भारतीय प्रधानमन्त्री मोदीले पठाएका रअ प्रमुख र ज्ञानेन्द्रद्वारा जारी विज्ञप्तिको अर्थ


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग विशेष भेट गरी भारतीय गुप्तचरी निकाय रिसर्च एन्ड एनालाइसीस विङ (रअ)का प्रमुख सामन्त गोयल नयाँ दिल्ली फर्केको केही घन्टामा नै तत्कालिन राजा ज्ञानेन्द्र शाहले जारी गरेको विज्ञप्तिले राजनीतिक वृत्तमा विस्फोटक बहस सुरु भएको छ ।

उच्च स्रोतका अनुसार रअ प्रमुख गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देश बोकेर बालुवाटार छिरेका थिए । प्रधानमन्त्री ओलीलाई गोयलले भेटेको भनी उनको सचिवालयले पुष्टि गरेको छ । शिष्टाचार भेट भनी गरिएको व्याख्याको पूर्वजानकारी थिएन । कतिपयले भारतीय गुप्तचर प्रमुखको यो भेटलाई प्रधानमन्त्रीको स्वाधिनताविपरितको कार्य भनी टिप्पणी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले नेपाल–भारतबीच नक्शाका विषयमा चलिरहेको विवादका क्रममा गुप्तचर प्रमुखलाई प्रधानमन्त्री ओलीले दिएको भेट गलत भएको बताए । कतिपयले भने यसलाई ‘शंकास्पद’ मानेका छन् ।

नेपालमा भारतको कुटनीति सम्बन्ध भत्किएको र राजनीतिक तहमा पनि राम्रो सम्बन्ध नहुँदा नेकपा सत्तामार्फत चीन हावी भएको भन्ने सन्देशका आधारमा नै मोदीले नयाँ शैलीको कुटनीतिक सम्बन्ध स्थापनाको अभ्यास थालेको बताइन्छ ।  

हिन्दुत्वलाई हावी गराइरहेका मोदीले नेपालको धर्मनिरपेक्षताको बुँदालाई संविधानबाट हटाउँदै हिन्दु राज्यको अभ्यासका निम्ति अघि बढ्ने सांकेतिक सन्देश दिएको उच्च स्रोतको दाबी छ । खासगरी धर्मनिरपेक्षताका पक्षपाती मानिने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोयलले नभेट्नुलाई पनि यहि मेसोमा राखेर विश्लेषण गरिएको छ ।

नेपालमा हिन्दु एकता कायम गर्दै मोदी प्रशासनको कुटनीतिक कौशलता नेपालमा स्थापना गर्ने लक्ष्यको संदेश लिएर गोयल काठमाडौं उत्रिएका थिए । दक्षिण एसीयामा खुला सीमा जोडिएको तथा सांस्कृतिक र सामाजिक समानता रहेको नेपालमा चीनको प्रभाव बलियो बन्दा विश्वमा आर्थिक गतिमा रहेको भारतको अर्थतन्त्रमा प्रभाव पर्न सक्ने संश्लेषणका आधारमा नै नेपाल प्रशासनलाई आफूकेन्द्रित आत्मनिर्भर बनाउने अभ्यासमा मोदी प्रशासन रहेको बताइन्छ ।

यता, यसैबेला ज्ञानेन्द्रको कडा शैलीको विज्ञप्ति आनुलाई पनि भारतीय प्रभावको आधार मानिन्छ । मोदीका प्रिय मानिने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग ज्ञानेन्द्रको बारम्बार कुराकानी हुने गरेको थियो भने अघिल्ला केही बर्षका दौरान भेटघाट पनि भएको थियो ।

‘भारतीय प्रशासन नेपालमा हिन्दुत्वलाई स्थापित गर्न चहान्छ । हिन्दुत्वसँग तत्कालिन राजाको पनि सम्बन्ध रहेका कारण रअ प्रमुखको भ्रमण र विज्ञप्तिको सम्बन्ध हुन सक्छ’, उच्च स्रोतले भन्यो,‘एकै पटक यी परिघटना देखिनु अर्थपूर्ण छन् ।’

विज्ञप्तिमा ज्ञानेन्द्रले ‘संकटको घडीमा अविभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावक बिहीन टुहुरा बनेको पीडाबोध’ भनेका थिए । यस्तै उनले ‘आपसी समन्वय, सदभाव र सहकार्यलाई छाडेर जब हामी व्यक्तिवाद, समूहवाद तर्फ उन्मुख हुन्छौ तब स्थिर, सुदृढ र सन्तोषजनक राष्ट्रिय परिणाम प्राप्त हुन सक्दैन’ भन्नुमा स्पेश खोजेको संकेतका रुपमा व्याख्या गरिएको छ ।

‘आशुरी र भष्मासुरी प्रवृत्तिबाट उन्मुक्ति’को विषय ज्ञानेन्द्रले उठाएका छन् । जसमा राजनीतिक दल र नेतासँग जनताको बढ्दो नैरश्यताको जनसमर्थन खोजिएको स्पष्ट देखिन्छ ।

‘हिजो जनआन्दोलनका बेला पनि राजासँगको सम्झौता या सहकार्यको विषयमा भारतले विशेषदूत पठाएको थियो । त्यसमा पनि कारण थियो’, उच्च स्रोतले भन्यो,‘पछि तत्कालिन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले राखेको प्रस्तावका विषयमा पूर्वराजाका तर्फबाट मिडियामा खुलाइएको विषय पनि अर्थपूर्ण थियो ।’

पछिल्लो दशकमा भारतमा फेरिएको राजनीतिक अवस्था, सत्ता र मोदी सरकारको शैलीले नेपालमा केही न केही राजनीतिक उत्पातको संकेत गरेको बताइन्छ ।

प्रतिक्रिया