लाजिम्पाट रड प्रहार प्रकरणः ऋषि धमलाको कनेक्सन !
मुख्य योजनाकार राई बेलायत फरार
काठमाडौं – लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा भएको रड प्रहार प्रकरणमा पत्रकार ऋषि धमलाको समेत कनेक्सन भेटिएको छ ।
कात्तिक ११ गते लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा नुवाकोट ककनी घर भई हाल टोखा बस्दै आएका विक्रम लामामाथि भएको रड प्रहार घटनाका मुख्य फरार अभियुक्त अजय तामाङसँग पत्रकार धमलाको कनेक्सन देखिएसँगै उक्त घटनामा धमलाको पनि संलग्नता हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
अस्पतालको पार्किङमा रहेका लामामाथि दिनदहाडै चार जनाले ज्यान मार्ने उद्देश्यका साथ योजनाबद्ध तरिकाले रड प्रहार गरेका थिए । रड प्रहारबाट लामा गम्भीर घाइते भएका थिए । उनको ज्यान लिनका लागि अजय तामाङले बेलायतको अल्डरसटमा न्यू लक्ष्मी ज्वेलर्स सञ्चालन गर्दै आएकी लक्ष्मी राईबाट ७० लाख रुपैयाँ सुपारी लिएको प्रहरीको अनुसन्धानबाट खुलाशा भएको छ ।
लक्ष्मीले पूर्वपतिका भाई एवं पूर्व देवर विक्रमलाई आफ्ना विभिन्न सूचना जानकारी भएको हुनाले आफ्नो ज्यान लिनका लागि अजयको समूहलाई ७० लाखको सुपारी दिएको दाबी घाइते लामाले आफू निकटलाई बताउँदै आएका छन् । लक्ष्मी र विक्रमका दाजुबीच केही समय अगाडि डिभोर्स भएको थियो ।
घटनामा विक्रममाथि चार जनाको समूहले रड प्रहार गरेको भिडियो सामाजिक सञ्जालतिर भाइरल भएको थियो । बिहान करिब साढे ११ बजेको समयमा गाडी पार्किङ गरी गाडीबाट निस्कनासाथ लामामाथि पार्किङमै लामाको प्रतिक्षा गरिरहेका अजयको समूहले लामामाथि रड प्रहार गरि मरणासन्न हुने गरी कुटपिट गरेका थिए । लामा अर्धचेत अवस्थामा ढलेपछि उनीहरू मर्यो भन्दै फरार भएका थिए ।
सो घटनामा संलग्न रहेका मार्सल भनिने शैलेन्द्र तामाङ पक्राउ परेका छन् भने अजयसहित ३ जना अझै फरार छन् । आक्रमणका लागि मुख्य नाइके अजयले चारवटा नयाँ मोबाइल र सिमकार्ड समेत किनेको प्रहरीको अनुसन्धानबाट खुलाशा भएको छ ।
यस योजनामा पूर्व प्रदेशमन्त्री दीपक मनाङ्गेका एक सहयोगीको पनि कनेक्सन देखिएको प्रहरी स्रोतको दाबी छ । प्रहरीले घटनाका सम्बन्धमा सुक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताएको छ ।
उक्त घटनाको मुख्य योजनाकार भनिएकी लक्ष्मी राई घटनाकै दिन बेलुका लन्डन उडेकी थिइन् । यसलाई संयोगमात्र मान्न नसकिने प्रहरीको बुझाइ छ । राई पत्रकार धमलासँग निकट रहँदै आएकी थिइन् ।
लाजिम्पाट घटनापछि धमलाले प्रहरीलाई समेत पटक–पटक फोन सम्पर्क गरेर अनुसन्धानमा दबाब दिएकै कारण उक्त घटनामा राईको संलग्नता रहेको पुष्टी समेत गरेका छन् । नत्र एक आपराधिक घटनामा अनुसन्धानलाई नै प्रभावित हुने गरी ऋषि धमला जत्तिको पत्रकारले चासो राख्दै अनावश्यक दबाब दिनुले कतै सो घटनामा उनकै संलग्नता त छैन भन्ने प्रश्न खडा भएको छ ।
को हुन् लक्ष्मी राई ?
नेपाली र बेलायती दुवै देशको राहदानी प्रयोग गर्दै आएकी लक्ष्मीका सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दोहोरो नागरिकता दुरूपयोग गरेको अभियोगमा अनुसन्धान सुरु गरिरहेको छ । बेलायतको अल्डरसटस्थित न्यू लक्ष्मी ज्वेलर्स सञ्चालन गर्दै आएकी सुनसरीकी ५० वर्षीया लक्ष्मी राईमाथि सीआईबीले अनुसन्धान सुरु गरेको हो ।
लक्ष्मीले नेपालको नागरिकता परित्याग नगरी बेलायती राहदानी प्रयोग गरेको खुलेपछि सिआईबीले अनुसन्धान सुरु गरेको स्रोतले जनाएको छ ।
हाल बेलायतमै रहेकी लक्ष्मी बेलायतकै एक केसी थरका काउन्सिलरसँग रंगेहात भेटिएको र ती काउन्सिलरकी श्रीमतीले रंगेहात भेटेपछि कुटपिट गर्दा घाइते समेत भएकी थिइन् । अहिले ती काउन्सिलरको श्रीमतीसँग डिभोर्स भइसकेको छ ।