प्रहरीभित्र राजनीति : प्रकाश अर्थात् हात्तीगौंडा कार्यकाल, ठाकुर अर्थात् श्यामलाल


उपेन्द्रको भित्री योजनाअनुसार कार्य गरेर यिनी प्रकाशको समेत बिश्वासपात्र बन्न पुगे । शेरबहादुर देउवाको सरकार बन्दा राजनीतिक समिकरण कांग्रेस र माओवादीबाट बाहिर जाँदैन भन्ने आत्मबिश्वासले पुष्करलाई शक्तिमा पुग्नको लागि शक्ति केन्द्रका जायज नाजायज हरेक आदेश तामेल गर्न सक्रिय बनायो तर दुर्भाग्य राजनीतिक समिकरण बदलियो ।

नेकपा एमाले र माओवादी केन्द्रबीछ राजनीतिक गठबन्धन भयो र त्यो समयको माहोलले गर्दा शेरबहादुर देउवाका राजनीतिक प्रतिष्पर्धी नेकपा एमालेका अध्यक्ष वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा निर्बाचन प्रभावित भयो ।

उपेन्द्रले पाखा लगाएका नवराजले राजीनामा पश्चात नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यमा निर्बाचन लड्ने अवसर पाए र जिते । जिते पश्चात नवराजलाई गृह मन्त्री बनाउँछु भनेर कुनै आम सभामा बर्तमान प्रधानमन्त्री ओलीले बोलेका थिए ।  जसरी भए पनि नवराजलाई सांसद पदको सपथ ग्रहण नै गर्न नपाउने गरी कार्य सम्पादन मुल्याङ्कन फाराम किर्ते गरेको आरोपमा मुद्दा दर्ता काठमाडौ परिसरमा जबरजस्ति गर्न लगाइयो र तत्कालिन परिसर प्रमुखले मुद्दा अगाडि बढाउन नमानेपछि उनको सरुवा भएको थियो ।

शेरबहादुर देउवाको सरकार नै थियो । अनेक हत्कण्डाका बाबजुद जब नवराज सिलवालबिरुद्ध गरेको षडयन्त्र सफल नभएपछि उपेन्द्रले हार खाए । तर उपेन्द्र पुष्करलाई आईजी बनाएर आफ्नो अभिष्ट पूरा गर्ने योजनामा लागे । यसै अबधिमा उपेन्द्र र प्रकाशले धेरै प्रहरी अधिकृतलाई बिगारे । जसमा वर्तमान महानिरीक्षक शैलेश थापाको ब्याचका प्रकाशजंग कार्की लगायतलाई सहिद बनाए भने दिपक थापा, रुँगम कुवर, दानबहादुर कार्कीलगायतका अधिकृतहरूलाई बिगार्नसम्म बिगारे । भूपेन्द्रको ब्याचका काम गर्न सक्ने अधिकृतहरूलाई कार्य सम्पादन मुल्याङ्कनमा कम नम्बर दिएर भूपेन्द्रलाई नम्बर, पदक, बिदेश तालिम जति सबै उपलब्ध गराए,  प्रकाश अर्यालको कार्यकालमा । बास्तबमा भन्ने हो भने प्रकाश अर्यालको कार्यकाल नेपाल प्रहरीको इतिहासमा नेपाल प्रहरी नक्सालबाट नचलेर हात्तिगांैडास्थित उपेन्द्रकान्तको घरबाट सञ्चालित भयो । एक हिसाबले भन्दा प्रकाश अर्याल हात्तिगौंडाका ढोके जस्तो भए ।

उपेन्द्रको यो षडयन्त्रको सिलसिला अझै माथि जान्थ्यो होला तर निर्वाचनपछि बनेको सरकारले पुष्करलाई महानिरीक्षक बनाउने त सम्भावना नै घटेर गयो र सम्भावित महानिरीक्षकमा सर्वेन्द्र खनाल र रमेश खरेलको चर्चा सर्बाधिक भयो ।

