‘होला’ मा उर्लिएको वैचारिकताको खोलाः आखिर के होला ?


सँगै–सधैँ कलेज जाने साथी कलेज नगएको तीन दिन भएको थियो । सोचेँ साले यो जाडोमा तातो ओच्छ्यानमा मोज गर्दै ‘होला’ । हिजो फेसबुकमा केटीसँग बसेको फोटो हाल्दैथ्यो । हिजोको घुमफिरले खत्रै थकाई लाग्या ‘होला’ । कलेज पुगेपछि सरले साथीको बारेमा सोध्नुभयो । अर्को साथीले भन्यो ‘हिजो पार्टीमा छु भन्थ्यो, पार्टी खत्रै लागेछ क्यारे त्यही भएर सुतिरा ‘होला’ ।’ मोबाईल साइलेन्टमा थियो कलेजबाट फर्कँदा यस्सो मोबाईल झिकेर हेरेँ उही साथीको २ मिस्डकल आएछ, सोचेँ सालेले नोट माग्न त फोन गरेको ‘होला’ । मैले त्यहि सोचेर कल ब्याक गरिनँ । त्यसदिन बेलुका त्यहि साथीको आमाकोे फोन आयो । उहाँले साथीसँग पैसा सकिँदा व्यवस्था गरिदेउन भन्दै फोन गर्नुहुन्थ्यो । फोन उठाइँन, सोचेँ त्यही त ‘होला’ । भोलिपल्ट थाहा भयो कि साथी रातभर होटलको ज्यालादारी काम सकेर साइकलमा कोठा फर्कँदै गर्दा उसलाई कारले ठक्कर दिएछ । मेरो र उसको रगत समूह मिल्ने हुनाले मेरो खोजी भएको रहेछ तर म हस्पिटल पुग्दा साथीले संसार छाडिसकेको थियो ।

हस्पिटलमा आएकाहरु प्रायः मेरै लयमा अझै अनुमान लगाइरहेका थिए । राति–राति हिँड्ने भनेपछि पक्कै केही नराम्रै काम गथ्र्यो ‘होला’ । कि कसैसँग रिसिवि थियो होला र त्यसैले ठक्कर दियो ‘होला’ । कि डिप्रेशनमा गएर आफैँ ठक्कर खान गयो ‘होला’ । सत्य–तथ्य आफ्नो ठाउँमा थियो । साथीले त हामीलाई छाडिसक्यो तर ती आफन्तहरु र म त अझै अनेकन अनुमान लगाइरहेका छौँ, परबाट मूल्यांकन गरिरहेका छौँ ।

त्यसपछि ‘होला’ का बारेमा म झन् सोच्न थालेँ । दिनमा कतिपटक होला भनेर कसैको अवस्थाबारे अनुमान लगाउँछु ? ‘होला’ भनेर कसैलाई कति नराम्रो सोच्छु ? आजसम्म होला भनेर गरिएका त्यस्ता अनुमानले कति सम्बन्धहरू बिगारेँ ? कति पटक ‘होला’ लाई आधार बनाएर पछुताएँ ?

आजसम्म पूर्ण रूपले सत्यता नबुझी कतिपटक व्यक्तिमा लपेटिएको घटनाको अन्दाज गरेँ होला ! मैले ‘होला’ भनेकै भरमा कतिलाई मानसिक पीडा भयो होला । म भित्रको ‘म’मा नै सहि तर कतिको चरित्र हत्या गरिदिएँ होला । सोझालाई लाटा बनाइदिएँ होला । पवित्रलाई अपवित्र बनाइदिएँ होला । सज्जनलाई दुर्जन बनाइदिएँ होला । कतिलाई त गुमाइसकेपछि प्रायश्चित गर्न पनि पाइनँ होला ।

यहाँ एकपटक प्रेममा हारेकाहरु फेरी जित्न सकिन्न होला भनेर प्रेम गर्न नै छाड्छन् । प्रेमबाहेक हामी जीवनका यस्तै अनेक पाटाहरुमा ‘होला’ को पछि लागेर अल्मलिन्छौँ ।

