

म्याडम झाँक्री– ‘डिड यु फर्गेट यस्टर्डे?’

‘हिजो’ अंग्रेजीकरणको चलनचल्ती यस्टर्डे! यो बडा खतरनाक न्यारेटिभ बनिसकेको छ, नेपाली राजनीतिमा। कृष्णबहादुर महरा रोशनी शाहीलाई म्यासेज लेख्छन्– फर्गेट यस्टर्डे!
जसरी भोलीको चर्चा लेखक भैरव अर्यालले गरेका छन्, त्यसरी हिजोको महत्व आजको राजनीतिले बोकेको छ। अर्यालले पनि भोलीलाई व्याख्या गर्दा हिजोको महत्वलाई भुलेका छैनन्।
म्याडम झाँक्रीको प्रसङ्ग केलाउनुअघि अर्यालको भोलीका महत्वसँग हिजोलाई तुलना गरौं।
पर्सिको हिजो र हिजोको पर्सिलाई ‘भोलि’ भन्दछन्। समयको अनन्त गतिमा यसरी भूत र भविष्य दुवैतिर उस्तै सन्धि–नातो लाउने हुनाले आजभन्दा भोलि ज्यादै जनप्रिय छ। आज थाकेको मानिस अनेक थरी सपना तुन्दै भोलिको निम्ति निदाउँछ, तर भोलिपल्ट ब्यूँझँदा उसको भोलि आज बनेको हुन्छ, फरि ऊ अर्को भोलिको निम्ति दगुर्छ ।
मानिस जतिजति दिनका पत्र पल्टाउँछ, उतिउति उसको भोलि सर्दैसर्दै पर जान्छ र आखिर भोलिलाई नभेट्दै मानिस मर्छ । त्यसैले भोलि साँच्ची एउटा ईश्वर हो, जसलाई मान्छे पछयाउँदै जान्छ, ऊचाहिँ परपर तर्कंदै जान्छ तर ऊ जतिसुकै पन्छिए पनि मानिस भोलिको भक्त छ। उसको मुखमा ‘राम राम’ झैँ सधैँ झुन्डिरहेको हुन्छ– भोलि। त्यसैले आजको काम भोलिलाई थाती राख्नु हाम्रो संस्कृति हो।
साँच्ची भनूँ भने पूर्वीय दर्शनको सबभन्दा ठूलो विशेषता हो– भोलिवाद। हाम्रो दर्शन आज (बाचुन्जेल) दुःख गर, भोलि (मरेपछि) मुक्ति पादँछौ भन्छ। तर दर्शनको भनाइ र मानिसको गराइमा कहाँनेर फरक पर्छ भने दर्शन भोलिका निम्ति आज गर भन्छ, मानिस डेढ अक्कल लगाइदिन्छ– भोलिको निम्ति गर्ने भएपछि आज किन गरिरहनु। भोलि नै गरे भैहाल्छ नि। अनि निस्कन्छ– आधुनिक भोलिवाद, जसका अनुयायी तपाईं–हामी सबै छौं।
अर्यालको यो भोली कथनको नेपथ्यको विषय हो, हिजो अर्थात् यस्टर्डे। मानिसको भोली उसको आज हुन्छ र ऊ भोलीको पर्खाइमा हिजो विर्सन्छ। किनभने हिजो उसले भोलीको पर्खाइमा केही गरेको हुँदैन, हिजोको भोली आज भइसकेको छ अनि गीत महराकै जस्तो त हो– फर्गेट यस्टर्डे!