एक नम्बरको सिनियर भएकोले सर्वेन्द्र खनाल महानिरीक्षकमा नियुक्त भए । खनाल आफैंमा व्याबसायीक अधिकृत त थिए तर यीनमा एक लहडी स्वभाव थियो । बास्तबमा भन्ने हो भने सर्वेन्द्र र रमेश दुबैमा एक प्रकारको लहडी स्वभाब थियो । यीनिहरू प्रहरी निरीक्षकमा भर्ना भएदेखि नै कुनै न कुनै हिसाबले अच्युतकृष्ण खरेलको संरक्षणमा बसेर काम गरे। यीनले सरुवा हुँदा समेत राम्रो ठाउँमा पाउँथे, आफूसँग काम गर्नका लागि रोजेर अब्बल सहायक अधिकृतहरू पाउँथे, यीनले कार्यालयको बजेट कम भएर काममा बाधा परेको कहिल्यै अनुभव गर्नुपरेन ।

बढुवामा यीनले कसैलाई भन्न जानु परेन । यीनीहरू राम्रै छाताको ओतमुनी थिए, संगठनमा । रमेश खरेलहरू प्रहरी निरीक्षकबाट बढुवा हुँदा खरेलको नाममा रमेश खरेल भए भने तत्कालिन गृह सचिबको ज्वाँइको हिसाबले सर्वेन्द्र खनाल बढुवा भए, त्यो ब्याचका अब्बल  भएकोले अन्य केही अधिकृतहरू पनि बढुवा भए राजेन्द्रमान, राजेन्द्र श्रेष्ठ, धिरु बस्न्यात आदि । तर बास्तबमा त्यो ब्याचमा ब्याबसायीकतामा अब्बल भएर दुई जना अधिकृतहरू छुटे पुष्कर कार्की र केदार रिजाल । केदार रिजाल भने कृष्ण मोहन श्रेष्ठको सहायक अधिकृत भएर काम गरेकोले छुटेका थिए भने पुष्कर छुटेको कुरा भने यकिन गर्न सकिएको छैन । यो पदोन्नति हुँदा उनीहरू भन्दा अगाडिको नवराज सिलवालको व्याचका बैकल्पिक अधिकृतहरूलाई बढुवामा बञ्चित गराइएको थियो, जुन नेपाल प्रहरीमा पछिसम्म पनि म दुई ब्याचको बीचमा मनोमालिन्यको कारण बन्यो।

उनले अन्तरवार्ताको क्रममा ‘मैले महानिरीक्षकको पद सम्हाले पश्चात नेपाल प्रहरीको कार्ययोजना बनाएर सार्बजनिक गरेको छु र त्यो कार्ययोजना निर्माण गर्ने काम नेपाल प्रहरीका सम्भावित नेतृत्वमा जाने अधिकृतहरूले बनाएको हो त्यसैले त्यो प्रभावकारी हुनेछ’ भन्ने प्रतिक्रिया दिए । नेपाल प्रहरीका अधिकृतहरूमा उनले बिभाजनको रेखा सुरुआतमै कोरिदिए । के हालका महानिरीक्षकलाई थाहा छ कि त्यो कार्ययोजना बनाउने अधिकृतहरू मात्रै नेपाल प्रहरीको नेतृत्वमा जाने योग्य हुन् ? अरु छैनन् ?

सर्वेन्द्र महानिरीक्षक त बने तर  मातहत अधिकृतहरूको मनोबल आदि सबैलाई आफ्नो स्वार्थको लागि तिलाञ्जलि दिए । सरुवा बढुवामा यीनले सबै मापदण्ड र बिगतका प्रचलनलाई दुत्कारे ।

महानिरीक्षकको रुपमा यीनले आफू भन्दा तलकालाई मन परेका छन् भने जे सुकै गर्न पनि छुट दिने र मन नपरेकालाई खतम पारिदिने राजनीतिक हतियार बनेर नेपाल प्रहरीलाई आलोचित बनाए ।

सर्वेन्द्रले नेपाल प्रहरीको शुन्य शहनशिलताको नीतिलाई देखाबटि बनाए । यी यस्ता महानिरीक्षक बने जसले बिदाइको बेला आफ्नै ब्याचका सबैलाई एकै स्थानमा अटाउने वातावरण समेत बनाउन सकेनन् ।

सर्वेन्द्रपछि पाँच महिनाको लागि महानिरीक्षक बनेका ठाकुर ज्ञवालीको कुरा के गर्नु । ठाकुरको कार्यकालभरी ठाकुरकोमा भन्दा बढी दलाल र बिचौलियाको भिड उनका भाई श्याम ज्ञवालीकोमा हुने गरेको यथार्थ सबैलाई थाहा नै छ । मुतको न्यानो भनेझै ठाकुरले आफ्नो कार्यकाल आफूले साढे उनन्तिस बर्षमा कमाएको छवि ध्वस्त पारेर संगठनबाट बाहिरिए ।

