एमाले कचिङ्गल, फरक–फरक एङ्गलः प्रचण्डको बाहुबली बन्ने राजनीतिक प्रयोग


काठमाडौं– २३ फागुनमा सर्वोच्च अदालतले गरेको फैसलापछिका दिनपछिका राजनीतिक घटनाक्रमका चर्चा गरौं, अघिल्लामा प्रायः सबै अपडेट छन्।

त्यस दिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनर्स्थापित भए, नेकपाको औचित्य ऋषि कट्टेलसँग रह्यो। ९ दिनको यो परिदृश्यमा समाचार माध्यमो प्रमुखता कुनै अर्को समाचारमा छैन। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेभित्रको कचिङ्गल फरक–फरक एङ्गल बनिरहेका छन्।

२४ फागुनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लसपसिएका एमाले नेता माधवकुमार नेपालको टोलीको पेरिसडाँडाँमा ‘गुडविल फेयरवेल’ भयो। त्यो फेयरवेलले नेपाल समूहलाई बालुवाटार वा धुम्बाराहीमा प्रवेशका लागि मार्ग दिएन, पुगिदिए अर्याल होटलतिर।

२५, २६, २७ नेपाल पक्षका भेला र ओलीका कुरामा नै मिडिया अभ्यस्त भए। त्यसबीच जनता समाजवादी पार्टीको समीकरणको चर्चा जोडिन्छ।

२८ फागुनमा बालुवाटारमा ओलीले एमाले बैठक डाके र माओवादी केन्द्रतिर नफर्किएका रामबहादुर थापा बादलसहित २३लाई केन्द्रीय कमिटीमा मनोनित गर्दै अन्य कमिटी खारेज भए। अध्यक्ष र महासचिव पद राख्दै मंसिर २ देखि ८ गतेसम्ममा महाधिवेशन गरिने निर्णय भयो।

२९ फागुनमा नेपाल पक्षले अर्याल होटलमा समानान्तर समिति बनाउने, राष्ट्रिय कार्यकर्ता भेला डाक्ने निर्णय गरेको थियो। उता पेरिसडाँडाँमा माओवादी केन्द्रको नाम फेर्ने एजेन्डासहितका बैठक चलिरहेको थियो र एमालेको आन्तरिक विवादको चरम कहाँसम्म पुग्छ भनी प्रचण्डलगायत मस्तसँग नियाँलिरहेका थिए।

प्रचण्ड केही कार्यक्रममा सहभागी हुँदै बादलसहितलाई माओवादी केन्द्रमा नफर्कन, उतै ओलीसँगै जान पनि भनिरहेका थिए।

१ चैत यस्तै एमालेभित्रका विवादमा बित्यो। २ चैतमा ओली र नेपालबीच वार्ता हुने कुरा भयो। पहिला गुलियो, पछि टर्रो भन्नेसम्मका कुराकानी सतहमा आए।

३ चैतमा एमाले अध्यक्ष ओलीको चियापानमा केही सहभागी भए। नेपाल पक्षले बाइकट गरिदियो। ओलीले भने,‘उपद्रो स्वीकार्य हुनेछैन।’

यी यावत परिदृश्यको पृष्ठभूमी कट्टेलले पाएको नेकपा रहँदा प्रचण्ड सृजित कृत्रिम राजनीतिक प्रयोग पुष्टि हुनेछ!

पहिलो संविधान सभामा ठूलो पार्टीका रुपमा जनअनुमोदन पाए पनि प्रचण्ड र उनका नेता कार्यकर्ताले संगठनलाई मजबुद राख्नेतिर ध्यान दिएनन्। पार्टीलाई विधि र पद्दती, संगठनात्मक संरचना, महाधिवेशन, नेतृत्व हस्तान्तरण या परिवर्तन, लोकतान्त्रिक पद्दतीको अभ्यास नै भएन।

बेलुनजस्तो बनेको त्यसबेलाको माओवादीभित्रको विषयलाई पनि यहाँनेर केरकार गरौं।

पहिलो परिदृश्य,

प्रचण्ड नेतृत्वमा अजम्बरी भएर बस्नका लागि मोहन वैद्य किरणको पक्षमा उभिए र डा. बाबुराम भट्टराईलाई आइशोलेसनमा राखिदिए। आफ्ना पक्षका नेता लिएर बाबुरामले निरन्तर संघर्ष गरे। अल्पमतमा रहेका कारण उनको केही सीप चलेन।

