिँ सिडिओ कार्यालयको आदेश फर्जी छ– चोरीको आरोपमा पक्राउ परेका उनीहरुलाई मापसे गरेर होहल्ला गरेको भन्दै छाडियो। प्रहरी स्रोतका अनुसार त्यतिबेला मेजर श्रेष्ठले सेटिङ मिलाइसकेका थिए।
प्रमिलाले पति घर नफर्केपछि दिदीलाई चितवन बोलाएकी थिइन्
२ पुस २०७५ सालमा गणबाट एसएमजी चोरी भएको थियो। चोरीको आरोपमा त्यतिबेला सैनिक अदालतले उदयपुर गाईघाटका सिपाही लब गुरुङ र मोरङ सुन्दरहरैंचा नगरपालिका–१२ खोर्सेनीका सरोज तामाङलाई दोषी करार गर्दै जेल पठाउन आदेश दिएको थियो। हालसम्म पनि उनीहरु जेलमै छन्।
घरमा रहेका पतिलाई सेनाले नै बोलाएर गण लग्यो। त्यतिबेलासम्म प्रमिलालाई केही थाहा थिएन। घरबाट निस्केका पति १० दिनसम्म घर नफर्केपछि उदयपुर गाइघाटमा रहेकी तारा बहिनी प्रमिलाको बोलावटमा चितवन आइन्।
त्यसपछि उनीहरु लबको बारेमा बुझ्न गण गए। जतिबेला लब सेनाको हिरासतमा थिए। उनीहरुलाई लब किन हिरासतमा राखिए भन्ने थाहा थिएन। त्यसपछि उनीहरुले लबलाई हिरासतमा राख्नुको कारणबारे बुझ्न थाले।
‘बुझ्दै जाँदा एसएमजी चोरीको आरोपमा लबसँगै अर्का एक जनालाई पनि हिरासतमा राखिएको उनीहरुले थाहा पाए,’ उनीहरुको भनाई उद्धृत गर्दै पीडित परिवारका एक सदस्यले भने, ‘त्यतिबेला सेनाका एक जनाले हामीलाई चोरी गरेको हो भन्नु, तपाईको भाई छोड्नुहुन्छ भन्नुभयो।’
यस कुराले दिदीबहिनीबीच केही समय मतान्तर पनि भयो। यतिसम्म कि ज्वाई छुट्नुहुन्छ भने दिदी तारा ‘मैले चोरी गरेको हो भन्छु’ भन्ने र बहिनी प्रमिला होइन ‘मैले चोरी गरेको भन्छु’ भन्नेमा हानथाप भयो।
त्यसपछि घटनाले लियो अर्कै मोड
आफ्नो ज्वाई छुट्छन् भन्ने आशयले ‘चोरी गर्दै नगरेको कुरालाई चोरी गरेको भनेपछि’ धरौटीमा रिहा भएको केही समयमा पुनः तारालाई प्रहरीले फोन गरेर जिल्ला प्रहरी कार्यालयमा हाजिर हुन भन्यो। त्यतिबेला उनी उदयपुर गइसकेकी थिइनन्, चितवन बहिनीकै कोठामा थिइन्।
बहिनीकै सल्लाहमा उनी प्रहरी कार्यालय पुगिन्। त्यहाँ सेनाका सिपाहीहरु पनि थिए। त्यसपछि प्रहरीले तारालाई नियन्त्रणमा लियो र, प्रहरी हिरासतमा राख्यो। ‘नखाएको विष लागेझैं’ ताराले बोलेको कुरालाई प्रमाण बनाएर सेनाको दबाबमा हिरासतमा लिइएको थियो।
सोही प्रकरणमा एक महिना हिरासतमा बसेकी तारालाई लागेको थियो– फेरी छिट्टै छुट्छु। तर, समय परिस्थिति त्यस्तो थिएन– सेनाका मेजर श्रेष्ठको दबाबमा उनलाई पूर्पक्षको लागि जेल पठाउने तयारी थियो। उनी ११ महिनासम्म हिरासतमा बसिन्।
११ महिनापछि जिल्ला अदालत चितवनले तारालाई सफाइ दियो। निर्दोष व्यक्तिलाई फसाउन खोजिएको भन्दै तारालाई २० पुस २०७७ मा सफाइ दिएको थियो।
‘प्रहरी हिरासतमा प्रहरीका कर्मचारीले नकुट्नु भन्दा पनि सेनाको सिपाही आएर कुट्थे,’ उनले परिवारसँग दुखेसो पोखेकी थिइन्।
गणका तत्कालिन मेजर श्रेष्ठको कारण उनीहरुलाई सैनिक अदालतले जेल पठाएको यसअघि नै अनलाइनन्युजले खुलासा गरिसकेको छ। मेजर श्रेष्ठको कारण उनीहरुलाई सैनिक अदालतले जेल पठाएको खुलेको हो।
साउन २०७५ मा लब र सरोज मिसन गएर फर्किएका थिए। उनीहरुको दरबन्दी कालीबहादुर गण थियो। नेपाली सेनामा मिसनबाट फर्केपछि गणपतिलाई रिझाउनको लागि पैसादेखि पार्टी दिने चलन हुन्छ। तर, उनीहरुले हाकिमलाई रिझाउनुको सट्टा उल्टो पार्टीमा समेत बोलाएनन्।
