प्रचण्डलाई त्यसैबेला खाँचो थियो एउटा ‘जंगबहादुर’


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको एउटा सम्बोधनमा प्रयोग गरेको शव्ददेखि नै सुरुआत गरौं, प्रसङ्ग।

निम्छरो!

खासमा यो नेपाली कांग्रेसका लागि ओलीको शव्दवाण थियो। यसले राजनीतिक परिदृश्यमा निक्कै चर्चा पायो। कांग्रेसले त नियमापत्ति नै गरेको थियो। शव्द फिर्ताका लागि प्रतिनिधि सभामा बारम्बार आवाज पनि उठायो।

विषयबस्तु नेपाली कम्युनिस्ट आन्दोलनको एउटा उचाई र इतिहासमा रहेका पात्रलाई अहिले निम्छरो नै देखेका कारण सन्दर्भबस जोडिएको हो।

कम्युनिस्ट हस्ती पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई अहिले परिस्थितिले त्यस्तै ‘निम्छरो’झैं बनाएको छ। एउटा ठूलो मोर्चा उनीहरूसँग रहे पनि सार्वजनिक मञ्चबाट उनीहरूले प्रधानमन्त्री ओलीलाई श्री ३ जंगबहादुरको पगरी लगाइदिएका छन्, आलोचनामा शव्द खर्चिँदा।

यो जंगबहादुरको प्रसङ्ग राजनीतिको डेढ दशकअघि नै अजंग पार्टीको नेतृत्व गरी मैदानमा उत्रिएका प्रचण्डले गरेका थिए। त्यसलाई बिस्मृतिमा राख्नु उपयुक्त हुनेछैन।

खुलामञ्चमा प्रचण्डका तेजिला भाषण चलिरहेका थिए। खास अर्थमा भन्ने हो भने प्रचण्डले त्यसैबेला भनेका थिए– यो देशमा कि बुद्ध कि जंगबहादुरको खाँचो छ। उनी त्यहि राजनीतिक अभ्यासमा नै लागे।

उनले बुद्धमार्गको परिदृश्यमा शान्तिप्रक्रियालाई आत्मसाथ गरे, शान्ति सम्झौतामा हस्ताक्षर गरे। राजनीतिक काल परिस्थिति र समयले उनैले एकीकरण गरी केपी ओलीलाई ‘जंगबहादुर’ बन्ने बाटो खुलाइदिए।

उनी भन्छन् नि– एकीकरणको प्रस्ताव ओलीको नभई मेरो थियो भनेर। उनको त्यो प्रस्ताव, गठजोडले कम्युनिस्ट पार्टीको बहुमत मात्र आएन, त्यसभित्र एउटा ठूलो दल एमालेको नेतृत्व गरेका ओलीको मार्ग ‘जंगबहादुर’तिर नै लम्कियो। यो, टिप्पणीकारले भनिरहनु पर्दैन, अहिले सडकमा, सभामा, गोष्ठिमा, भेलामा प्रचण्ड र माधव नेपालहरू आफैं बर्बराइरहेका छन्।

राजनीतिक नेतृत्वको बहिर्गमन वा एउटा नयाँ विचारको स्थापना नेपाली जनताले नगर्ने हो भने, व्यक्ति फेरिएलान् उनको अभ्यास त उनको प्रवित्तिको नेपथ्यमा निस्क्रिय नै छ, मौका पाउनासाथ सक्रिय हुने नै छ, त्यो देखिएको तथ्य हो

जंगबहादुरको उदय कसरी भएको थियो? भन्ने विषयलाई सन्दर्भमा उधिनौं–

नेपाली राज्यसत्तामा वीरनरसिंह कुँवर नै जंगबहादुर राणाका रुपमा उदय भए। नेपालको ८औँ प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज थिए। वि.सं. १९०३ सालमा भएको कोतपर्व र भण्डारखाल पर्वपछि जंगबहादुर नेपालको राजनीति र शासन व्यवस्थामा एक्कासी हावी भए।

नेपालको शासनव्यवस्थामा राजा राजेन्द्र शक्तिशाली भएर पदासिन रहेको समयमा जंगबहादुरले राजदरबार भित्र आन्तरिक विद्रोह गरेर युवराज सुरेन्द्रलाई गद्दी आरोहण गराइ दामोदर पाँडे, भीमसेन थापा, रणजङ पाँडे र माथवरसिंह थापाको नीति सकारेर आफूलाई अत्यधिक शक्तिशाली बनाएका थिए।