वैद्य समूह कब्जाको रणनीतिलाई दबदबा दिन थालेपछि भारतीय पक्षले तत्कालिन माओवादीलाई पेल्न थाल्यो। यहाँसम्मकी तत्कालिन भारतीय राजदूत राकेश सूदले माओवादीविरुद्ध खुलेआम नै छेडखानी गरिदिए। माओवादीका गोपाल किराँतीहरूले भारतीय राजदूतलाई जुत्ता हान्नेतिर सक्रिय भए। यसपछि भारतीय दबाबमा परे प्रचण्ड। भन्न थाले– मलाई मदन भण्डारी कै हविगतमा लैजाने प्रयास हुँदैछ।

दोस्रो परिदृश्य,

प्रचण्डले वैद्यहरूको लाइनलाई आइशोलेशनमा राख्नका लागि बाबुरामसँग गठजोड गरे। प्रचण्डको यो प्रयोगले अप्ठेरो अवस्था आएपछि धोवीघाटमा वैद्य, बाबुराम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलको संयुक्त बैठक बसी प्रचण्डबाट अध्यक्ष खोस्ने सहमति बन्यो।

यो चाल पाएका प्रचण्डले अर्को उपाय रोजे। सुटुक्क बाबुरामको घरमा डिनर गरी प्रधानमन्त्री बनाउने बचन दिए। झलनाथ खनालको सरकार ढल्यो र उनले मधेसी दलको सहयोगमा बाबुरामलाई प्रधानमन्त्री बनाए।

तेस्रो परिदृश्य,

संविधानसभा ढल्यो। विघटन भयो। अब राजनीतिक दलभित्र विवादका चरम उत्कर्ष भए। यसपछि माओवादीबाट वैद्य समूह अलग भयो। प्रचण्डसँग आन्तरिक रुपमा बाबुरामले निरन्तर संघर्ष गरे। बिराटनगर सम्मेलनमा बाबुरामको पनि केही सीप चलेन। प्रचण्ड महाधिवेशन नगरी नेतृत्वमा कायम रहे।

यसपछिका घटनाक्रममा बाबुराम पनि संविधान बनेपछि अलग भए। माओवादीको जनाधार दोस्रो संविधानसभाको चुनावमा नै खस्किएको थियो। त्यसपछिका चुनावमा प्रचण्डको राजनीतिक जनाधार कमजोर निश्चितप्रायः भएपछि उनले एमालेभित्र राजनीतिक शक्तिको संजिवनी बुटी देखे।

कतिपय जानकार भन्छन्,‘ओलीको प्रधानमन्त्री बन्ने तृष्णा र तिर्खाको बारेमा राम्रो अध्ययन गरेका प्रचण्डले केही समयपछि संगठित र बलियो पार्टीको अध्यक्ष बन्न सक्ने मौखिक सम्झौता गरे।’

घटनाक्रमले त्यो पुष्टि गरेको पनि देखियो। चुनावसम्म गठबन्धन गरेपछि कम्युनिस्टको ठूलो जनाधार बन्यो। प्रचण्ड आफैं पनि भन्छन्,‘एकीकरणको प्रस्ताव मैले लगेको हुँ।’ त्यो प्रस्तावभित्रको आन्तर्य र तिर्खाचाहिँ संगठन कब्जाको नीति नै थियो भन्ने स्पष्ट थियो।

नेकपा विवादपछि ओली पशुपतिनाथको मन्दिरमा किन पुगे? जब मानिस कुनै महासंकटको पहिचान गरी टार्न सक्छ, उसलाई धार्मिक आस्था जागेर आउँछ। प्रचण्डको महत्वकांक्षा पूरा हुन नदिएको, सम्भव हुन नदिएका कारण उनी मन्दिर पुगेका हुन्। उनले त सार्वजनिक मञ्चमा नै भनेका छन्,‘प्रचण्डहरूका चाहना म कुनै हालतमा पूरा हुन दिनेछैन।’

बाहुबली बन्ने प्रयोगका सन्दर्भमा

ओली झन् स्वास्थ्यका हिसाबले ताकतिला हुँदै आएपछि प्रचण्डलाई नेतृत्व हस्तान्तरण नहुने अवस्था आयो। महाधिवेशनसम्म उनी फस्ट म्यान हुने अवस्था नआएको पृष्ठभूमीमा नै स–साना विवादका क्रममा उनलाई नेकपाको ‘कार्यकारी अध्यक्ष’ भनियो।