यो गोलचक्कर चलिरहन्छ। तर हामी भोलीको आश मार्नेवाला छैनौं। तर हिजोसँग हिजोको भोली आजलाई तुलना गर्नु अनिवार्य हुन्छ। कतै सुनियोँ, कतै पढियो। प्रतिनिधि सभा विघटनपछि आलोचना र तिखा आवाजका कारण उदाउन खोजिन् रामकुमारी झाँक्री। उनलाई टिप्पणीकार ‘म्याडम झाँक्री’ भन्नु बाञ्छनीय ठान्छ। कुनै राजनीतिक दलको गीत गाउन नजानेका कारण कमरेड अथवा दिदी भाउजू भन्ने साइनो अर्थहिन् हुनेछन्, टिप्पणीकारका लागि।
पहिला त प्रश्न छ म्याडम झाँक्री– डिड यु फर्गेट यस्टर्डे?
यो महराको जस्तो विषयसँग पटक्कै जडित प्रश्न होइन। हिजो बोलेको त्यहि कुरा हिजोको भोली आज कसरी उल्टो पिरामिड बनिदियो? म्याडम झाँक्रीले हिजो भनेकी थिइन्– कुन पनि हालतमा अमेरिकी मिलिनयन च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित हुनहुन्न। तर हिजोको भोली आज उनी भन्दैछिन्– कुनै पनि हालतमा एमसीसी पारित हुनुपर्छ।
अहिंसावादी महात्मा गान्धीले भनेका थिए– बर्षमा यस्ता दुई दिन हुन्छन् जहाँ हामीले केही पनि गर्न सक्दैनौं– हिजो र भोली। यो हिजो र भोलीलाई सकार्ने आज नै हो। त्यसैले आजै आफूलाई परिमार्जन गर्दा भोलीले हिजोलाई स्मरणीय बनाउनेछ। तपाईले देख्ने भोलीले पनि हिजोलाई सम्मान गर्न सक्ला
यस विषयको उनले खण्डन गरेकी छैनन्। स्वाधिनताको सबाल एकातिर बरालिएको होला। तर राजनीतिको कुरुप चित्रमा आफूलाई ढाल्नु म्याडम झाँक्रीलाई त्यस्तो के आपत् परेको थियो होला? हिजो उनी प्रचण्डलाई कारबाहीको माग राख्थिन् तर आज प्रचण्डलगायत विभिन्न नेतालाई भ्रष्टाचारको मुद्दा लाएर त हेर! अनि देख्नेछौ भन्छिन्।
हिजो नेपालमा पहिलो पटक महिला राष्ट्रपति भएको र त्यसले विश्वभर महिला आन्दोलनको नाम स्थापित गरेको भन्थिन्। तर म्याडम झाँक्री अब राष्ट्रपति संस्थामा विधुवाको सारी मात्र देख्छिन्।
बडो विचित्रको खेल हो, यस्तो राजनीति। वास्तवमा नीति र थिति नभएको राजनीतिमा म्याडम झाँक्रीको पुस्ताले पनि दगुर्न परेको छ। उनका अनेक दुख होलान्। जे होस्, एउटा पुस्ताको एउटा पंक्तिले उनलाई आदर्श नै मानेको होला। त्यसैले युवा राजनीतिको बारेमा म्याडम झाँक्रीलाई अलिकति सुझाव दिनु बाञ्छनीय होला।
यो यस्टर्डेले धेरै चिज सिकाउँछ। तर स्ट्यान्ड आफ्नो हुनुपर्छ। यदि हिजो कतै ठेस लागेर लडिएको छ भने आज सम्हालिएर हिँड्ने ज्ञान दिन्छ। उत्ताउलेर दगुर्ने होइन। तर, म्याड झाँक्रीका आजभोलीका राजनीतिक वितण्डा सम्हालिएर भन्दा उत्ताउलिएरै अघि बढ्ने देखिन्छ।