कतिपल्ट आफूलाई पनि दोषी ठानेँ होला ! सोच्दै जाँदा मैले सामान्य मानेको ‘होला’ त अझै ठूलो–ठूलो हुँदै गयो । यो त मेरै वरपर सुतिरहेको मेरै बानी जस्तो रहेछ । यो त मैले अरूलाई बुझ्ने प्रयत्न गर्नुभन्दा बढी मैले अरूलाई सजिलै एउटा कुरामा सीमित गर्ने साधन जस्तो पो रहेछ । मैले जसलाई बुझ्न प्रयास गर्दिनँ, जसको नजिक जाने प्रयत्न गर्दिनँ वा सक्दिनँ, त्यसलाई परबाट हेर्ने मेरै आँखा पो रहेछ । कसैलाई बुझ्नुभन्दा पहिला ऊमाथि यस्तो होला भनेर बनाइहाल्ने धारणा ।

म त एकपटक पनि सोच्दै नसोची अरूका बारेमा बोल्ने रहेछु, बोल्नु अगाडि उसको ठाउँमा आफू नबसेर सिधै मूल्यांकन गर्ने रहेछु, न अरूले यो त यस्तो हो भनेका भरमा पत्याउने पनि रहेछु ।

एकदिन देखेकै भरमा, एकैछिन बोलेकै भरमा यो गफाडी होला, घमन्डी होला, छुच्चो होला अथवा अरू केही होला भन्नु त खोलाको किनारमा बसेर यो खोला एकदम गहिरो होला भने जस्तै हो, तर म त पानीसँग भाग्दो रहेछु । म डुबेँ भने न त्यसको गहिराई थाहा पाउन सक्छु ।

ट्याटु खोप्ने मान्छे ट्यापे होला ! कपाल पाल्ने मान्छे खराब होला ! पातलो मान्छे देख्दा गलत नशामा डुबेको होला ! कोहि केटा र केटी हिँडेको देख्दा पक्कै जोडी होला ! फेरी अर्को सँग हिँडेको देख्दा आचरण खराब होला !

अझ पुलिसले त एकपल्ट लामो कपाल हुनेको कपाल काट्ने अभियान नै चलायो । लामो कपाल पाल्ने मान्छे गुण्डा हुन्छ भनेर त होला नि है ? अझ अचेल त स्कुल, कलेजले पनि त्यस्तै अभियान चलाइरहेका छन् । स्कुल, कलेजको नियमानुसार त्यो गर्नु गलत हो भन्न कुनै कोणबाट खोजेको हैन तर त्यसले बिकास गरेको गलत धारणाको अन्त्य भए राम्रो हुन्थ्यो चाहिँ पक्कै भन्न खोजेको हुँ ।

एकपटक गरेको कोसिस असफल भयो भने हामी फेरी कोसिस नै गर्न चाहदैनौँ । अब त सक्दिन होला । यत्रो कोसिस गर्दा त सकिन अब के होला ? फेरी कोसिस गर्दा भएन भने फलानो ले के भन्ला ? मैले कसरी अरुको अघि मुख देखाउने होला ? यहाँ एकपटक प्रेममा हारेकाहरु फेरी जित्न सकिन्न होला भनेर प्रेम गर्न नै छाड्छन् । प्रेमबाहेक हामी जीवनका यस्तै अनेक पाटाहरुमा ‘होला’ को पछि लागेर अल्मलिन्छौँ ।

अझै अचेल त सामाजिक सञ्जालले हामीलाई अनुमान लगाउन झनै सहज बनाइदिएको छ । कसैको नजिक पुग्नु अगावै उसको आवरण नियाल्दै अनेक ‘होला’ का लोलाहरु मनमा फुटाउन थाल्छौँ र त्यही पानीमा आफैँ डुब्न थाल्छौँ । कसैको फोटोका रियाक्ट, कमेन्ट हेरेर ब्वायफ्रेन्ड वा गर्लफ्रेन्ड होला । स्टाटस् र बायो हेरेर पागल प्रेमी होला वा गफाडी होला । कसैसँगका नौला तस्विर देख्दा पक्कै गलत सम्बन्धको होला । कसैको झिलिक्क फोटो देख्दा मोज मस्तिमा होला । बोलिरहने मान्छे एकदिन नबोल्दा अर्कै कोहीसँग मस्कीरहेको होला । उ मसँग बोल्दैन म चाहिँ किन बोल्ने होला ।