यसले पनि नपुगेपछि प्रचण्डले पुरानै खेललाई ब्युँताए। त्यसको पहिलो प्रयोग बामदेव गौतममार्फत गरेका थिए। गौतमले ओलीविरुद्ध मुख फोरे र सचिवालयको बैठकमा प्रस्ताव गरेका थिए– एक व्यक्ति, एक पद। यसको अर्थ थियो– प्रचण्डलाई एकल अध्यक्ष।

‘प्रचण्डलाई अहिले प्रधानमन्त्री बन्ने हतारो थिएन। प्रधानमन्त्री चलाउन सकिने हतारो थियो। एकल अध्यक्ष भएपछि प्रधानमन्त्रीलाई पार्टीले पठाएको भनी उनले भरपूर प्रयोग गर्ने थिए र संसदीय दल पनि कब्जाको नीति लिएका थिए’, उनलाई चिन्नेहरू भन्छन्,‘ति कुनै चाहना र प्रयोगलाई ओलीले पूरा हुन दिने ठाउँ नभएपछि माधव नेपाललगायतका नेताहरूको प्रयोग गरे।’

सचिवालयमा अत्यधिक बहुमत पुराउने कोशीश प्रचण्डको थियो। यो परिघटना अघिल्लो पटक नै हुने थियो तर त्यसबेला प्रधानमन्त्री पदको लोभमा प्रचण्डतिर रहेका गौतमले ६ बुँदे नयाँ प्रस्ताव ल्याए। यो प्रस्तावको औचित्य थिएन यद्यपि गौतम नै साथमा नरहेपछि सचिवालयमा आफू बहुमतमा नहुने प्रचण्डले देखे र झारो सहमतिमा खुम्चिए।

गौतमले प्रधानमन्त्री नपाउने भएपछि सचिवालयमा प्रचण्ड फेरि बहुमतमा भए र सारा खेल त्यहिँबाट सुरु हुँदै १९ बुँदे र ३९ बुँदेमा पुग्यो। त्यसपछिका परिघटना र अहिले पार्टी विभाजनका प्राविधिक पक्षका पराकम्पन छँदै छन्।

निष्कर्श,

प्रचण्डले गरेको प्राविधिक प्रयोगले एमालेभित्र रहेको गुट चलायमान भयो। खासगरी संगठित अवस्थामा रहेको एमालेमा एउटा गुट सँधै नै सक्रिय हुने गरेको थियो।

माधवकुमार नेपाल नेतृत्वमा रहँदा होस् या झलनाथ खनाल नेतृत्वमा रहँदा एमालेभित्र ओली गुट प्रभावशाली थियो तर निर्णायक थिएन। यो सक्रिय र चलायमान हुन सक्छ भन्ने तिकडम प्रचण्डलाई थियो र अहिले ओली नेतृत्वमा भएका बेला नेपाल गुटलाई उनले थप हावा भरिदिए।

त्यसैको परिणाममा एमाले बिभाजनको विन्दुतिर लम्किँदा प्रचण्ड पेरिसडाँडाँमा ढुक्क हुनुको अर्थ हो– पूरै भाग नपाए पनि आधासम्म ल्याउन सकिने भयो। यसले राजनीतिक प्रयोगमा अमृतको काम नगरे पनि तत्कालका लागि संजिवनीको काम गर्ने उनी ठान्छन्। त्यसैले उनका अभिव्यक्तिमा त्यस्ता भनक आउँछन् र भन्छन्,‘एमालेभित्रको माधव नेपाल गुटका नेता कार्यकर्ता नचलाउनू, जति भन्नुछ ओली गुटलाई भन्नू।’

यति मात्र भन्दैनन्, उनी आफ्नो प्रयोग र योजनाका केही बुँदालाई सांकेतिक अर्थमा खोल्छन्,‘कि माधव नेपालले एमाले कब्जा गर्छन् कि बिद्रोह गर्छन्।’ यो नै उनको राजनीतिक बाहुबली बन्ने महत्वकांक्षाका पृष्ठभूमी र प्रयोग हुन्।

प्रतिक्रिया