

‘नारीलाई बिचराको दृष्टिकोणले नहेरिदिए पुग्छ’

कुनै पनि स्थानको सामाजिक र साँस्कृतिक, लैङ्गिक अवस्थितीले वास्तविक समाजको चित्रण गर्ने गर्दछ । भौतिक संरचनागत र प्रविधिमा पहुँचको हिसावले हर्ने हो भने नेपाली समाजमा निकै ठुलो परिवर्तन आएको छ। यति कुरालाई मात्र हामीले समाजिक विकासको आधार मान्न सक्छौ त ? के हाम्रो बौद्धिकस्तरको विकास हुन जरुरी छैन ? मुलुकमा आएको राजनितिक परिवर्तनका कारण देश संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा आईपुग्दा भएका सकारात्मक परिवर्तन भएतापनि लिङ्गको आधारमा हुने विभेदहरु अझैपनि कायम नै रहेका छन् ।
नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार कुल जनसंख्याको ५१.०४% महिला रहेका छन । राज्य सञ्चालन तथा अन्य क्षेत्रमा महिलाहरुको अधिकार सुनिश्चित गर्ने क्रममा देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्पका साथ नेपालको संविधान-२०७२ जारी भएको हो ।
घर परिवारदेखि राज्य सञ्चालन गर्ने स्थानसम्म आईपुग्दा महिलाहरूको आर्थिक, सामाजिक विकास र सशक्तीकरणका लागि संविधानमा महिलाको हक प्रत्याभूत गरेका छन् त ? धेरैको बोलिमा सुन्न पाईन्छ “Ladies first” किन महिला प्रजातीमा शारीरिक, मानसिक, बौद्धिक वा अन्य कुनै किसिमका कमजोरी छन् र?
कतिपयले यो शब्द महिलालाई दिएको प्राथमिकताको रुपमा लिनुहुन्छ, तर हामी पनि तपाईंहरु जत्तिकै क्षमता राख्छौ बरु हामीलाई बराबरीको प्रतिस्पर्धी नै सम्झिदिनुहोस् न, के हामी ५०-५० हुन सक्दैनौ ? हामी पनि आफ्नो लाईनमा उभिन सक्छौं, हामीहरु पनि घर बाहिर गएर कमाएर ल्याउन सक्छौं? परि आए राष्ट्रका लागि लड्न सक्छौं, पुरै देशलाई हाक्ने हैसियत पनि राख्छौं।
विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पासाङ ल्हामु शेर्पा, राष्ट्रपति जस्तो राष्ट्रकै सम्मानीत पदमा विद्यादेवी भण्डारी, सर्वोच्च अदालतको प्रधानन्यायाधीश जस्तो गरिमामय पदमा सुशीला कार्की, साहसिक खेलबाट नेपाललाई विश्वसामु चिनाउने मिरा राई, बेचिएर नारकीय जीवन बिताउन वाध्य भएका नेपाली चेलीबेटीहरूको उद्धार तथा पुनर्स्थापना जस्ता कार्य गरी सिएनएन हिरोको उपाधि हासिल गर्ने साहसी नारी अनुराधा कोईराला, यो राष्ट्रले पाउनु के यी उदाहरण पर्याप्त छैनन् ?
यो समाज सधै नारीको प्रगतीलाई पुरुषको नामसँग जोड्ने गर्छ। हुन पनि हो, हरेक महिलाको प्रगतीमा उसको गुरु, पिता, पति, दाजुभाई र असल साथी सबैको हात हुन्छ तर समाजले नारीको प्राप्तिलाई पुरुषको कृपाको नजरले हेर्छ ।
यस पिडाबाट धेरै महिला अछुतो रहन सकेका छैनन् यसको विरुद्धमा खासै आवाज उठेको पनि पाईदैन । यस्ता शब्दको प्रयोगले तपाईहरुकै मानसिकता र सोचमा परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस हुन्छ, अहिलेसम्म महिलाले गरेको संघर्ष के कम्ति छन् र ?
तपाईको मात्र एक शब्द “Ladies first” ले शताब्दियौंदेखि महिलाले गरेका संघर्ष र योगदानलाई शून्य बनाईदिए जस्तै लाग्छ । अझैपनि हक, अधिकार र दायित्वका निम्ति संघर्षका गर्न तयार छौ, केवल तपाईले नारीलाई विचराको दृष्टिकोणले नहेरिदिए पुग्छ।

