


बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’

चितवन– बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल (फार्मेसी) थप गरिएको छ । यस अघि दुई वटा फार्मेसी सञ्चालन हुँदै आएको थियो । बिरामीको चाप बढेपछि फार्मेसी थप गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार अस्पतालको डेकेयरमा नयाँ फार्मेसी शाखा विस्तार गरिएको हो । भर्ना नगरी केमो थेरापी चढाउनुपर्ने बिरामी ‘डेकेयर’मा आउने गर्दछन् । डेकेयरमा आउने बिरामीलाई औषधि किन्न असहज भएपछि शाखा विस्तार गरिएको उनले जानकारी दिए ।
उनका अनुसार ‘ओपिडी’ फर्मेसीबाट बिमामार्फत् र नगदमा औषधि खरिद गर्ने व्यवस्था गरिएको छ,भने अन्तरङग भवनभित्र विपन्नसहित नगदमा चौबिसै घण्टा खुल्ला रहने गरी फार्मेसी सञ्चालनमा रहेको छ ।
डेकेयर फर्मेसीबाट विपन्नमार्फत् र नगदमा औषधि खरिद गर्न सकिने छ । भर्ना नभइ केमो लगाउनेलाई लक्षित गरी सञ्चालन गरिएको यो फार्मेसी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहने उनले जानकारी दिए ।
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले बिरामीलाई औषधि किन्न पालो कुर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न फार्मेसीको नयाँ शाखा सञ्चालन गरिएको बताए ।
छिट्टै शल्यक्रिया कक्ष र सघन उपचार कक्षलाई सहज हुने गरी अर्को फार्मेसी सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।

