साउथ सुपरस्टार चिरञ्जीवीलाई कोरोना संक्रमण


मुम्बई(एजेन्सी)– दक्षिण भारतीय फिल्मका सुपरस्टार अभिनेता चिरञ्जीवीलाई कोरोना संक्रमण भएको छ । केही समय अघि मात्र उनले ट्वीटरमा आफ्ना फ्यानलाई यो कुराको जानकारी दिएका हुन् । चिरञ्जीवीको यो ट्वीट पछि उनका फ्यानले स्वास्थ्यलाभको कामना गरेका छन् । सामाजिक सन्जालमा चिरञ्जीवीह्यासट्याग ट्रेण्ड चलेको छ ।

‘फिल्म आचार्यको सुटिङ शुरु गर्नु अघि मैले कोभिड टेस्ट गराएको थियो । टेस्ट रिपोर्ट पोजेटिभ आएको छ । मलाई कुनै प्रकारको लक्षण छैन । अब म होम क्वारेन्टाइनमा छु । पछिल्लो ४,५ दिनमा जो जति मेरो सम्पर्कमा आए, सबैले एकपटक टेस्ट गराउनुहोला । मेरो स्वास्थ्यको बारेमा तपाईंहरुलाई अवगत गराउने नै छु’, उनले लेखेका छन् ।

फ्यानले ट्वीटरमा आफन ‘अन्ना’ अर्थात् ठूलो दाईको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । हालैमात्र चिरञ्जीवी र नागार्जुनले तेलंगनाका मुख्यमन्त्री के चन्द्रशेखर रावसँग भेटघाट गरेका थिए । त्यो तस्बिरलाई उनीहरुले सामाजिक सन्जालमा राखेका थिए ।

चिरञ्जीवीको वास्तविक नाम कोणिदेल शिव शंकर वर प्रसाद हो । फिल्ममा आएपछि मात्र उनले आफ्नो नाम चिरञ्जीवी राखे । उनी दक्षिण भारतीय फिल्मसँगै बलिउडमा पनि लोकप्रिय छन् । उनका छोरा राम चरण पनि दक्षिण भारतीय चर्चित अभिनेता हुन् ।

प्रतिक्रिया