साढे आठ सय शव्दमा प्रिय प्रचण्डलाई चार प्रश्न
प्रिय पुष्पकमल दाहाल प्रचण्ड ज्यू!
प्रिय यसकारण कि तपाईले मुलुकलाई अप्रिय बाटोमा जानुअघि २०६३ साल मंसिर ५ गते शान्ति सम्झौतामा हस्ताक्षर गरी नयाँ राजनीतिक लयलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नुभयो। प्रिय, यसकारण त्यो सम्झौताका हस्ताक्षरकर्ता मध्ये तपाई एउटा जीवित दस्तावेज हो र जो–जससँग अहिले तपाईको राजनीतिक मतभेद परिरहेको छ, उनीहरू साक्षी किनारा मात्र थिए।
यस अर्थमा शान्ति प्रक्रियाको एउटा पाटो गिरीजाप्रसाद कोइराला थिए। उनी अब यस धर्तीमा छैनन्। त्यस प्रक्रियाका प्रश्नको जिम्मा हस्ताक्षरकर्ता भएको, एउटा पक्ष भएको नाताले तपाईले दिनुपर्छ। प्रश्नहरू अनेक र प्रकारान्तरका छन्। घाइते, अपाङ्ग, लडाकू या अरुले प्रश्न उठाउन सक्लान्।
तपाई यस कर्ममा सफल हुनुहुन्न भन्ने उदाहरण पदम कुँवर, रतन तिरुवाहरू मात्र होइन, एउटा कार्यक्रममा उपस्थित भएका वेपत्ता, घाइते परिवारका सदस्यले उठाएका प्रश्नले स्पष्ट देखाउँछ। तर यी मेरा प्रश्न होइनन्। यी तपाईका राजनीतिक लाभ र नोक्सानका यात्राले तय गरेका अनेक प्रकारका घटनाक्रम हुन्। समयले यी प्रश्न उठाउलान्।
आम नागरिकसमेत हुनुका नाताले तत्कालिक राजनीतिक अवस्थामाथि खासगरी, यो तीन बर्षको अवधिको गोलचक्करबारे मात्रै केही प्रसंगसहितका प्रश्न छन्।
प्रिय प्रचण्ड,
पहिलो प्रश्न यो हो की तत्कालिन नेपाल कम्युनिस्ट पार्टी एमालेसँग तपाईको एकीकरणको सैद्धान्तिक शुत्र के थियो र अहिले त्यसको एउटा पक्ष तपाई शत्रु बनिरहेको छ? यदि राजनीतिक स्थायीत्व स्थापित गर्नुथियो र पार्टी एकीकरणलाई बलियो बनाउनु थियो भने एकीकरणताका ‘टप टु बटम’को बाटो लाग्नुभयो? किन ‘बटम टु टप’को नीतिलाई अख्तियारी गरिएन?
केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्नु थियो र तपाईसँग एकीकरण गरेकै हुन्। त्यो पनि एउटा नाटकै थियो। तर सतह नै कमजोर बनिसकेको तपाईले एकीकरणताका पार्टीको तल्लो तहदेखि उपल्लो तहसम्मको नेतृत्व चयनमा महाधिवेशन प्रक्रियालाई अबलम्बन गर्नुको साटो भागबन्डाको एकीकरण गरेको होइन र?
प्रिय प्रचण्ड,
तपाई बारम्बार भनिरहनु भएको छ– मन मिल्नेहरूको कुरै अर्को हुन्छ। माधव नेपालतिर देखाउँदै तपाईले भन्ने यो प्रसङ्गले त त्यसबेला उनलाई भनिदिएको ‘विष वृक्ष’को याद आउँछ। तर, यो अनौठो होइन। जीन्दगीभरी माओवादीलाई गाली गरेका ओलीसँग मन मिल्ने तपाईको नेपालसँग मिल्नु नयाँ कुरो होइन। राजनीतिमा यस्तो चलिरहन्छ।
अहिलेको नयाँ पुस्ताले तपाईहरूको कुर्सी राजनीति बुझेका छन्। त्यसैले त विकल्पका स्वरहरूमा स्वर थपिन थालेका छन्। तपाईहरूसँग त हिजो ठेक्का पाएका, भोली पाउने, अपराधबाट जोगाइएका, अपराधबाट जोगिनेहरूको झुन्ड भन्दा के नै पो छ र! र, अब हुनेवाला पनि छैन
एकीकरणताका वरियताको विषयमा विवाद थियो। नेपाललाई तेस्रो वरियतामा राखियो, झलनाथ खनाल रिसाए। स्वभाविक थियो। तत्कालिन एमालेको दोस्रो वरियताको नेता, एकीकरणपछि तेस्रो वरियता त हुनुपर्ने खनाललाई साइड लगाइयो।
तर केही महिनामा नै फेरि सचिवालयको बैठक राखेर खनाललाई वरियतामा अगाडि सारेर नेपाललाई खसालियो। त्यसमा तपाईको सहमति किन भयो? किन प्रश्न उठाइएन? स्वार्थकेन्द्रित मन मिल्दा राजनीतिमा जे पनि हुन्छ? पार्टीमा जे पनि हुन्छ? गर्न पाइन्छ? योचाहिँ नाटकै थियो कि नौटङ्की थियो? चिज के थियो?
प्रिय प्रचण्ड,
अब प्रतिनिधि सभा विघटनअघिको एउटा सन्दर्भलाई कोट्याँऊ। भानु जयन्तीको एउटा कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले सरकार गिराउन खोजेको भनी बताए।
स्थायी समितिको बैठकमा तपाईले भन्नुभयो– भारतले होइन, मैले राजीनामा मागेको। यो स्पष्ट होस्, भारतले हो कि तपाईले? किन मागेको राजीनामा? त्यसको खास कारण के थियो?