वि.सं. १९१३ श्रावण १८ मा जंगबहादुरले मुख्तियार पदबाट राजीनामा दिएर साउन २४ गते राजा सुरेन्द्रबाट कास्की र लमजुङको श्री ३ महाराज पद प्राप्त गरेका थिए। महाराज पद प्राप्त गरिसकेपछि नै उनलाई श्री ३ जंगबहादुर कुँवर राणाजी भन्न थालिएको थियो। श्री ३ महाराजको लागि श्रीपेच बनाउन लगाई जनताको छोराद्वारा श्रीपेच लगाउने जंगबहादुर पहिलो व्यक्ति थिए।

नेपालले अंग्रेजसँगको युद्धमा गुमाएको भूभागमध्ये यीनले अंग्रेजलाई खुसी पारी राप्तीदेखि महाकालीसम्मको भूभाग जसमा वर्तमानको तराईमा पर्ने बाँके, बर्दिया, कैलाली तथा कञ्चनपुर पुनः नेपालमा गाभ्न सफल भएका थिए।

नेपालमा राणा शासनको जग बसालेर १०४ वर्षसम्म पारिवरिक शासनशैलीको आरम्भ गर्ने व्यक्ति यिनै हुन्। बेलायती शासकहरूका प्रिय रहेका जंगबहादुरले आफ्नो शासनकालको समयमा दरबारिया कट्टर विरोधीहरूलाई तह लगाएर एकतन्त्री शासन चलाएका थिए।

जंगबहादुरको यो प्रसङ्गले स्पष्ट भन्छ– प्रचण्डको चाहना पनि त्यसबेला यहि थियो। राज्यसत्ता कब्जा गर्ने रणनीति। समय काल र स्थितिले उनको प्रयोगवादी सिद्धान्तको राजनीतिक मियोको संस्करणचाहिँ ओलीमा पुग्यो।

अहिलेका अनेक प्रकारका निर्णय, प्रधानमन्त्रीका गति कुनै प्रचण्डलाई रोक्न मात्र होइन, प्रणालीलाई नै परिवर्तन गर्न देखिएको छ। प्रचण्ड त्यसबेला सेना चलाएर वा राज्यसत्ता कब्जा गरी जनवादी केन्द्रीयताका नाममा एकतन्त्री कम्युनिस्ट शासनको बिगुलमा थिए। आखिर उनी सफल भएको वा उनको राजनीतिक ध्येय सफल बनिदिएको भए, प्रतिरोध नभएको भए आज लोकतन्त्रको खोजीमा प्रचण्डविरुद्धको संघर्षमा मैदानमा ओली देखिन्थे, सम्भवतः।

प्रचण्डहरूका व्याख्याका आधारमा तानाशाही शैली ओलीमा रहेको र प्रवित्ति त्यहि हो भने ठिक उपर्युक्त हरफमा गरिएको परिकल्पनाको अर्को संस्करण अहिले भुक्तभोगी आफैं बनिरहेका छौं। राजनीतिमा दुईवटा प्रवित्ति हुन्छ। प्रणाली पछिका कुरा भए। एउटा प्रगतिशील र अर्को परम्परावादी प्रवित्ति। दुवैका प्रणाली व्याख्यामा तानाशाही मार्ग लिन सक्थे, सक्छन्। तर प्रचण्डले देखेको प्रगतिशील राज्यसत्ता प्राप्तिको बाटो पनि जंगबहादुर शैलीमा नै जाने थियो, ओलीको त भोगीरहेका छौं।

नेपाली जनता, हामी जो लोकतन्त्र, प्रजातन्त्र, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताको पक्षधर छौं। यसमा हामीले खोजेको राजनीतिक प्रवित्ति न ओली हुन् न प्रचण्ड। किनभने एकको सोच नै जंगबहादुर बन्ने थियो, अर्कोको अभ्यास त्यहि कसीमा रहेको व्याख्या उनीहरू नै गरिरहेका छन्।

यसर्थ, विकास र समृद्धि, एउटा कुशल मुलुकका निम्ति यी दुवैखाले राजनीतिक नेतृत्वको बहिर्गमन वा एउटा नयाँ विचारको स्थापना नेपाली जनताले नगर्ने हो भने, व्यक्ति फेरिएलान् उनको अभ्यास त उनको प्रवित्तिको नेपथ्यमा निस्क्रिय नै छ, मौका पाउनासाथ सक्रिय हुने नै छ, त्यो देखिएको तथ्य हो।

प्रतिक्रिया