भारतमा खोपको अभाव जुलाईसम्मै, कारक सरकारले लिएको नीतिः उत्पादक


नयाँदिल्ली – भारतमा कोरोना भाइरसविरुद्धको खोपको अभाव अझै केही महिना कायम रहने विश्वकै ठूलो खोप उत्पादक भारतको सेरम इन्स्टिच्युडका प्रमुख कार्यकारीले चेतावनी दिएका छन् ।

नरेन्द्र मोदी नेतृत्वको सरकारले कोरोना भाइरस महामारीको दोस्रो लहर नियन्त्रणमा लिनका लागि तयारी गर्न असफल भएको अवस्थामा खोपको अभाव भएको र यो अभाव कम्तीमा जुलाईसम्म जारी रहने सेरम प्रमुखले बताएका हुन् ।

सेरमका प्रमुख कार्यकारी अदार पूनावालाले हालै दिएको एक अन्तर्वार्तामा खोपको कमी जुलाईसम्मै जारी रहने र यसको कारण पूर्वतयारीको कमी रहेको बताएका छन् । खोपको उत्पादन क्षमता दिन भित्र ६–७ करोड मात्रा प्रति महिनाबाट १० करोड मात्रा बताउने तयारी भइरहेका बेला पूनावालाको यस्तो चेतावनी आएको हो ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदा भारतको अवस्था विश्वमै भयावह बनेको छ । दैनिक झैण्ड चार लाखको हाराहारीमा संक्रमित थपिएका छन् भने झण्डै चार हजारको ज्यान गइरहेको छ । खोप अभियान जारी रहे पनि विभिन्न राज्यहरुले खोप अभाव भएको बताउँदै आएका छन् ।

यस्तै उपचारका लागि औषधि तथा अक्सिजनको अभावका कारण धेरैको ज्यान गइरहेको छ । सरकारले गएको जनवरीमा कोरोना भाइरसको संक्रमण कम रहेका बेला सम्भावित दोस्रो लहर नियन्त्रण वा त्यससँग जुध्नका लागि कुनै तयारी नगरेको आरोप पूनावालाले लगाएका छन् ।

उनले भनेका छन्, ‘सबैले भारतमा कोरोना भाइरसको महामारी अन्त्य हुन लागेको वा भएको सोचे, सम्भावित दोस्रो लहर तर्फ ध्यानै गएन ।’ कोरोना भाइरसको महामारी नियन्त्रणका प्रयासको सट्टा आत्मसन्तुष्टि र आन्तरिक राजनीतिलाई प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्री मोदीको आलोचना हुने गरेको छ ।

खोपको अभावलाई लिएर सेरम इन्स्टिच्युडलाई राजनीतिज्ञ तथा आलोचकहरुले बदनाम गरेको पूनावालाले बताएका छन् । तर खोपको अभाव हुनुमा सेरम नभई सरकारले लिएको नीति कारक रहेको उनले बताए । बिनाकारण आफ्नो आलोचना भएको दाबी गर्दै पूनावालाले माग नआएका कारण पहिले नै खोपको उत्पादन नबढाएको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘हामीलाई लागेकै थिएन कि वर्षको एक अर्ब मात्रा भन्दा बढि खोप चाहिन्छ ।’ कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्यूडसँग नयाँ दिल्लीले दुई करोड १० लाख मात्रा खोप अडर गरेको थियो फेब्रुअरी अन्त्यसम्मका लागि । यस्तै मार्चमा थप ११ करोड मात्रा खोप माग भयो ।

गएको महिना भारत सरकारले कम्पनीलाई दिँदै आएको ऋणको मात्रा बढाएको थियो खोपको उत्पादन थप गर्नका लागि । पूनावालाले भने, ‘हामीले अहिले आएर यस्तो गर्‍यौँ अभाव कम गर्नका लागि जुनकुरा पहिले नै गर्नु पर्ने थियो । अहिले त भारतमा मात्रै होइन विश्वमै खोपको अभाव भएको छ ।’ एजेन्सी

प्रतिक्रिया