त्यसपछि हाकिम रहेका श्रेष्ठले उनीहरुसँग असन्तुष्टि जनाउन थालेको स्रोतले बतायो। श्रेष्ठले उनीहरुलाई पेल्न थाले। ‘त्यतिबेला पनि श्रेष्ठले उनीहरुलाई एउटा न एउटा घटनामा फसाइदिने भन्दै धम्क्याउँथे रे,’ पीडितका परिवारहरुको गुनासो छ।
श्रेष्ठ कालीबहादुर गणमा चल्ताका अफिसर रहेको बेला एसएमजी चोरी भएको थियो। गणबाट हतियार नै गायब हुनु सेनाभित्रको गम्भीर अपराध मानिन्छ। गुरुङ र तामाङलाई फसाउने उक्त समय श्रेष्ठको लागि उपयुक्त थियो।
जबकी त्यतिबेला उनीहरु विदामा घर गएका थिए। घर गएका उनीहरुलाई शंका गर्दै मेजर श्रेष्ठले टर्चर दिन थाले। घरबाटै पक्राउ गरेर उनीहरुलाई ल्याइएको थियो। उक्त हतियार उनीहरुले नै चोरेको भन्दै मेजर श्रेष्ठले जबरजस्ती कबुल गर्न लगाए।
यो पनि पढ्नुहोस्…
सेनाको बदमासीः ‘कोर्टमार्सल’ गरिएका दुई जना निर्दोष सिपाही दुई बर्षदेखि प्रताडित
‘यसरी जबरजस्ती चोरी नै नगरेको कुरालाई कबुल गर्न लगाएर उनीहरुलाई फसाइयो,’ पीडित परिवार भन्छन्, ‘अहिले उक्त चोरी भएको भनिएको एसएमजी भेटिएको खबर सुनेका छौं। केहीदिन अघि चितवन गएर बुझ्दा पनि उक्त नम्बरको हतियार हो–होइन पुष्टि चाहिँ कतैबाट पनि हुन सकेन।’
७ साउनमा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या भयो। चितवन भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका गुरुङलाई आफ्नै साथी सैनिक जवान गंगाधर ढकालले एसएमजीले हानेर हत्या गरेको चितवन प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिइसकेको छ।
गुरुङको हत्यामा दुई वर्षअघि हराएको एसएमजी नै प्रयोग भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हराएको एसएमजी र गुरुङको हत्यामा प्रयोग भएको लट नम्बर एउटै रहेको एक उच्च सैनिक अधिकारीले बताए।
सेनाको आन्तरिक अनुसन्धान र प्रहरीको अनुसन्धानबाट पनि हत्यामा प्रयोग गरिएको एसएमजी चितवनस्थित कालीबहादुर गणबाट चोरिएको हतियार रहेको पुष्टि भइसकेको छ। तर, नेपाली सेनाले त्यसबारे औपचारिक जानकारी दिन चाहेको छैन।
ढकालले चोरी गरेको एसएमजीकै कारण उनीहरु अनाहकमा जेल परे। यसरी सैनिक अदालतको गलत फैसलाले निर्दोष व्यक्तिललाई दोषी बनायो। अनि, अनाहकमा जेलको हावा खान बाध्य बनायो। सेनाभित्रको बदमासीले गर्दा उनीहरुलाई अपराधीको ट्याग भिराइयो।
दोहोरी साँझमा पनि मेजरले गरेका थिए झगडा
छुट्टीको समयमा गुरुङ र तामाङ आफ्नो परिवारसँग नारायणगढको एउटा दोहोरी साँझ गएका थिए। त्यतिबेला मेजर श्रेष्ठ पनि सोही दोहोरी साँझ गएको स्रोतले बतायो। उनीहरुभन्दा मेजर श्रेष्ठ पहिला नै दोहोरी साँझ पुगेका थिए।
त्यतिबेला पनि मेजर श्रेष्ठले आफूलाई पार्टी नदिएको भन्दै उनीहरुसँग झगडा गरेको पाइएको छ। दोहोरीमा समेत उनीहरुमाथि रिस पोखेका मेजर श्रेष्ठले लबको परिवारलाई ‘अब तेरो कोही छैन, तँलाई जे गरेपनि हुन्छ,’ भन्दै धम्क्याउने गरेको स्रोतले बतायो।
यसरी मेजर श्रेष्ठको कार्यशैलीप्रति त्यतिबेला गणका धेरै सिपाहीहरु पीडित भएको र बोल्न नसक्ने भएकाले घटना गुपचुप राखिएको बताइएको छ।