नेपाल प्रहरीमा जो–जो महानिरीक्षक हुन्छन् ति सबै कुनै न कुनै अप्राकृतिक महत्वाकांक्षाको शिकार बन्छन् या बनाइन्छन् । प्रहरी महानिरीक्षकको सचिवालय भनेको विज्ञता बोकेका प्रहरी कर्मचारीको बाहुल्यतामा टिकेको हुन्छ तर चाकरी, चाप्लुसी, नातावाद, कृपावादको भरमा जागिर खान पल्किएका निश्चित प्रहरी कर्मचारीको बाहुल्यता जहिले पनि प्रहरी महानिरीक्षकको सचिबालयमा हुने गर्छ ।

प्रहरीे महानिरीक्षक भएको व्यक्ति आफैंमा कुनै आग्रह पूर्वाग्रह नराख्ने मानिस हुनुपर्नेमा झोला भरी आग्रह र पूर्वाग्रहको ठेली बोकेर प्रहरी प्रधान कार्यालयमा प्रबेश गर्छ अनि आफू अनुकुल ब्याख्या गरेरे कार्यकाल सकेर निस्किन्छ।

सायद, त्यसैले होला नेपाल प्रहरीमा जहिले पनि एउटा महानिरीक्षकको पालाका लायक र योग्य ठानिएका अधिकृतहरू महानिरीक्षक बदलिने बित्तिकै नालायक र अयोग्य बन्छन् । किनकी त्यहाँ योग्यताको कुनै कसी नै छैन जे छ त्यो चाकरी, चाप्लुसी, नातावाद, कृपाबाद छ । नपत्याए हेरांै त एक पटक नेपाल प्रहरीका सबै अधिकृतहरूको तिनपुस्ते । सार्बजनिक गरौं त नेपाल प्रहरीका अधिकृतहरूको तिन पुस्ते । अबसर जति हरेक ब्याचका केही निश्चित अधिकृतहरूले मात्र पाएका छन् ।

ति अधिकृतहरू हिजो जनयुद्धको समयमा कहिल्यै प्रहरी प्रधान कार्यालयबाट बाहिर गएनन्, ति अधिकृतहरू नेपाल प्रहरीले अप्ठेरो परिस्थितिमा ड्युटि गर्नुपर्ने बेलामा कहिल्यै फिल्डमा गएनन् तर जब सामान्य परिस्थिति हुन्छ, सहज अबस्था आउँछ तब राम्रो मानिएका जति सबै स्थानहरूमा रोजीछाडि उनीहरूको मात्रै पदस्थापन हुन्छ ।

मैले यी सबै कुरा लेख्ने जमर्को किन गरे त भन्नेतर्फ पनि मैले केही लेख्नै पर्ने हुन्छ । म पत्रकारिताको माध्यमबाट नेपाली समाजमा लुकेर बसेका तथा खुलेआम देखिने बिकृति र बिसंगतिको अन्त्य गरेर एक अनुकुल समाजको निर्माण गर्नुपर्ने चाहना राख्ने नेपाली नागरिक हँु । नेपाली समाजमा विद्यमान बिसंगती हटाउन धेरै केही गर्नुपर्छ जस्तो लाग्दैन केबल प्रहरी भित्रको आन्तरिक ब्यबस्थापनलाई पारदर्शी र व्यवस्थित बनाएर प्रहरी भित्रको आन्तरिक न्याय प्रणालीलाई सुधार गर्ने हो भने नेपाल प्रहरी एक्लै हाम्रो समाजमा विद्यमान आधा भन्दा धेरै समस्यालाई पार लगाउन सक्षम छ ।

तर नेपाल प्रहरी भित्रको आन्तरिक प्रजातन्त्र कुनै तानाशाही शासकको भारदार सभामा भएको भन्दा धेरै छैन । नेपाल प्रहरीका धेरै महानिरीक्षकहरूलाई प्रहरीका सकलदर्जाका बहालवाला तथा अबकाश प्राप्त अधिकृतहरूले देखेका र भोगेका छन् । उनीहरूभित्र लुकेर बसेको महाराजालाई खुलस्त देखेका र सुनेका छन् ।