कुनै चुनाव ताका कांग्रेसमा आस्था राख्ने एउटा गाउँले मास्टरले सामाजिक सञ्जालमा म्याडम झाँक्रीका विषयमा केही लेखिदिएछ। उनलाई रिस र आवेगले रनाहा छुटेछ। उनले मास्टरलाई फोन हानेर भनिन्– केटा लगाएर खुट्टा भाँचिदिन्छु।
यो राजनीतिक संस्कारको हिजोबाट ग्रसित भएकी म्याडम झाँक्रीको हिजो नै हो गोरखाको भाषण पनि। अन्य कतिपय ठाउँका भाषणबाजीका कुरा फेरि पनि गरौंला। एउटा नकारात्मक र तुच्छ बोलीबाट अभिसप्त भएको आजको युवा नेत्रीबाट भोलीको अपेक्षा भैरव अर्यालको निबन्ध जस्तै नै हुनेछ भन्ने टिप्पणीकारको ठहर हो।
राजनीति लामो छ। जीन्दगी छोटो छ। यो छोटो जीन्दगीमा आउने पुस्तालाई उचित मार्ग दर्शन र बाटो देखाउने दायित्वबोध गर्ने कि नगर्ने? जसरी हिजो प्रहरीले नियन्त्रणमा लिन आउँदा विद्यालयको कखरा सिकिरहेको आफ्नो छोरालाई ढाँटेकी थिइन् म्याडम झाँक्रीले, त्यो ढाँटलाई राजनीतिमा स्वीकार गर्न सकिन्छ। मनोवैज्ञानिक असर नपरोस्, चित्त नदुखोस्, पीडा नहोस् भन्ने अभिप्राय थियो, त्यो।
त्यसरी नै राजनीतिक पुस्तालाई खराबहरूबाट पर राखेर सही चिजहरूमार्फत अगाडि बढाउन सकिन्न? घरमा छोराको मनोविज्ञानलाई माया गर्ने एउटी आमा मात्र होइन म्याडम झाँक्री, उनका पछाडि राजनीतिमा आदर्श ठान्नेहरूकी अभिभावक पनि हुन्। गलतहरू गलत हुन् र सहीहरू नै राजनीतिका गतिला मार्ग हुन्, भाषाहरूले नै संस्कारको चरित्रलाई राम्रो बनाउँछ भन्ने सिकाउन जरुरी छ।
अब एउटा सुझाव छ– म्याडम झाँक्री, फर्गेट यस्टर्डे! किनभने एउटा भनाई छ– दी वनली इजी डे वज यस्टर्डे। अर्थात् एउटा सजिलो दिन भनेको हिजो मात्र थियो।
अब, आजको कुरा गर्नुहोस्। हिजोलाई विर्सनुहोस्। हिजो सम्झिएर आजलाई कुनै उल्झनमा राखियो भने जीन्दगी त तिव्र गतिमा जान सक्ला, राजनीति जाँदैन। जसरी हिजो प्रचण्डलाई भनेका शव्दवाणहरू आजका लागि होइनन् त्यसरी नै अन्य विषयमा पनि आजका लागि नयाँ सुरुआतको खोजी गर्नुहोस्।
जे गर्नुछ आजलाई गर्नुहोस्। तपाईको आज भोलीको हिजो हुँदा गर्विलो बनोस्। तपाईले आज केही गर्नुभएन वा सकारात्मक बाटोलाई एउटा लय बनाइदिन सक्नु भएन भने तपाईको भोलीले हिजोलाई माफ गर्नेछैन। किनभने तपाईको भोलीले हिजो सच्याउन सक्तैन, त्यसैले यो आज छँदै सबैथोक गर्नुहोस्। सायद, यहि बुझेर हुनुपर्छ अहिंसावादी महात्मा गान्धीले भनेका थिए– बर्षमा यस्ता दुई दिन हुन्छन् जहाँ हामीले केही पनि गर्न सक्दैनौं– हिजो र भोली। यो हिजो र भोलीलाई सकार्ने आज नै हो। त्यसैले आजै आफूलाई परिमार्जन गर्दा भोलीले हिजोलाई स्मरणीय बनाउनेछ। तपाईले देख्ने भोलीले पनि हिजोलाई सम्मान गर्न सक्ला।

