

माधव नेपाल समूहका केन्द्रीय सदस्यको बैठक, ओली सरकार टिकाउने निर्णय लिने तयारी

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता माधवकुमार नेपाल समूहले थप रणनीतिका लागि काठमाडौंमा आफूपक्षीय केन्द्रीय सदस्यको बैठक बुधबार बोलाएको छ।
बानेश्वरस्थित अर्याल होटलमा बोलाइएको बैठकमा अबको रणनीति कसरी बनाउने भन्ने विषयमा केन्द्रित रहने बताइएको छ। एमालेभित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीइतर समूहको यो बैठकले अन्तरसंघर्ष गर्दै अघि बढ्ने निर्णय लिनेछ।
प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको तत्कालिन राजनीतिक अवस्थाबाट युटर्न गर्दै एमाले नेतृत्वको सरकार टिकाउने तिरै निर्णय लिइने एक नेताले बताए। ‘हामी प्रवित्तिको विरोध गर्नेछौं तर सरकार भनेको ओलीको मात्र नभएर एमाले पार्टीको समेत भएकाले जोगाउनेतिर नै हामी अघि बढ्नेछौं।’
प्रतिनिधि सभाको बैठकपछि भने नेता माधवकुमार नेपालले अहिले सरकार टिकाउने विषयमा आफूसँग सल्लाह नभएको बताएका थिए। उनले भने,‘मसँग कसैले सल्लाह गरेको छैन, गरे भने भनौंला।’
उता बरिष्ठ नेता झलनाथ खनालले भने सदनमा नयाँ खेल हुने बताए पनि एमाले सरकार टिकाउनका लागि नै सक्रिय हुने प्रतिक्रिया दिएका थिए। उनले भनेका थिए,‘यो सरकार एमालेको हो, हामी टिकाउँछौं।’