यो विवाद यति धेरै तन्कियो कि प्रतिनिधि सभा विघटनसम्मको अवस्था आयो र अहिले तपाईहरु सडक आन्दोलनमा हुनुहुन्छ।
त्यसबेला भएका सचिवालय, स्थायी समितिका बैठकहरूका निर्णय किन सार्वजनिक भएनन्। दुई अध्यक्षले भागवन्डा गर्दा सबै कुरा मिलाई हाल्ने अनि पार्टी पद्धतिलाई किन नियमसंगत सुरुदेखि नचलाएको? त्यसमा तपाईका स्वार्थ के–के थिए, के–के पूरा भए? के–के हुन बाँकी थिए र सडकमा?
पद्धतीलाई धोती लगाइदिने तपाईचाहिँ होइन? गोरखाबाट चुनाव हारेका नारायणकाजी श्रेष्ठलाई किन राष्ट्रिय सभामा छिराउने प्रस्ताव गर्नुभयो? बर्दियामा चुनाव हारेका बामदेव गौतमलाई सांसद बनाउने विषयबस्तु चर्चामा ल्याएर देशलाई रनभुल्लमा पारियो, यसको दोषी तपाईचाहिँ होइन? पद्धति मिच्ने बेला मिचिदिने, अहिले मनपरी गरियो, अब गरिन्न भनेर कसरी पत्याउने?
प्रिय प्रचण्ड,
तपाई अचेल विरोधका सभामा निक्कै भयानक र विवादास्पद अभिव्यक्तिमा पनि माहिर हुनु भएको छ। हुन त तपाईको खासीयत नै यहि हो। स्थिरता तपाईको गति होइन, राजनीतिक लाभका लागि अस्थिरता तपाईका हतियार हुन्। यी नकारात्मक पक्षबारे तपाईका राजनीतिक यात्रालाई केलाए पुग्छ।
चुनवाङ बैठक होस् कि त्यसपछिका दुई लाइन संघर्ष। धोवीघाट गठजोड होस् कि बाबुरामलाई प्रधानमन्त्री दिएर भत्काएको कथा। यी अलग विषय हुन् र चर्चा हुनेछन्। ओलीलाई पहिलो कार्यकालमा प्रधानमन्त्री बनाएर अविश्वासको प्रस्ताव हालेर, कांग्रेससँग सहकार्य गरेर फेरि सत्तामा हुँदै ओलीसँग चुनावी गठजोड गरेर होस्। यी अलग प्रसंग छन्।
तपाई भन्नुभयो, यो आन्दोलन कुर्सीका लागि होइन। कुर्सी चाहिएको हैन भनेर। यसका लागि दुईटा काम अबका बैठकमा गरिहाल्नुहोस्। यो विधि, संविधान जोगाउने आन्दोलन हो भने संसदीय दलको नेता, प्रस्तावित प्रधानमन्त्रीको उम्मेदवारबाट राजीनामा दिएर अर्को पुस्ताको नेतालाई अगाडि सार्नुहोस्। बरु, जनार्दशन शर्मालाई संसदीय दलको नेता र प्रस्तावित प्रधानमन्त्री बनाउनुहोस्।
अर्कोचाहिँ, माधवकुमार नेपाललाई अध्यक्षबाट हटाउनुहोस्। विधि र सिद्धान्त चाहिएको हो भने रामकुमारी झाँक्री या योगेश भट्टराई या सुरेन्द्र पाण्डे, या घनश्याम भुसाल। यीनलाई अध्यक्ष बनाउनुहोस्। पूर्वमाओवादीको पनि अर्को पुस्तालाई अध्यक्षमा राख्नुहोस्। अभिभावक भएर अघि बढ्नुहोस्। अनि, पत्याउनेछन् आम मानिसले कुर्सीका निम्ति होइन भन्ने नत्र आधार के छ?
निष्कर्शः
यी साधारण प्रश्न हुन्। अनेक मन्थनबाट यस्तो परिणाम आउँछ कि तपाई र केपी शर्मा ओलीको हिजोको सहकार्य न गतिलो थियो न राजनीतिक पारा ठिक छ। जनता र देशलाई बेवास्ता गर्दै पद र कुर्सीका निम्ति यो लडाई हो भन्ने जन–जनलाई थाहा छ।
ओलीको कुर्सी खुस्किने भएपछि प्रतिनिधि सभा विघटन गरिदिए, कुर्सी नपाएपछि ओलीको पदै धरापमा पार्ने तपाई नै हो। दुनियाँले देखेको छ, माधव नेपाललाई पनि कुर्सी नै चाहिएर अहिले अप्रमाणित अध्यक्षको हैसियत राख्छन्।
हाँस्नुस्, मन मिल्नेको कुरै अर्को हुन्छ।
यसो भनिरहँदा राजनीतिमा तपाईहरूको योगदानको अवमूल्यन गरेको होइन। तपाईहरूको योगदान छ तर त्यो योगदानको ब्याज जीन्दगीभरी खाइरहने स्वार्थ केन्द्रित छ। अर्को पुस्तालाई मौका दिने होइन, उपयोग गर्नेभन्दा तपाईहरूको कुनै सोच नै छैन।
अहिलेको नयाँ पुस्ताले तपाईहरूको कुर्सी राजनीति बुझेका छन्। त्यसैले त विकल्पका स्वरहरूमा स्वर थपिन थालेका छन्। तपाईहरूसँग त हिजो ठेक्का पाएका, भोली पाउने, अपराधबाट जोगाइएका, अपराधबाट जोगिनेहरूको झुन्ड भन्दा के नै पो छ र! र, अब हुनेवाला पनि छैन।