नेपाल प्रहरीमा धेरैपछि सहि व्यक्तिले महानिरीक्षकको ओहोदामा पुगेको महसुस समेत सकल दर्जाका प्रहरीले गरेका छन् । वर्तमान महानिरीक्षक शैलेश थापाको विगत र वर्तमान देखेको हुनाले र म एक पत्रकारको हिसाबले समेत वर्तमान महानिरिक्षकबाट धेरै आशावादि थिएँ र छु ।

भनिन्छ, बिहानीले दिनको छनक दिन्छ । वर्तमान प्रहरी महानिरीक्षक शैलेश थापाको बिहानी सुखद हुनेछ भन्नेमा म बिश्वस्त थिएँ र नेपाल प्रहरीले अब हरेक क्षेत्रमा सुधार ल्याउन सक्षम हुनेछ । तर हालसालै मैले एपी वन टेलिभिजनबाट प्रसारित हुने द ब्राभो डेल्टा शो मार्फत प्रहरी महानिरीक्षकलाई सुन्ने हेर्ने मौका पाएँ । उनको चोटिलो बिचारको कदर हुन्छ । तर उनले पनि विगतका महानिरीक्षकहरूले दोहोराए झैं उत्तराधिकारीको चयन गर्ने थालनी गरेको एउटा आख्यानले झसङ्ग बनाउँछ ।

उनले अन्तरवार्ताको क्रममा ‘मैले महानिरीक्षकको पद सम्हाले पश्चात नेपाल प्रहरीको कार्ययोजना बनाएर सार्बजनिक गरेको छु र त्यो कार्ययोजना निर्माण गर्ने काम नेपाल प्रहरीका सम्भावित नेतृत्वमा जाने अधिकृतहरूले बनाएको हो त्यसैले त्यो प्रभावकारी हुनेछ’ भन्ने प्रतिक्रिया दिए । नेपाल प्रहरीका अधिकृतहरूमा उनले बिभाजनको रेखा सुरुआतमै कोरिदिए । के हालका महानिरीक्षकलाई थाहा छ कि त्यो कार्ययोजना बनाउने अधिकृतहरू मात्रै नेपाल प्रहरीको नेतृत्वमा जाने योग्य हुन् ? अरु छैनन् ? उनलाई थाहा होला नेपाल प्रहरीमा एक नम्बरमा प्रहरी नायब महानिरीक्षक भएको अधिकृत भागेर हिड्नु परेको छ, आफ्नो ब्याचको अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक हुँदा प्रहरी बरिष्ठ उपरीक्षक मात्र भएको अधिकृत महानिरीक्षक भएको छ ।

प्रहरीका एक पदोन्नतीमा एक नम्बरमा भएको मानिस अर्को पदोन्नतीमा बढुवामा छुटेका समेत उदाहरण छन्, हालका प्रहरी महानिरीक्षक आफैं पनि कुनै बढुवामा निकै पछाडि थिए ।

यसरी सार्बजनिक सम्वादमा निश्चित आफ्नो वरिपरिका अधिकृतहरूलाई नै भबिष्यको सम्भावित नेतृत्वमा जाने भनेर तोक्नाले बाँकी अधिकृतहरू जो उत्कृष्ट कार्य गर्छन्, बिगतमा हरेक अबसरमा आफ्नो उत्कृष्टता साबित गरेका छन् ति अधिकृतहरूको मनोबल कतातिर जान्छ ?

यो विभाजनको रेखाले कार्यकाललाई कुन हदसम्म प्रदूषित गर्छ भन्ने कुरातर्फ ध्यान नदिने हो भने वर्तमान महानिरीक्षकले समेत परिवर्तन ल्याउन सक्ने छैनन् । तसर्थ प्रहरीका सबै अवसरहरू निश्चित अधिकृतहरूलाई दिने, सबै राम्रा तालिम र पदक निश्चित समूहका अधिकृतहरूलाई सुम्पिने कार्यले महानिरिक्षक त बनाउँछ तर प्रहरीमा युगान्तकारी परिवर्तन ल्याउने सबैको प्रिय आदरणीय महानिरीक्षक भने बनाउने छैन ।

(यो श्रृङ्खला समाप्त भएको छ । लेखकको नीजि विचार र विश्लेषण रहेकाले यस आलेखका प्राविधिक विषयको जिम्मेवार लेखक स्वयम् नै हुन्छन्– सम्पादक ) 

प्रतिक्रिया