

ओली–नेपालः ५० बर्षको राजनीतिक सम्बन्ध ‘डिभोर्स’ मोडमा

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालको राजनीतिक सम्बन्ध ‘डिभोर्स’ मोडमा पुगेको छ।
५ पुस, ०७७ को प्रतिनिधि सभा विघटनको सिफारिसपछि चिसिएको सम्बन्धको राजनीतिक राप छुट्टिने मोडको सुरुआत भने तत्कालिन नेकपा अध्यक्षबाट ओलीलाई कारबाही गरी निकालिएको र नेपाल अध्यक्ष भएको घोषणाले गति दिएको हो।
सर्वोच्च अदालतले नेकपालाई अवैध ठहर गर्दै एमाले र माओवादी केन्द्र ब्युँताएपछि भने पालोको पैंचो तिर्ने प्रतिशोधपूर्ण अवस्था आएपछि यस्तो मोड आएको हो। प्रधानमन्त्री ओलीले अध्यक्षका हैसियतमा नेपाललाई स्पष्टिकरण सोधेका थिए, जसको जवाफ नभएर उल्टै प्रश्नहरूको फेहरिस्त पठाइएको छ।
ओलीले शुक्रबारका लागि संसदीय दलको बैठक डाकेका छन्। उक्त बैठकमा नेपाललगायतका सांसद उपस्थित नहुने अवस्था छ। बालुवाटारमा डाकिएको बैठकमा आफू नजाने नेपालले बताइसकेका थिए।
‘अध्यक्ष र महासचिवले बोलाएको बैठकमा नआउने, स्पष्टिकरण पनि चित्त बुझ्ने नभएर उल्टै आरोप लगाउने प्रकृतिको आएपछि केही महिनालाई पार्टी सदस्यता खारेज गर्ने या सँधैका लागि पनि हुनसक्ने अवस्था आउन सक्छ’, उच्च स्रोतले भन्यो,‘आखिर हिजोका दिनमा माधव नेपालले प्रधानमन्त्रीलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निकालेको होइन र?’
नेपाल समूहले एमालेभित्रै समानान्तर गतिविधि जारी राखेका छन्। उक्त समूहले राष्ट्रिय कार्यकर्ता भेलादेखि भ्रातृ संगठनको पनि समानान्तर कमिटी गठन गरेपछि स्पष्टिकरण पठाइएको थियो।
नेकपामा रहँदा पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर आफूलाई हटाएकोप्रति क्रुद्ध रहेका ओलीले एमाले भएपछि पनि नेपालका गतिविधिलाई नजिकबाट नियाँलेका छन्। खासगरी प्रचण्डसँगका निरन्तरका भेटका विषयमा उनको चासो थियो। त्यसैले पनि स्पष्टिकरणमा सोधिएको थियो,‘प्रचण्डसँगका निरन्तरका भेटवार्ता के का लागि हुन्?’
स्पष्टिकरणको जवाफ लेखेकै दिन पनि नेपाल–प्रचण्डको भेटवार्ता भएको थियो। अझ प्रचण्डले सार्वजनिक भाषणमै नेपालहरू एमाले कब्जा गर्न या बिद्रोह गर्न गएको भनेपछि ओली अझ सशंकित बनेका थिए। त्यसैले अहिले यो ५० बर्षको राजनीतिक सम्बन्धमा डिभोर्स मोड आएको स्पष्ट देखिन्छ।