कसैको फोटोका रियाक्ट, कमेन्ट हेरेर ब्वायफ्रेन्ड वा गर्लफ्रेन्ड होला । स्टाटस् र बायो हेरेर पागल प्रेमी होला वा गफाडी होला । कसैसँगका नौला तस्विर देख्दा पक्कै गलत सम्बन्धको होला । कसैको झिलिक्क फोटो देख्दा मोज मस्तिमा होला । बोलिरहने मान्छे एकदिन नबोल्दा अर्कै कोहीसँग मस्कीरहेको होला ।

हेर्नुस् त यस्तै ‘होला’ ले कतिको बोलचाल बन्द गरिदिएको छ । कति सम्बन्धहरु बिगारिदिएको छ । कति रिस, डाहा, इष्र्या पैदा गरिदिएको छ । कहिल्यै बिचार गर्नुभएको छ ?

म दिउँसोको कामको थकानमा केहि राहत महसुस गर्न सकौँ भनेर दिनहुँ बेलुकीपख केहि न केहि स्टाटस् राख्ने गर्छु । स्टाटस् प्रायः केही हावा र उत्ताउला नै हुने गर्छन् । अब मैले राखेको त्यो स्टाटस्कै भरमा तपाईँले मेरो मुल्यांकन गर्नुहुन्छ त ? कति साथीले कमेन्टमा लेख्नुहुन्छ ‘केटोलाई मोज छ’, ‘केटो मायाँमा फसेछ’, ‘ब्रेकअप पार्टी कहिले त ?’ ‘कस्तो गफाडी, कस्तो हावा’ ।

हेर्नेलाई त ‘होला’ ले जे जस्तो पनि लाग्न सक्छ तर साँच्चै प्रतिक्रिया दिनै चाहनुहुन्छ भने मैले पोष्ट्याएका भिडियो, फोटो र स्टाटस्का बारेमा त्यसलाई आधार बनाएर भन्दा पनि केहो भनेर सोध्नुभए हुन्थ्यो जस्तो लाग्छ ।

हाम्रो ‘होला’ को बढ्दो प्रयोग केवल शब्दमा सीमित कहाँ हुन्छ र ? त्यही दृष्टिकोण अनुसार हामी अरूलाई व्यवहार गछौँ । त्यही व्यवहार अनुसार अरूबाट पनि उस्तै व्यवहार आउँछ । अनि अरूबाट आएको व्यवहारमा पनि फेरि अनुमान लगाउँछौँ ।

एउटा व्यक्तिले हेरेको समाजलाई हामीले पनि उसकै आँखाबाट हेर्ने गर्याैं भने बुझाइ फरक नहुनसक्छ । व्यक्तिपिच्छे सोचाइ र बुझाइ फरक हुन्छ । मेरो आँखाले देख्ने व्यक्ति र समाजको चित्र र विश्लेषण अरूसँग नमिल्न सक्छ ।

एउटै व्यक्तिभित्र अरू थुप्रै उसैले बनाएका फरक–फरक व्यक्ति हुन्छन् । कोसँग कुन बेला कसरी प्रस्तुत हुने भन्ने उसको आफ्नै नियन्त्रणमा हुन्छ । एकैछिन अगाडि प्रस्तुत हुने व्यवहारले कसरी निश्चिन्त हामी मूल्यांकन गर्छौं ? साँच्चै हामी त्यतिसम्म बुद्धिमान छौँ त ?

साँच्चै पौडी खेल्ने मनसाय नै हो भने खेलाको किनारबाट त्यसको गहिराई अन्दाज गर्नुभन्दा आफैँ एकपटक डुबुल्की मारेर हेर्नुहोस् अनि थाहा पाउनुहुनेछ असली गहिराई । अब ‘होला’ बाट ‘किन होला’ तिर जनुपर्ने बेला भएको छ, ‘किन होला’बाट ‘कसरी होला’ तिर जानुपर्ने बेला भएको छ । ‘होला’ बाट ‘हो’ मा जानुपर्ने बेला भएको छ ।

होलाको लोला आफूले खाँदा कति असह्य हुन्छ र आफूले अरुलाई प्रहार गर्दा कति होला किन बिचार नगर्ने होला ? अब ‘होला’को दासी बन्ने कि ‘हो’ को ?

त्यसो गरे कसो होला ?

प्रतिक्रिया